कहिल्यै नझुक्ने क्रान्तिकारी गंगालाल श्रेष्ठ
शहीद भनेको के हो ? तानाशाहहरुको छातीमा बज्रिने चट्याङ हो शहीद ।
उनी चट्याङजस्तै चम्किला शहीद हुन् । उनी राणाशासनको औंसीको रातमा चम्किएको चट्याङ थिए । उनी राणाशासनको दरबारमाथि चट्याङझैं बज्रिए । हो, आफू बलेर पनि अरुलाई प्रकाश दिने उनै कहिल्यै नझुक्ने शहीदको नाम हो– गंगालाल ।
गंगालाल श्रेष्ठभित्र सानैदेखि अत्याचारविरोधी आगो थियो । उनको मनमा अन्यायविरुद्ध विद्रोहको ज्वाला थियो । त्यो आगोको ज्वाला स्कुलेकालदेखि हुर्कंदै बढेको थियो, उनको बढ्दो उमेरसँगै । रामेछापमा जन्मिएका गंगालालले कलकत्ता र काठमाडौंको स्कुलमा अध्ययन गरेका थिए । कक्षामा पहिलो हुने होनहार र प्रतिभाशाली विद्यार्थी थिए उनी । उनले स्कुलेकालमै नाटकमा नायकको भूमिका खेलेका थिए । सानैदेखि कविता लेख्ने उनी स्कुलमा अंग्रेजी राम्रो लेख्ने र बुझ्ने विद्यार्थीका रुपमा चर्चित थिए । उनले दरबार स्कुलबाट प्रथम श्रेणीमा एसएलसी पास गरेका थिए ।
कलेजमा आइ.ए. पढ्दा उनी निकै साहसी र विद्रोही भइसकेको थियो । कलेजमा बालकृष्ण समको ‘प्रल्हाद’ नाटक पढेपछि उनले जोशले दुवै हात उठाएर रातो मुख लगाई समलाई भनेका थिए, ‘हामीलाई पनि कसैले अत्याचार गरे भने त्यसको विरोध गर्ने कि नगर्ने ?’
उनको युवा मनमा राणाशासनको अत्याचारको विरोधमा आगो दन्किरहेको थियो । त्यो आगोलाई उनले साहित्यबाट पोख्न खोजे । उनले कविता, कथा, निबन्ध र उपन्यास लेखेर मनका भाव पोखे । साहित्यमार्फत् उनले राणाशासनको अन्त्यको कामना गरे ।
गंगालाल साहित्यमा मात्रै लागेनन्, शैक्षिक परिर्वतनका लागि हाम्फाले । उनी युवा विद्रोहीहरुद्वारा खोलिएको महावीर स्कुलका शिक्षक भए । उनले त्यहाँ पढ्ने विद्यार्थीहरुमा राणाशासनको विरोधमा चेतना जगाए । त्यहाँ उनी तातोतातो राजनीतिक बहस गर्थे । र, भारतबाट निस्कने पत्रिकाहरु पढी ज्ञान प्राप्त गर्थे ।
राणाशासनले जनतालाई पशुझैँ बाँच्न बाध्य पारेकोमा उनको सबैभन्दा ठूला आक्रोश थियो । त्यसैले उनले आफ्ना पितालाई लेखे, ‘आफ्नो पेटको आगोलाई आफ्नै रगतले निभाइरहेका भोका दाजुभाइको पीडा देख्न गाह्रो भो । अब म सहन सक्दिनँ । तपार्इं पिता हुनुहुन्छ, तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यबाट पछि हट्न सक्तिनँ, म तपार्इंको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ । अब मेरो माया मारिदिनोस् । मेरा अरु भाइहरु छँदैछन्, एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला ।’
यही भर्भराउँदो आगोजस्तो विद्रोही मन लिएर सक्रिय हुँदै जाने क्रममा गंगालाल शुक्रराज शास्त्रीसँगै सडक सडकमा भाषण गर्न पुगे । उनी तानाशाहहरुविरुद्ध आगो ओकल्ने खालका जोशिला भाषण दिएर जनतालाई जागृत पार्न सिपालु थिए । उनको विद्रोही भाषणबाट आफ्नो सिंहासन डगमगाएको ठान्ने राणाशासकहरु निकै तर्सिए । अनि उनलाई राजद्रोही भाषण दिएको र प्रजा परिषद्को पर्चा बाँडेको निहुँमा गिरफ्तार गरे ।
चाहेको भए उनी सजिलै भाग्न सक्थे । उनमा जेलनेलदेखि कुनै डर थिएन । उनले आफूलाई सिपाहीहरुको हातमा सुम्पे । उनलाई सिंहदरबारमा लगेर नेल र हत्कडी ठोकियो । र, प्रजा परिषद्को गोप्य रहस्य खोतल्न दिनरात भयानक यातना दिइयो । जर्साहेबले सोधेका सबै सवालको जवाफमा उनी भन्थे, ‘मलाई थाहा छैन ।’
यसरी चुपचाप विद्रोह गरेको देखेर जर्साहेबले उनलाई गालामा ड्याम्म चड्कन लगायो । पहलमानी हातको चड्कनले उनको चस्मा दस हात पर भुइँमा गएर चकनाचुर भयो । त्यसपछि कन्चट र गुप्ताङ्गका रौंसमेत उखेलियो । बाँसमा झुण्ड्याएर कोर्रा लगाउन थालियो । पीडाले कहालिएर उनको मर्मभेदी चित्कार गुञ्जियो । उनी मृत्युको मुखमा पुगेजस्तो लागेपछि मात्रै यातनाको क्रम रोकियो ।
बाँसमा बाँधिएको डोरी फुकाइँदा उनी उभिनै सकेनन् । गोली लागेर खसेको चरोझैँ भुइँमा ठ्याच्च मुखैले बजारिन पुगे । एकजना सिपाहींले आङमा र अर्कोले खुट्टामा समातेर उनलाई कालकोठरीमा लगेर फ्याँके, लाशझैं । यातनापछि उनी खान र हिँड्न नै नसक्ने भए । सुन्निएको खुट्टा घाउ भएकोले रगताम्य थिए । च्यातिएका रगताम्य सुरुवाल मासु र घाउभित्र गढिएकाले फुकाल्नै मुस्किल थियो ।
भर्खर बाइस वर्षमात्रै भएका युवाले कसरी सहे होलान् यत्रो यातना? यति भयानक यातना दिइँदा पनि उनी पटक्कै डराएनन, उनले कुनै रहस्य पनि खोलेनन् । उनी राज्यआतंकका बीच पनि शासकहरुसामु झुकेनन् । गिरफ्तार भएको ८३ दिनपछि शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमासँगै उनलाई मृत्युदण्ड दिने घोषणा गरियो । आफूलाई सर्वस्वसहित ज्यान सजाय दिने फैसला गरिँदा पनि उनी तर्सिएनन् । कैद र मृत्युदण्डको सजाय पाएकाहरुलाई १९९७ साल माघ ७ गते सिंहदरबारबाट भद्रगोल जेल चलान गरियो । त्यहाँ उनी आफ्नो र आफ्ना साथीहरुको मनोबल बढाउन क्रान्तिकारी गीत गाउँथे ।
माघ १० गते राति टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई रुखमा झुण्ड्याएर हत्या गरियो । त्यसको दुईदिनपछि सिफलमा धर्मभक्तलाई पनि रुखमा झुण्ड्याएर मारियो । अब बाँकी रहे, एउटै कालकोठरीमा एकज्यानजस्तै बसिरहेका दुईजना क्रान्तिकारीहरु दशरथ चन्द र गंगालाल । आफ्ना दुईजना साथीहरुको हत्या भइसकेको थियो र उनीहरु पनि फाँसीमा झुण्डिने समय कुरिरहेका थिए । कडा पहराका बीच कालकोठरीमा आफ्नै मृत्यु पर्खंदा कस्तो महसुस गरे होलान्, ती क्रान्तिकारीहरुले ?
उनीहरुको मनमा डर थिएन, मुखमा भयको छायाँसम्म पनि थिएन । उनीहरु त फाँसीको सट्टा गोली हानेर मार भन्दै थिए । उनीहरु मृत्युलाई सहजै स्वीकार्न तम्तयार हुँदै थिए । अन्तिम भेटका लागि आएका आफन्तजन रुँदा कलिला गंगालालले भने, ‘यो रुख पनि पुरानो र बुढो भएपछि आफै ढल्छ । हाम्रो जीवन पनि यस्तै हो ।’ आफन्तसामु पनि विचलित नभएको देखेर दशरथ चन्दले खुसीले अँगालो हाल्दै भने, ‘स्याबास ! मेरो भाइ कहिल्यै रुँदैन ।’ उनी त हाँसी हाँसी गोली खान तयार थिए ।
माघ १४ गते राति दस बजे उनीहरु दुवैलाई मृत्युदण्ड दिन सिक्री र नेलसहित जेलबाहिर लगियो । र, एउटा मोटरमा हालेर प्याफलको बाटो हुँदै विष्णुमती लगिँदा गंगालालले आफ्नो घरनजिकै पुगेपछि आफ्नी पत्नीलाई बोलाए, ‘हसिना, हसिना !’
हसिनादेवीको कोखबाट एकदिन अगाडिमात्रै गंगालालको छोरा जन्मिएको थियो । सुत्केरीको कारणले उनले अन्तिम पटक पनि आफ्ना लोग्नेको मुख हेर्न पाइनन् । र, गंगालालले पनि पत्नी र छोराको मुखै हेर्ने मौकासमेत पाएनन् ।
विष्णुमती र भचाखुसिको दोभानमा पुर्याइएपछि राणा शासकहरुको ज्यानमारा टोलीका नाइके नर शमशेरले गंगालाललाई फुस्ल्यायो, ‘माफी माग अझै समय बाँकी छ ।’
बाँसको खम्बामा बाँधिएका गंगालालले उसलाई घृणाको आँखाले हेर्दै जवाफ दिए, ‘मैले माफी माग्नुपर्ने काम के गरेको छु ? म तँजस्तो कसाइसित किन माफी मागूँ ? बरु तिमीहरुले गरेको अत्याचारका लागि तैंले हामीसित माफी माग् !’
राणाशासन खत्तम भएको दृश्य हेर्ने अन्तिम इच्छा पोखेका दशरथ चन्दमाथि तिघ्रामा गोली हानेर तड्पाई तड्पाई मार्न खोजेपछि गंगालालले सहनै सकेनन् । अत्यन्त क्रूद्ध भएर उनले नर शमशेरलाई चुनौती दिए, ‘सक्छस् भने तेरो बाउलाई एकै गोली हानेर मार !’
अन्तमा छातीमै गोली हानी चन्दलाई मारेपछि नर शमशेरले गंगालाललाई पनि तड्पाई तड्पाई मारे । उनलाई गोली हान्नका लागि ल्याइएका एक हत्यारासमेत त्यो दृश्य देखेर रोयो भने अर्कोले चाहिँ गोली हान्नै अस्वीकार गर्यो । अनि त नर शमशेरले नै पहिले तिघ्रामा, त्यसपछि पेट र कोखामा गोली हानेर उनको हत्या गर्यो । यसरी शासकहरुसामु कहिल्यै नझुक्ने साहसी क्रान्तिकारीले हाँसीहाँसी मृत्युलाई अँगाले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब