बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको १७औं वार्षिकोत्सव सम्पन्नः यसै वर्ष फाइभजीको परीक्षण गर्न सञ्चारमन्त्रीको निर्देशन

बिहीबार, २२ माघ २०७७, १८ : १५
बिहीबार, २२ माघ २०७७

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल सावित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा स्थापित गर्न लाग्नुपर्ने बताए । उनले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभजीको परीक्षण गर्न पनि निर्देशन दिए । 

दुरसञ्चारको पूर्वाधार विकास गर्ने सम्बन्धमा मुलुकमा हाल विद्यमान ढिलाई र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न सुझाव मन्त्री गुरुङको थियो । यसैगरी उनले समग्र व्यवस्थापन, नीति, सेवागत क्षेत्रमा देखिएका चुनौतीहरुका सम्बन्धमा वार्षिकोत्सवका अवसरमा समीक्षा गरी तिनलाई सम्बोधन गनुपर्ने आवश्यकता औंल्याए ।  

कम्पनीको दिर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन स्ट्र्याटेजिक म्यानेजमेन्ट पार्टनरको व्यवस्था गर्नुपर्ने तथा प्रविधिको विकासक्रम अनुसार जीएसएम फाइभजी सेवाको विस्तारका लागि हाल उपलब्ध भइरहेको फ्रिक्वेन्सीको समुचित उपयोग गर्न पनि सुझाव दिए । कम्पनीको विशिष्ट कार्यप्रकृति र कर्मचारीहरुको वृत्तिविकास तथा ग्राहकवर्गलाई उपलब्ध गराउन सकिने उच्चस्तरीय सेवाहरु सुनिश्चित गर्न सक्नेगरी कर्मचारी विनियमावली शिघ्र कार्यान्वयन गर्नेतर्फ पनि ध्यानाकर्षण गराए । 

कार्यक्रममा मन्त्री गुरुङले कम्पनीका सेवाहरुका बारेमा आर्टिफिसियल इन्टेलिजेन्सको उपयोगमार्फत जानकारी हासिल गर्न सकिने च्याटबट सेवाको सफ्ट लन्च समेत गरेका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ ग्राहकवर्गले उपयोग गरेका अनलाइन कक्षा, अनलाइन बैठक, अनलाइन किनमेललाई कम्पनीका सेवाहरुले निकै सहयोग गरेकाले यसलाई निरन्तरता दिन फोरजी र एफटीटीएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताए । उनले संकटको समयमा पनि कम्पनीका सेवाहरु निरन्तर रुपमा उपलब्ध गराइरहन सहयोग पु¥याउने सम्बन्धित निकायहरु र कर्मचारीवर्गलाई धन्यवाद दिए । 

सो कार्यक्रमका दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कम्पनीले नाफालाई मात्र प्राथमिकतामा नराखी मुलुकका सबै भूभाग र वस्तीहरुमा सेवा प्रदान गरेकोले नै कम्पनीको ग्राहकआधार अन्य सेवा प्रदायकहरुको भन्दा बढी भएतापनि राजश्वमा सो अनुरुप वृद्धि हुन नसकेको वास्तविकता उल्लेख गरे । उनले पूर्वाधारको सहप्रयोगबाट कम्पनी थप लाभान्वित हुनसक्ने पनि बताए । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १७औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहितको फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको शुरुवात गरेको बताए । 

फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले सीपीई प्रयोग गरी सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् । उक्त सीपीईमा फोरजी डब्लुएचबीबीको सिमकार्ड प्रयोग गरी गुणस्तरीय र सस्तो डाटा सेवा प्रयोग गर्न सकिन्छ । हाल यो सेवा प्रतिमहिना रु. ९ सयमा ६० जिबी, रु. १५ सयमा  १२० जिबी, वार्षिक रु. ९,६०० मा ७२० जिबी र रु. १६,००० मा १,४४० जिबी उपलब्ध हुनेछ । 

व्यावसायिक उपकरणहरुबीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको लोकेशन अपडेट गर्ने, लजिष्टिक म्यानेजमेन्ट गर्ने प्रयासहरु विश्वव्यापी रुपमै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले आजैबाट शुरु गरेको ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्याक’ कार्यालय प्रयोजनका लागि आकर्षक हुने अपेक्षा टेलिकमको छ ।  

यसै अवसरमा नेपाल प्रहरीलाई प्रविधिमा आधारित सेवा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले ७ थान अत्याधुनिक कम्प्युटर प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा कम्पनीले गरीब तथा असहाय बालबालिकाको मुटुको भल्भ फेर्ने कार्यमा शहीद गंगालाल राष्ट्रिय हृदयसँग सहकार्य गर्ने कार्यक्रम पनि सार्वजनिक भयोे ।    

सोही कार्यक्रममा मन्त्री गुरुङ र कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीको सत्रौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका संयुक्त रुपमा विमोचन गरेका थिए । यसैगरी, कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाहरुमा आवाज दिने कलाकारहरु, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरु, कोरोनाको महामारीमा कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाहरुलाई सम्मान तथा पदक प्रदान गरिएको थियो ।

समारोहमा माननीय मन्त्री गुरुङ तथा कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र पनि वितरण गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप