यसरी भयो नेपाल रेडक्रसको जग्गा खरिदमा ‘आर्थिक घोटाला’
काठमाडौं– विपतमा परेकालाई राहत दिने उदेश्यले स्थापना भएको नेपाल रेडक्रसका जिम्मेवार पदाधिकारीले रेडक्रसको मुल्य मान्यतालाई तिलाञ्जली दिएका अनेकौ तथ्यहरु विच अर्को घोटाला काण्डको पर्दाफास भएको छ । त्यो हो गोदामघरका लागि जग्गा किन्दा भएको घोटला । जानकारहरुका अनुसार आर्थिक चलखेल गर्ने मनशायले नेपाल रेडक्रसले किनेको जग्गा महँगो मात्रै होइन, अनुपयुक्त र कमसल पनि हो ।
२०७२ को महाभुकम्प पश्चात दातृ निकायहरुबाट संकलन गरिएको रकमबाट नेपाल रेडक्रसले गोदामघरका लागि जग्गा किन्ने निर्णय गरेको थियो ।
यसमा नेपाल रेडक्रसका पदाधिकारीको बदनियत पत्रिकामा विज्ञापन गरेकै दिनदेखि शुरु भएको देखिन्छ । सामान्यतयाः ५, १० ,१५ वा २० हुँदै बाटोको किलोमिटरको दुरी किटान गरि बोलपत्र आव्हान गरिन्छ । तर , नेपाल रेडक्रसले बढिमा १६ किलोमिटर आसपासको सडकले छोएको जग्गा खरिदको आव्हान गरेको थियो । १६ किलोमिटरको आसपासको जग्गा किटान गर्नुको नियत थियो – ‘आफु अनुकुलको जग्गा किनेर आर्थिक चलखेल गर्नु ।’
उपत्यकामा जग्गाको प्रस्ताव माग्दै गत वर्षको भदौ २२ गते कान्तिपुर दैनिकमा सूचना प्रकाशित गरिएको थियो । जग्गाका लागि १० प्रस्ताव परेको थिए । प्राप्त प्रस्तावहरुको अवलोकन तथा नाँपजाँच गर्न २०७३ असोज ७ मा नेपाल रेडक्रसको सोसाइटीको व्यवस्थापन समितीले कर्मचारीहरुको एक समिती बनायो ।
अवलोकन तथा नाँपजाँच गर्न भन्दै रेडक्रसका आर्थिक तथा स्रोत व्यवस्थापनका कामु निर्देशक धर्मदत्त बिडारीको संयोजकत्वमा ६ सदस्यीय समिती बनाईयो । समितीमा नेपाल रेडक्रसको केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरु ईश्वरी रेग्मी ,मदनकृष्ण फोजु ,हरिमोहन श्रेष्ठ,मायानाथ बराल र जालन्धर सिंह ठकुरी थिए ।
प्रस्तावित १० जग्गाबाट छैटौं महँगो राजेश देशेमरुको प्रस्तावलाई स्विकारियो । देशेमरुको जग्गा नेपाल रेडक्रसले आव्हान गरे अनुरुप राजधानीबाट १६.५ किलोमिटरमा पर्दछ । देशेमरु मार्फत किनिएको चार कित्तामा ५ रोपनी १३ आना ३ पैसा जग्गा रहेको छ । नियमावली अनुसार २५ लाखभन्दा बढीको खरिदमा कम्तीमा एक महिनाको अवधि दिएर सूचना निकाल्नुपर्ने हुन्छ । तर नेपाल रेडक्रस सोसाईटीले नियमावली विपरित १५ दिनको म्याद दिएर सुचना प्रकाशित गरेको थियो ।
देशेमरुसँगको नेपाल रेडक्रसका पदाधिकारीको मिलेमतो पुष्टि हुने गरि कारोवार गरिएको छ । अन्य सस्तो जग्गा छनौट नगर्नुको कारण विवादित, दुरी टाढा, सम्याउन खर्चिलो ,उकालो ,ओरालो र साँघुरो कारण देखाई अस्वीकार गरियो । जग्गा प्रस्तावक मध्यका एकलाई पटक पटक फोन गर्दा पनि सम्पर्कमा नआएको मुल्यांकन समितीले उल्लेख गरेको छ । तर देशेमरुको प्रस्तावमा कुनै नराम्रो पक्ष जाँचबुझ समितीले देखाएन । देशेमरुको प्रस्तावित जग्गाको नराम्रो पक्षमा खाली राखिएको छ ।
स्रोतका अनुसार नेपाल रेडक्रसका पदाधिकारीले नक्कली प्रस्तावक बनाई देशेमरुलाई खडा गरेका थिए । भक्तपुर ४ मा अवस्थित कालोपत्रे बाटोसंगै रहेको १४ आना ३ पैसा जग्गासँगै पछाडि रहेका कित्ताहरु ‘सस्तो’ रहेपनि बराबर दरले किनिएको छ । टेण्डरका लागि खडा गरिएका देशेमरुले अन्य व्यक्तिका जग्गा बिक्रीका लागि टेण्डर हालेका थिए ।
अर्काको जग्गा विक्री गरेका देशेमरुलाई नेपाल रेडक्रसले भुक्तानी गरेको छ । जगतमाया दुवालको ८६३ कित्ताले मात्रै पिच बाटोलाई छोएको छ भने भक्तपुर ४ मा पर्ने राम दुवालको ४९६, हरिराम सुकुपायो र हरिकृष्ण सुकुपायोका ५८१ र ४९७ नम्बर कित्ताका जग्गाहरु सडकसंग जोडिएका छैनन् । अन्यको जग्गालाई देशेमरुले आफ्नो नाममा पैसा लिएर रेडक्रसलाई पास गरिदिएका थिए ।
नेपाल रेडक्रसलाई बाटोले छोएको र भित्री भागमा रहेको जग्गालाई समान प्रति आना छ लाख ७५ हजारमा बेचिएको छ । छ करोड ३२ लाख देशेमरुलाई नेपाल रेडक्रस मार्फत चुक्ता गरिएको छ । तर देशेमरुले प्रस्ताव गरेको टेण्डरमा पाँच करोड ६५ लाख मात्रै उल्लेख छ । देशेमरुले भन्दा कम दरका प्रस्तावकहरुलाई लत्याइएको छ । ‘३८ फिट मोहडा भएको जग्गाको मुल्य अनुसार अन्य पछाडीका कित्ताहरुको मुल्य राख्नु आर्थिक चलखेल हो ’ स्रोतले बतायो । श्रोतका अनुसार रेडक्रसको जग्गा खरिदमा एक करोड ६२ लाख ७५ हजार ५६३ रुपयाँ ५० पैसा अनियमितता गरिएको छ ।
अर्को रोचक पक्ष प्रस्तावहरुको सुची तयार गर्दा देशेमरुको प्रस्ताव गरेको जग्गाको मुल्य लेखिएको छैन । जग्गाको कित्ताहरु केरमेट गरिएको छ । १५ दिनको म्याद राखी प्रस्ताव आव्हान गर्नु, ३८ फिट मोहडाको जग्गाको बराबर पछाडीका जग्गाको मुल्य तोकिनु र किनिएको जग्गाको प्रस्तावकको सुचिमा केरमेट गरिनु आर्थिक अनियमितताका बलियो आधार रहेको स्रोतको दावी छ ।
नेपाल रेडक्रसको ब्लड बैंक अवस्था, भ्रष्टचार तथा अनियमितताका खवर प्रकाशित हुँदा दुःख लागेको नेपाल रेडक्रसकी निर्देशक मोना अर्यालले बताइन् । अर्यालले स्वास्थ्य विभागमा कार्यरत रहेकोले गोदामका लागि किनिएको जग्गाबारे आफु अनभिज्ञ रहेको जवाफ पनि दिइन् । नक्कली प्रस्तावक बनेका देशेमरुले व्यस्त रहेको भन्दै सम्पर्कमा आउन चाहेनन् । नेपाल रेडक्रस जग्गा खरिदको अनियमितताका विषयमा अख्तियारमा उजुरी पनि दर्ता भैसकेको छ । दर्ता नम्बर १६४२८ रहेको उजुरी गत चैत ६ मा दर्ता गरिएको हो । रेडक्रसमा भएको आर्थिक अनियमितताबारे लगातार तथ्यांकसहितका समाचार प्रकाशित हुन थालेपछि रेडक्रस पदाधिकारीहरु छटपटिन थालेको श्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
-
पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते