बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

बन्दको मारमा दैनिक ज्यालादारी गर्ने मजदुर

बिहीबार, २२ माघ २०७७, १५ : ४०
बिहीबार, २२ माघ २०७७

सुर्खेत । वीरेन्द्रनगर–४ सुर्खेतकी रामकुमारी बुढा डोकोमा बोकेर प्रत्येक दिन वीरेन्द्रनगर बजारमा फलफूल बेच्ने गर्थिन् । प्रचण्ड–नेपाल पक्षले आज गरेको आमहड्तालका कारण उनले आज (बिहीबार) डोकोमा फलफूल बोकेर बजार फलफूल बेच्न पाइनन् ।

उनलाई आज फलफूल बेच्न नपाउँदा बेलुका छाक कसरी टार्ने भन्ने चिन्ता लागेको छ । ‘बन्दले ठुलालाई केही प्रभाव पार्दैन,’ उनले भनिन्, ‘हामी साना मान्छेलाई यो बन्दले खाना नै दिँदैन ।’
फलफूल बेच्न नपाउँदा चार सन्तानलाई कसरी पाल्ने भन्ने चिन्ता रहेको बुढाले बताइन् । ‘घरमा चार छोराछोरी छन्,’ उनले भनिन्, ‘आज बजारमा फलफूल बेच्न पाइएन । बेलुकाको छाक टार्न नै ग्राहो हुन्छ ।’
फलफूल बेचेर दिनमा चारदेखि पाँच सय रुपैयाँ कमाउने बुढा जस्ता धेरै नागरिकलाई बन्दका कारणले छाक टार्न नै ग्राहो भएको छ ।

त्यस्तै, सुर्खेत बहाराताल गाउँपालिका–८ तरङ्गाका कर्णबहादुर बडुवाल वीरेन्द्रनगर बजारमा अटो चलाएर परिवार पाल्दै आएका छन् । उनीलाई पनि प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालको असर परेको छ ।
अटो चलाएर दैनिक गुजरा गर्ने उनलाई बन्दका कारणले अटो नचल्दा परिवारलाई कसरी पाल्ने चिन्ता थपिएको छ । ‘दैनिक अटो चलाएर वीरेन्द्रनगर बजारमा छोराछोरी कोठा भाडा राखेर पढाउँदै आएको छु,’ उनले भने, ‘अटो चलाउँदा दैनिक चार–पाँच सय रुपैयाँ कमाई हुन्थ्यो । त्यो पनि आज नहुने भयो ।’

अर्काको अटो भाडामा लिएर चलाउने बडुवाललाई अटो साहुको आजको दिनमा भाडा कसरी चिन्ता थपिएको छ । ‘परिवार पाल्नु त छदैँछ । भाडा तिर्न पनि समस्या छ,’ उनले भने, ‘साहुले बन्द भएको दिनको भाडा नलिए त हुन्थ्यो ।’
बजारमा व्यापारीहरुको सामान ओसार पोसार मजदुरी गर्ने बर्दिया ठाकुरद्वार नगरपालिकाका दशीराम चौधरीलाई बजार हुँदा मारमा परेका छन् ।
दैनिक ज्यालादारीमा मजदुरी गर्ने चौधरीले बन्दका कारणले उनलाई पनि बेलुका छाक कसरी टार्ने भन्ने चिन्ता लागेको छ ।

‘आम हड्तालका कारणले बजार पुरै बन्द छ,’ उनले भने, ‘मैले काम गरेर दिनमा कमाउने तीन–चार सय रुपैयाँ पनि आजका लागि गुम्यो।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप