शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक दिनको बन्दले अर्थतन्त्रमा कति क्षति पुग्छ ?

कोरोना प्रभावित अर्थतन्त्र राजनीतिक अस्थिरताको चेपुवामा
बिहीबार, २२ माघ २०७७, १२ : २४
बिहीबार, २२ माघ २०७७

राजनीतिक अस्थिरताका कारण अहिले सडक तातेको छ । नेकपामा गुटगत राजनीति हाबी भएपछि बिहीबार नेकपाकै माधव–प्रचण्ड पक्षले आमहड्ताल गरेको छ । कोरोनाले थिलथिलो बनेको अर्थतन्त्रमा अब राजनीति अस्थिरताले गाँज्ने सङ्केत देखिएको छ ।

तथ्यांक विभागलाई आधार मान्ने हो भने नेपालको औपचारिक अर्थतन्त्रको आकार ३७ खर्ब ६८ अर्ब रुपैयाँ छ । यो भनको ३ सय ६५ दिनको अर्थतन्त्रको गतिविधि हो । यसकारण एक दिनमा १० अर्ब ३२ करोड ३२ लाख उत्पादन तथा व्यापार हुने देखिन्छ । बन्द तथा हड्तालका कारण यस्ता उत्पादन प्रभावित हुन्छन् ।

नेपाल राष्ट्र बैङ्कका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्री माओवादी जनयुद्ध चरमस्थितिमा भएको बेला निजी क्षेत्रले गरेको आँकलनले दैनिक २ अर्ब रुपैयाँ क्षति हुने देखाएपनि अहिले त्यसको हिस्सा निकै बढेको बताउँछन् । उनी भन्छन, ‘२ अर्ब भनेको सानो तिनो घुसको रकम भैसक्यो, बन्द हड्तालले अर्बौँको क्षति पुर्याउँछ ।’ ज्यालाको आम्दानी, उत्पादनमा हुने ह्रासलाई हेर्ने हो भने ठूलो रकम नोक्सान हुने उनको तर्क छ । बन्द हड्ताल र हत्या हिंसा नभए अर्थतन्त्र सकारात्मक दिशामा जान सक्ने क्षेत्रीको धारणा छ ।

यता, अर्का अर्थविद् डा. शंकर शर्मा लामो समय पछि देखिएको राजनीतिक अस्थिरताले अर्थतन्त्र जटिलता तर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गर्दछन्  । खास गरी गैर कृषि क्षेत्रको गतिविधि प्रभावित हुन्छ । कृषि क्षेत्रलाई खासै फरक नपरेपनि उत्पादन क्षेत्र भने प्रभावित हुन नसक्ने उनको भनाइ छ । कसैको पनि आयआर्जन गर्ने, क्षमता प्रयोग गर्ने विषयमा अवरोध आउनु हुँदैन भन्ने सैद्धान्तिक मान्यता छ ।

अर्थतन्त्रमा राजनीतिक धक्का

कोरोनाको कारण कतिपयको रोजगारी गुम्यो भने कतिपय आंशिक तलबमै काम गरे । कोरोनाकै कारण शतप्रतिशत उद्योगधन्दा अझै पनि चलिरहेका छैनन् । यस्तो अवस्थामा राजनीतिक अस्थिरता मौलाउँदै गएको छ । आफ्ना माग प्राप्तिको साधन बन्द हड्ताललाई बनाइँदैछ । समग्र देशको अर्थतन्त्र नै नराम्ररी प्रभावित भएर शिथिल भएको अवस्थामा फेरि बन्द हड्ताल गर्न थालिएको छ । त्यसले अर्थतन्त्र मात्र नभई समग्र सर्वसाधरणको रोजीरोटी नै खोसिन सक्ने चिन्ता थपिएको छ ।

प्रा.डा डिल्लिराज खनालका अनुसार दैनिक झण्डै ६ अर्ब नोक्सान हुने भएकाले बन्दलाई सबैले निरुत्साहित गर्नुपर्ने बताउँछन् । भावि अर्थतन्त्रको लागि राम्रो सङ्केत नभएको उनको तर्क छ । यतिमात्र होइन लामो समय राजनीति अस्थिरता खेपेका लगानीकर्ताले केही समय स्वतन्त्र श्वास फेर्न पाएपनि फेरि अस्थिरताले पुँजी पलायन हुनसक्ने खतरा बढेर गएको विज्ञहरु बताउँछन् । डा. शर्मा अस्थिर राजनीतिले लगानीको वातावरण नबन्ने बताउँछन् ।

चिन्तित निजी क्षेत्र

कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला आमहड्तालले नराम्रो असर गर्ने बताउँदै बन्द हडताल लगायत कार्यक्रमबाट मुलुकलाई थप संकटमा नधकेल्न नीजि क्षेत्रका तीनवटै छाता संगठनले दलहरुसँग अपिल नै गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बढ्दो राजनीति अस्थिरता देखेर चिन्तित बनेका छन् ।

तीनओटै संगठनले संयुक्त वक्तव्य जारी गर्दै चालू आर्थिक वर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गम्भीर धक्का दिने भन्दै  राजनीतिक दलहरूलाई गम्भीर बन्न उनीहरूले अनुरोध गरेका छन् । नयाँ संविधान निर्माणपश्चात आर्थिक विकासलाई प्राथमिकतामा राखी बन्दहड्ताल, चक्काजाम लगायत गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले गरेको प्रतिबद्धता नभुल्न उनीहरुले भनेका छन् ।

बन्द हड्तालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्ने गर्छ । रानीतिक अस्थिरताले सर्वसाधारणमा समेत चिन्ता थपिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप