शक्ति प्रदर्शनको विद्रूप प्रहसन
नेपालीमा एउटा चर्चित भनाइ छ : साँढे मिले पनि, जुधे पनि मिचिने बाली नै हो । मुलुकको राजनीतिक परिदृश्यमा अहिले ठ्याक्कै यही भनाइको मञ्चन भइरहेको छ । सत्तारुढ दलमा आएको चरम विग्रहबीच एकअर्काका विरुद्ध शक्ति प्रदर्शनको होडबाजी चल्दै जाँदा यतिखेर ‘साँढेको जुधाइ बाछाको मिचाइ’मा जनता पर्न थालेका छन् ।
सम्भवतः इतिहासकै सबैभन्दा कठोर र संगीन मोडमा यतिखेर नेपालको राजनीति उभिएको छ । इतिहास निर्माणको सुनौलो अवसर पाएका सत्ताधारी दलहरु यतिखेर माटाको भाँडो टुक्रिएझैं फेरि नजोडिने गरी फुटिसकेका छन् । उनीहरुमा आएको फुट प्रकट रुपमा सत्ताको छिनाझप्टी मात्रै जस्तो देखिन्छ तर त्यसको अन्तर्य कम्युनिष्ट पार्टीका विधि, पद्दतिहरुलाई लागू गर्ने र तिनलाई कठोरतापूर्वक पालना गर्ने–गराउने कुरामा लामो समयदेखि चल्दै आएको उदासीनता पनि जिम्मेवार छ । त्यसमाथि थप, शरीर कमजोर हुँदा रोगले शिकार गरे जस्तै विदेशी स्वार्थ र चलखेलहरुले पनि यसमा उत्प्रेरकको रुपमा भूमिका त खेल्ने नै भयो ।
ओलीले अहिले मुलुकमा लादेको प्रतिगमनका नायक केपी शर्मा ओली त हुन् नै तर यो स्थिति आउनुमा ओली जस्ता प्रवृत्ति बोकको मानिसलाई शीर्ष नेतृत्वमा पुर्याउन भूमिका निर्वाह गर्ने कम्युनिष्ट पार्टीभित्र स्थापित नेतृत्व प्रणाली पनि जिम्मेवार छ भन्नै पर्छ ।
विशेषतः अहिलेको स्थिति निम्तिनुको प्रमुख जिम्मेवार कारक पक्ष भनेकै चरम देवत्वकरण गरिएका तथा विधि शासन प्रणालीहरुको गला घोटेर जनवादी केन्द्रीयताको नाममा शिरमा राखिएको वा पुर्याएका नेतृत्व तहका व्यक्तिहरुको हालहुकुम पार्टीमा प्राधिकारका रुपमा स्थापित हुनु नै हो । सामुहिक नेतृत्वलाई आर्यघाटको ब्रम्हनालमा तेर्साइदिने, समस्याहरुको सामुहिक र पार्टी पद्दतिबाट हल खोजिनुको सट्टा सबै कुराहरुको हल शीर्ष नेतृत्वको कथित जिम्मामा छाडिदिने र शक्तिको अति केन्द्रीकरण तिनमा गरिदिने पार्टी परम्परा स्थापित हुँदै जाँदाको परिणतिले नै अहिलेको दुर्दान्त स्थितिलाई जन्माएको हो । कार्यकताहरुलाई प्रश्न गर्ने मानिस हैन, भक्त बनाउने परम्परा पार्टीमा स्थापित हुँदै जानु र नेतृत्वका कार्यशैलीका बारेमा उठ्ने झिनामसिना नै सही, विद्रोहका आवाजलाई निर्मम ढंगले निमोठिनु त्यसैको सहउत्पादन हो । नेतृत्वको अन्धानुकरणमा राजनीतिक र व्यक्तिगत जीवनको भविष्य सुनिश्चित हुने थिति लामो समयदेखि चल्दै आउनु, त्यसका विरुद्धमा नेतृत्व पंक्तिका पहिलो वा दोस्रो पुस्तामा रहेकाहरुबाट ठोस आवाज उठ्न सक्ने थिति स्थापित हुन नसक्नुकै नतिजा पार्टीको शीर्षस्थानमा केपी शर्मा ओली जस्ता प्रवृत्तिको उदय भएको हो । त्यसैको परिणतिस्वरुप अहिले मुलुक प्रतिगमनको उल्टोयात्रामा हिँड्न पुगेको हो । यस अर्थमा ओलीले अहिले मुलुकमा लादेको प्रतिगमनका नायक केपी शर्मा ओली त हुन् नै तर यो स्थिति आउनुमा ओली जस्ता प्रवृत्ति बोकको मानिसलाई शीर्ष नेतृत्वमा पुर्याउन भूमिका निर्वाह गर्ने कम्युनिष्ट पार्टीभित्र स्थापित नेतृत्व प्रणाली पनि जिम्मेवार छ भन्नै पर्छ ।
सत्तारुढ पार्टीका प्रधानमन्त्री केपी ओली शर्मा र उनले नेतृत्व गरेको समूह यतिखेर प्रतिगमनको घोडा चढेर मुलुकमा एकछत्र मनोमानी शासन गर्ने दुस्वप्नलाई क्रियान्वित गर्ने दौडमा उत्रिएको छ । यसका लागि उनले शासनसत्ताको चरम दुरुपयोग गरिरहेका छन् । संविधानलाई रद्द्यानमा मिल्काउने काम उनबाट भएको छ, व्यक्तिगत तुष्टीकरणको राजनीतिमा उनले जनताका निर्वाचित थलो प्रतिनिधि सभालाई बली चढाउने दुस्साहस गरिसकेका छन् । उनको त्यो संविधानविरोधी, जनविरोधी र परिवर्तनविरोधी कदमका विरुद्ध यतिखेर सत्तारुढ पार्टीकै प्रचण्ड र माधव नेपाल पक्ष, प्रतिपक्षमा रहेका राजनीतिक दलहरु तथा नागरिक समाजले सचेत प्रतिरोधी आन्दोलन गरिरहेका छन् । प्रतिरोधी आन्दोलनको क्रममा ठूला ठूला जनसभाहरु समेत हुँदै आएका छन् । त्यसैको प्रतिरोधमा ‘देखाइदिने’ भावनाका साथ सरकारका नेतृत्व गरिरहेको ओली पक्षले पनि आफ्ना प्रतिगमनकारी कदमलाई सही साबित गर्न कुतर्कका थोत्रे वासी कुराहरु सुनाउन राज्यशक्तिको आडमा हिजोमात्रै संघीय राजधानी काठमाडौंमा जनसभा गरेको छ । संग्रहालयमा रुपान्तरण गरिएका पूर्व राजाका दरवारका अगाडि राजधानीको दरवार मार्गका ट्राफिक नियन्त्रणका संरचनाहरुलाई समेत हटाएर सत्ताकाे आडबलमा गरिएको र सरकारी टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण गरिएको उक्त जनसभाले पञ्चायतकालीन पञ्चर्यालीहरुलाई पनि माथ गरेको छ ।
राज्यसत्ताको बलमा शासन सत्तामा पुगेकाहरुले अपनाएको प्रतिगमनकारी कार्यहरु र तिनका मति अनि त्यसविरुद्ध उठिरहेका प्रतिरोधी आवाजहरुलाई फगत सत्तासंघर्षको रोइलोको रुपमा बुझ्ने र व्याख्या गर्ने काम पनि यदाकदा हुने गरेको छ ।
पञ्चायतकालमा समेत जनताले आफ्ना विरोधका आवाजहरु मुखर गर्ने मुख्य थलोको रुपमा शासकहरुले कब्जा गर्न नसकेको खुलामञ्च यतिखेर गणतन्त्रका शासकहरुको दम्भ र राजनीतिक दलहरुको नालायकीपनका कारण ‘अपहरण’ मा परेको छ । जनसभाहरु गर्ने, जनताका विरोधका स्वरहरु मुखर गर्ने ऐतिहासिक थलो खुलामञ्च गाडीपार्कस्थल तथा निर्माण सामग्रीहरु थुपार्ने थलोमा परिणत भएको छ । त्यही कारण गणतन्त्रकालका पछिल्ला समयखण्डमा जनसभाहरु सडकहरुमा हुने गरेका छन् । स्वभाविक रुपमा त्यसले राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त तुल्याउने गरेको छ र त्यसको सजाय जनताले भोग्नु परिरहेको छ ।
शक्ति प्रदर्शनको यो विद्रूप प्रहसनले गर्ने क्षति भनेको राजकीय सम्पत्तिको नै हो र यो नरोकिने हो भने त्यसले अन्ततः दुःख पाउने भनेको जनताले नै हो । विशेषतः जनताका बलिदानी संघर्षले प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता उपलब्धिहरुलाई आर्यघाटमा लगेर सेलाउने तथा एक व्यक्तिको अहं तुष्टीकरणका लागि मुलुकका संविधान, ऐन कानूनहरुलाई बन्धक बनाउने वर्तमान शासकहरुको प्रतिगमनकारी कदमलाई जनप्रतिरोधको बलमा अंकुश लगाउनु आजको समयको मुख्य कार्यभार हो । त्यसो त राज्यसत्ताको बलमा शासन सत्तामा पुगेकाहरुले अपनाएको प्रतिगमनकारी कार्यहरु र तिनका मति अनि त्यसविरुद्ध उठिरहेका प्रतिरोधी आवाजहरुलाई फगत सत्तासंघर्षको रोइलोको रुपमा बुझ्ने र व्याख्या गर्ने काम पनि यदाकदा हुने गरेको छ । निश्चित रुपमा त्यसमा सत्ता संघर्षका अभिष्टहरु मिसिएका पनि होलान् तर प्रतिरोधका आवाजहरु सत्तासंघर्षका रोइलो मात्र होइन, त्यसभन्दा पर इतिहासका गतिलाई पछिल्तिर फर्काउने प्रतिगमनका विरुद्ध प्रतिरोधी संघर्षका अवयवहरु पनि तिनमा छन् र भनेर बुझ्नु–बुझाउनु उत्तिकै जरुरी छ । मुलुकलाई राजनीतिको उल्टो हिँडाइमा जानबाट रोक्न तथा प्रतिगमनको अँध्यारो सुरुङभित्र जाकिन नदिनका लागि आम जनता प्रतिरोधी संघर्षमा उत्रनु जरुरी भइसकेको छ ।