बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षको आमहड्ताल : उपत्यकामा पक्राउ पर्नेको संख्या ७१ पुग्यो

बिहीबार, २२ माघ २०७७, ०७ : ५७
बिहीबार, २२ माघ २०७७

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले रातोपाटीलाई बताए ।


कलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ ।

बन्द गराउन सड्कमा निस्केर तोडफोडमा उत्रिएकालाई नियन्त्रणमा लिइएको एसपी राठौरले बताएका छन् ।

आमहड्ताल गराउन शान्तिबाटीकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह निस्केको छ । सातदोबाटोमा देव गुरुङ र गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिएको छ ।

आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।


यता, बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ । दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई जानकारी दिए ।

गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो । 

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप