मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मी अझै अन्योलमा, नवौँ दिनसम्म ३७ प्रतिशतले मात्रै खोप लगाए

अब काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको आधारमा स्वास्थ्यकर्मीलाई खोप
शुक्रबार, २३ माघ २०७७, १५ : ४७
शुक्रबार, २३ माघ २०७७

काठमाडौं— नेपालमा अझै पनि कोरोनाविरुद्धको खोप लगाउँन हिच्किचाइरहेको पाइएको छ । जसको कारण कोरोनाविरुद्धको खोप लगाउने अभियान सरकारको लक्ष्यअनुसार अगाडि बढ्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्कले पुष्टि गरेको छ ।

कोरोनाविरुद्धको पहिलो चरणको खोप १० दिनको अवधिमा ४ लाख ३० जनालाई लगाइने सरकारको दाबी थियो । तर, अभियानको नवौँ दिनसम्म आइपुग्दा १ लाख ५८ हजार ४ सय ८७ जनाले मात्रै खोप लगाएका छन् ।

सरकारले ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरूबाट भारत सरकारको अनुुदान सहयोगमा आएको कोभिशिल्ड खोप पहिलो चरणमा ३ प्रतिशत फ्रन्टलाइनरलाई दिने योजना बनाएको थियो । स्वास्थ्य मन्त्रालयको लक्ष्य अनुसार खोप अभियान अगाडि नबढेको जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

४ लाख ३० हजार खोप १० दिनको समय अवधिमा लगाइसक्न दिनमा ४३ हजार जनाले लगाउनुपर्ने हुन्छ । तर, नवौं दिनसम्म आइपुग्दा दिनमा सरदर १७ हजार ८ सय ८८ मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नवौँदिनसम्म जम्मा ३७ प्रतिशतले मात्रैले खोप लगाएका छन् । सरकारले पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको थियो ।

सरकारले अपेक्षा गरे अनुसार खोप लगाउन नआएपछि    काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको आधारमा स्वास्थ्यकर्मीलाई खोप दिने निर्णय समेत गरेको छ ।  सरकारले खोपका बारेमा विस्तृत रूपमा बुझाउन नसक्दा   खोप लगाउनेको संख्या कम भएको अनुमान खोप सल्लाहाकार समितिका संयोजक तथा खोप विज्ञ डाक्टर श्यामराज उप्रेती बताउँछन् ।

कोरोना भाइरसविरुद्धको खोप केन्द्र जिल्ला सदरमुकाममा केन्द्रित हुँदा स्थानीय तहका स्वंयसेविका, स्वास्थ्यकर्मी लगायतका कोरोनाविरुद्ध लड्ने फ्रन्टलाइनर छुटेका हुन सक्ने उनी बताउँछन् ।

‘कोरोना भाइरसविरुद्धको खोप लगाउन चाहने कतिपय स्वास्थ्यकर्मीको पहुँच पुगेन,’ उनी भन्छन्, ‘खोपको पहुँच पुगेको ठाउँमा स्वास्थ्यकर्मीदेखि अन्य फ्रन्टलाइनर खोप लगाउन डराएको पनि पाइयो ।’  

यता, सरकारले खोप अभियान सञ्चालन गर्नुभन्दा अघि खोप सुरक्षासम्बन्धी जनचेनता फैलाउन चुकेका कारण खोप लगाउँन धेरैजना दुविधामा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीको भनाइ छ ।

कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीनै हिच्किचाए पछि खोपको पहिलो प्राथमिकता परेका सफाइकर्मी, एम्बुलेन्स, शववाहन चालक  सहचालक र प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर झन् दुविधामा परेको डा. मरासिनीको बुझाइ छ ।  

‘नेपालमा कोरोनाभाइरस कोभिड—१९ को महामारी फैलिएको एक वर्षमै खोप भित्रियो,’ उनले भने, ‘भारत सरकारले खोप दिएको कारण छोटो समयमै खोप अभियान नेपालले सुरु ग¥यो, खोपको पूर्णरूपमा सही सूचना प्रसारप्रचार नहुँदा सरकारको लक्ष्यअनुसार खोप लगाउन खोप केन्द्रमा पुगेनन् ।’ 

सरकारले खोप सुरक्षाका बारेमा विश्वास दिलाउन नसक्दा पहिलो चरणको खोप दिने अभियानको पूर्व योजना र कार्य पूर्ण रूपमा सफल हुन सकेन ।

सरकारले खोप लगाउनकै लागि सबै स्थानीयतहका स्वयम्सेविकादेखि स्वास्थ्यकर्मी सदरमुकाम केन्द्रित खोप केन्द्रमा पुग्न सक्दैंनन् भन्ने पनि पहिल्लै हेक्का राख्न नसक्दा खोप लगाउनेको संख्यामा कमी आएको उनी ठान्छन् ।

यता सरुवारोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार सबै राष्ट्रमा कुनै पनि रोगको क्लिनिकल ट्रायलमा रहेको खोपको बारेमा मानिस सशङ्कित हुनुलाई सामान्य मान्नुपर्ने हुन्छ । तर, खोप लगाउनेहरूको मनमा उब्जिएको दुविधालाई सम्बन्धित निकायले चिर्न नसक्दा कोरोनाको खोप अभियान सरकारको लक्ष्यअुनसार अगाडि नबढेको उनले सुनाए ।

‘नेपालमा खोप लगाउने अभियान नवौँ दिनसम्म आइपुग्दा गम्भीर खालका बिरामी केहीपनि भएका छैनन्,’ उनले भने, ‘खोप लगाएका केहीलाई सामान्य खालको रुघाखोकी मात्रै लागेको पाइएकाले डराउनुपर्ने स्थिती छैन । पहिलो चरणमा मानिसहरू खोप लगाउँन किन दुविधा परे भन्ने बारेमा सरकारले अध्ययन गर्न जरुरी छ ।’ 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा प्राडा. जागेश्वर गौतमले पहिलो चरणमा काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको कोभिसिल्ड खोप दिने निर्णय सरकारले गरेको सुनाए ।

नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल हेल्थ प्रोफेसनल काउन्सिल, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई खोप दिने निर्णय गरेकाले नवौँ–दशौँ दिनमा स्वास्थ्यकर्मीहरूले खोप लगाउने विश्वास व्यक्त गरे ।

सरकारले अपेक्षा गरे अनुसार खोप लगाउन नआएपछि    काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको आधारमा स्वास्थ्यकर्मीलाई खोप दिन लागेको हो । पहिलो चरणको  खोप अभियान कार्यक्रम भोलि अर्थात् शनिबारसमम चल्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप