ad
केन्द्रीय संस्करण
विश्व क्यान्सर दिवस

सुरुवाती समयमा उपचार नपाउने भएकाले नेपालमा धेरै क्यान्सर बिरामीको मृत्यु हुन्छ

सरकारले दिएको १ लाखले आधाअधुरो उपचार गरेर क्यान्सर रोगी घर फर्किन्छन् : डा. वीरेन्द्रकुमार यादव

person explore access_timeमाघ २२, २०७७ chat_bubble_outline0


 

 

आज विश्व क्यान्सर दिवस । हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन, संसारभर क्यान्सरसँग लडनका लागि जनचेतना फैलाउने तथा ऐक्यवद्धता जनाउने दिन पनि भनेर चिनिन्छ । नेपालीमा क्यान्सरलाई अर्बुदरोग भनिन्छ । क्यान्सर भनेको के हो, किन नेपालमा क्यान्सर बिरामीको मृत्युदर बढी छ ? क्यान्सर रोगीलाई सरकारले दिने १ लाख रकमले पुग्छ ? क्यान्सर रोगको जोखिम के के हुुन् लगायतका सवालहरुमा केन्द्रीत रहेर पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्रकुमार यादवसँग माया श्रेष्ठले गरेको कुराकानी ः

क्यान्सर भनेको के हो ?

क्यान्सर एक किसिमको जटील रोग हो । यो रोगमा शरीरलाई नचाहिने कोशिकाहरू अनावश्यक वृद्धि भएर ढिक्का भएर बस्छ । त्यस्तै एक अंगबाट अर्को अंगमा कोशिकाहरू जाने सम्भावना बढी हुन्छ । त्यस अवस्थालाई क्यान्सर लागको भनिन्छ । क्यान्सर लागेको अंगमा बढेको अनावश्यक कोशिका नसाको माध्यमबाट अन्य अंगमा पुगेर त्यहाँ पनि अनावश्यक रुपमा कोशिकाहरूको विकास हुन थाल्छ । क्यान्सर भएको खण्डमा त्यो अंगलाई त खराब गर्छ नै, त्यसपछि उपचार नगरेको खण्डमा रगतको माध्यमबाट अन्य अंगहरूमा समेत फैलिएर तिनलाई पनि खराब गर्छ । वास्तवमा, शरीरमा भएका कोशिकालाई अनियन्त्रित बनाउने तत्त्व नै क्यान्सर हो ।

क्यान्सर लागेको अंगमा बढेको अनावश्यक कोशिका नसाको माध्यमबाट अन्य अंगमा पुगेर त्यहाँ पनि अनावश्यक रुपमा कोशिकाहरूको विकास हुन थाल्छ । क्यान्सर भएको खण्डमा त्यो अंगलाई त खराब गर्छ नै, त्यसपछि उपचार नगरेको खण्डमा रगतको माध्यमबाट अन्य अंगहरूमा समेत फैलिएर तिनलाई पनि खराब गर्छ ।

 शरीरको कोशिकालाई अनियन्त्रित बनाउने तत्व चाहिँ भनेको के हो ?

शरीरमा कोशिकालाई नियन्त्रण गर्ने प्रणाली हुन्छ । क्यान्सर भएको खण्डमा कोशिका अनियन्त्रित हुन्छ । कुनै कोशिका म्युटेसन भएर अनियन्त्रित हुन्छ । अनियन्त्रित कोशिकालाई रोक्ने प्रणाली असफल हुन्छ । त्यसपछि कोशिकाहरू अनावश्यक रूपमा वृद्धि भएर लाखौं करोडौं बन्दै गएपछि ट्युमरको रूप लिन्छ । ट्युमरको रूप लिइसकेपछि शरीरले त्यसलाई नियन्त्रणमा लिन सक्दैन । नसाको माध्यमबाट त्यो अर्को अंगमा गएर बस्ने तथा त्यहाँ पनि कोशिका बृद्धि हुने जस्ता प्रक्रिया बढ्दै जाँदा यसले शरीरका फरकफरक अंगहरूलाई हानी पुर्‍याउँछ । त्यसपछि शरीर गर्ने सामान्य अवस्थाका नियमितकार्यलाई अवरुद्ध गरेर अनावश्यक रुपमा बढेका कोशिकाले गम्भिर रूपमा असर पुर्‍याउँछ ।

पछिल्लो समय क्यान्सर बिरामी बढ्दै गएका छ, क्यान्सर बढाउने तत्त्वहरू केके हुन् ?

क्यान्सर बनाउने कारक तत्वहरू भनेर शत प्रतिशत थाहा हुँदैन । तर, क्यान्सरको जोखिम उत्पन्न गराउने तत्त्वहरूका बारेमा भन्न सकिन्छ । कोशिकाहरूको अनावश्यक वृद्धि विकास गर्ने प्रमुख कारणमध्ये एक वंशाणुगत पनि हो । वशाणुगत रुपमा क्यान्सर हुने सम्भावना १० देखि १५ प्रतिशत हुन्छ । आमाबुवालाई क्यान्सर छ भने जीनमा म्यूटेसन भएर सन्तानमा पनि सो रोग देखिन सक्छ । जीवनयापन गर्ने शैलीले पनि क्यान्सर हुन्छ । जस्तै सूर्तीजन्यपदार्थको सेवनलाई क्यान्सर लगाउने मुख्य तत्त्वको रूपमा लिनुपर्छ । सूर्तीजन्य पर्दाथ चुरोट, तमाखु, गुडखा, खैनी, सूर्ती, सुपारी सेवनले पहिला निश्चित अंग जस्तै मुखमा असर गर्छ । यी सूर्तीजन्य पर्दाथ सेवन गर्दा कुनै एक अंगमा असर देखिसकेपछि म्यूटेसन भएर लामो समयपछि कुनै बेला निको नै नहुने अवस्था आउँछ ।

ह्युम्यान प्यापिलोमा भाइरस Human papillomavirus (HPV)  को संक्रमणले सबैभन्दा बढी महिलाहरूमा पाठेघरको क्यान्सर र पुरुषमा मुख, लिंगको क्यान्सर हुन्छ । ह्युम्यान प्यापिलोमा भाइरसलाई नियन्त्रण गर्न सकेको खण्डमा यस किसिमका क्यान्सरलाई निको पार्न तथा कम गर्न सकिन्छ ।

यस्तै रक्सीको सेवनले आन्द्रा, आमाशय, खाना बस्ने आन्द्रा, मुख, घाटीमा लगातार असर देखिएपछि क्रमश क्यान्सरको रूपमा देखापर्छ । यस्तै संक्रमणले पनि क्यान्सर हुन्छ । ह्युम्यान प्यापिलोमा भाइरस Human papillomavirus (HPV)  को संक्रमणले सबैभन्दा बढी महिलाहरूमा पाठेघरको क्यान्सर र पुरुषमा मुख, लिंगको क्यान्सर हुन्छ । ह्युम्यान प्यापिलोमा भाइरसलाई नियन्त्रण गर्न सकेको खण्डमा यस किसिमका क्यान्सरलाई निको पार्न तथा कम गर्न सकिन्छ । लामो समय ग्यास्ट्रिकको समस्या भएमा संक्रमणका कारण क्यान्सर हुन सक्छ । अस्वस्थकर खानपान, जस्तै पोलेका खानेकुरा, प्याकिङ गरेका पत्रु खानेकुरा खाने बानी, शारीरिक अभ्यास नगर्ने, मोटोपन जस्ता कारणले पनि क्यान्सरको जोखिम बढाउने गर्छ । 

नेपालमा क्यान्सरका कारण मृत्यु हुनेको संख्या किन बढी भएको हो ? 

नेपालमा गएको ५ वर्षको अवधिमा सक्रिय क्यान्सर बिरामी ६० देखि ८० हजार छन् । प्रत्येक वर्ष २० देखि २५ हजार क्यान्सरका नयाँ बिरामी थपिन्छ । जसमध्ये १० देखि १२ अर्थात ७७ प्रतिशत बिरामीको मृत्यु हुन्छ । समयमै उपचार नपाएर, पहुँच नपुगेर, आर्थिक अभावले बिरामीको मृत्यु हुन्छ । अल्पविकसित राष्ट्रहरूमा क्यान्सरको कारण मृत्यु हुनेको संख्या धेरै छ । किनभने बिरामी औषधि उपचार गर्न क्यान्सर भएको तेस्रो, चौंथो स्टेजमा आउँछन् । नेपालले क्यान्सरसम्वन्धी जनचेतना पूर्ण रूपमा फैलाइएको छैन । जसले गर्दा मृत्युदरपनि धेरै छ । विकसित मुलुकहरूमा क्यान्सरको मृत्युदर ३० प्रतिशत मात्रै छ । त्यहाँ ३० हजार क्यान्सरका बिरामी छन्भने ६ देखि ७ हजारको मृत्यु हुन्छ । नेपालमा ३० हजार बिरामी छन् भने १२देखि १५को मृत्यु भएको पाइएको छ । विश्वमा करिब क्यान्सरका बिरामी २ करोड छन् । तर, एसियाका राष्ट्रहरूमा मात्रै झण्डै ८०–८५ लाख क्यान्सरका बिरामी छन् ।

नेपालमा क्यान्सरका बिरामी उपचार गर्न धेरै ढिला आउँछन् । त्यसपछि क्यान्सरको बिरामीलाई उपचार गर्ने पूर्वाधार तथा अस्पताल ज्यादै न्यून पनि भएकाले पनि नेपालमा मृत्यु हुनेको संख्या बढी छ । एउटा बिरामीले उपचार गराउन ३–४ महिना कुर्नुपर्छ

नेपालमा क्यान्सरका बिरामी उपचार गर्न धेरै ढिला आउँछन् । त्यसपछि क्यान्सरको बिरामीलाई उपचार गर्ने पूर्वाधार तथा अस्पताल ज्यादै न्यून पनि भएकाले पनि नेपालमा मृत्यु हुनेको संख्या बढी छ । एउटा बिरामीले उपचार गराउन ३–४ महिना कुर्नुपर्छ । यसरी बिरामीले उपचारको पालो पर्खदा क्यान्सर तेस्रो–चौथो चरणमा पुगिसकेको हुन्छ ।  बिरामीले सुरुवाती समयमा उपचार नपाउने भएकाले नेपालमा धेरै क्यान्सर बिरामीको मृत्यु हुन्छ ।

क्यान्सर दिवस मनाउनुको औचित्य के हो जस्तो लाग्छ ?

यही एकदिन हो हामीले सबै निकायलाई क्यान्सरको विषयमा झक्कझकाउने र आकर्षित गर्ने । यस दिन ती बिरामीको लागि के गर्न सकिन्छ, कस्ता कस्ता नीति, योजना अगाडि बढाउन सकिन्छ, यसको अवस्था कस्तो छ, के के उपलब्धि भए भनेर समीक्षा गर्ने दिन पनि हो । क्यान्सर दिवसका नारा नै ‘हामीले गर्न सक्छौं’ छ । यो भनेको हामी क्यान्ससँग लड्न सक्छौं, हामीले क्यान्सरका बारेमा बृहतरूप जनचेतना फैलाउन सक्छौँ, बिरामी चाँडै उपचारको पहुँचमा आउनुपर्छ भनेर क्यान्सर दिवसलाई प्राथमिकता दिएमा यसको औचित्य पनि हुन्छ । नागरिक, सरोकारवाला, सरकार सबैले सहकार्य गरेको खण्डमा क्यान्सरलाई जित्न सक्छौं भन्ने यस दिवस उद्देश्य पनि हो । 

सरकारकाले उपलब्ध गराएको १ लाखले सरकारी अस्पतालमा क्यान्सको उपचार गर्न सम्भव छ ?

क्यान्सर भनेको क्रोनिक रोग हो । कुनैपनि क्यान्सरलाई उपचार गर्न अस्पतालमा ६÷८ महिना बस्नुपर्ने हुन्छ । लगातार उपचार हुन्छ, सर्जरी, केमोथेरापी, रेडियोथेरापी लगायतका उपचार विधि हुन्छन् ।  त्यसको फलोअफमा बस्नुपर्ने हुन्छ । नेपाल सरकारले क्यान्सर बिरामीलाई उपचार गर्न दिएको १ लाख ज्यादै न्यून रकम हो । क्यान्सर बिरामीको उपचार गर्न १ लाख रुपैयाँले भ्याउँदैन । क्यान्सर उपचार गर्ने सरकारी अस्पतालहरूमा धेरै सुविधाहरू पनि छैन । क्यान्सरको उपचारका लागि औजार–उपकरणहरु महँगा छन् । औषधि महँगो छ, कुनै कुनै अवस्थामा जनशक्ति विदेशबाट पनि ल्याउनुपर्छ । त्यसैले समग्रमा हेर्दा क्यान्सरको उपचार महँगो पर्न जान्छ । सरकारले क्यान्सर बिरामीलाई दिएको एकलाखले धेरै बिरामी आधाअधुरो उपचार गरेर घर फकिन्छन् ।

नेपाल सरकारले क्यान्सर बिरामीलाई उपचार गर्न दिएको १ लाख ज्यादै न्यून रकम हो । क्यान्सर बिरामीको उपचार गर्न १ लाख रुपैयाँले भ्याउँदैन । क्यान्सर उपचार गर्ने सरकारी अस्पतालहरूमा धेरै सुविधाहरू पनि छैन ।

क्यान्सरको पहिचान कसरी  छिट्टै गर्न सकिन्छ ?

नेपालमा क्यान्सरको बेलैमा पहिचान गरेर मृत्युदरलाई घटाउँन सकिन्छ । महिलाको पाठेघर, छातीको क्यान्सरलाई समयमै पहिचान गरेको खण्डमा महिलाको मृत्युदर करिब ६० प्रतिशतले घटाउन सकिन्छ । छातीमा एक सेन्टिमिटरसम्मको गाँठोलाई पत्ता लगाउन सकिन्छ । पाठेघरको क्यान्सर हुनुभन्दा अगाडिको सिआइएन भनिने चरणलाई पत्ता लगाउँन सकेको खण्डमा मृत्युदर कम हुन्छ । छातीको लागि मेमोग्राम हो, क्लिनिकल परीक्षण हो, वा पाठेघरका लागि प्याप स्मियर वा प्याब टेस्ट (Pap smear, also called a Pap test) (यौनाङको स्रावको परीक्षण) वा भिआइए परीक्षण (Visual inspection with acetic acid (VIA))हो । महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको पहिचान गर्न यी परीक्षणमा जोड दिनुपर्छ । पुरुषले चुरोट खाएको १२–१३ वर्ष भएको छ भने, दिसामा रगत आएमा, ५० वर्ष पुगेपछि कोलोनोस्कोपी आदि गरेर रोग पहिचान गर्न सकिन्छ । जस्तै जोखिम समूहमा रहेका एउटा उमेर समूह पार गरेकाहरूको परीक्षण गराउनुपर्छ । त्यसबारे निर्देशिका नै पनि छ । जस्तै महिलाहरूले ४० वर्षको उमेर पार गरेपछि एउटा मेमो गराउने, प्यापटेस्ट गर्ने, ४५ वर्ष पुगेपछि पुरुषहरूले कोलोनोस्कोपी गराउनुपर्छ । यस्ता कुरा अपनाएको खण्डमा नेपाल क्यान्सरको मृत्यु दर घटाउन सकिन्छ । क्यान्सर रोगी बढ्न नदिनका लागि सरकारले जनचेतना फैलाउने कार्यलाई तीव्रता दिनुपर्छ । स्क्रिनिङ कार्यलाई हरेक जिल्लामा पुर्‍याउनुपर्छ, उपचारलाई आर्थिक रुपमा सम्भव बनाउन स्वास्थ्य बिमा अनिवार्य रूप गराउन सुरु गर्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.