कर्णाली प्रदेशसभाका तीन वर्ष : के–के रहे उपलब्धि ?
सुर्खेत । बुधबार कर्णााली प्रदेशसभाले आफ्नो तेश्रो वार्षिकोत्सव मनाएको छ । २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । नेपाल कम्युनिष्ट पार्टीबाट ३३, नेपाली काँग्रेसबाट ६ र राप्रपाबाट १ जना गरी प्रदेश सभामा ४० जना सांसद छन् ।
तीन वर्षको अवधिमा प्रदेशसभाले महत्वपूर्ण काम गरेको सभामुख राजबहादुर शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘सबैभन्दा महत्वपुर्ण कुरा भनेको प्रदेशको नाम र राजधानी तोक्नु नै हो ।’
३६ वटा कानुन निर्माण
कर्णाली प्रदेशसभाले हालसम्म ३६ वटा कानुन निर्माण गरिसकेको छ । कर्णाली प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानुन निर्माणको कामलाई तीव्रता दिएको थियो । कानुन निर्माणमा सहजता प्रदान गर्नका निमित्त ४ वटा समिति गठन गरिएका छन् । हालसम्म प्रदेशसभामा ५१ वटा विधेयक दर्ता भएका छन् । जसका ३६ प्रमाणीकरण भए भने विभिन्न समितिमा ७ वटा विधेयक विचाराधीन छन् भने ७ वटा विधेयक टेबुल हुन बाँकी छ । यस्तै, एउटा विधेयक भने फिर्ता भएको छ ।
कस्ता छन् विधेयक ?
प्रदेशसभाबाट हालसम्म प्रदेश आर्थिक कार्यविधि विधेयक (२०७४), आर्थिक वर्ष २०७४÷०७५ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सहकारी विधेयक (२०७५) प्रमाणीकरण भएका छन् ।
यस्तै, कर्णाली प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (२०७५), कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (२०७५), कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (२०७५), कर्णाली प्रदेश वित्तीय हस्तान्तरण(व्यवस्थापन) विधेयक (२०७५) पनि प्रमाणीकरण भइसकेको छ ।
गठन गरिएका समितिका उपलब्धि के ?
नेपालको संविधानको धारा १९३ बमोजिम प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न चारवटा समिति गठन भएका छन् ।
अर्थ तथा प्राकृतिक स्रोत समितिले हालसम्म सार्वजनिक र निजी क्षेत्रको साझेदारीसम्बन्धी विधेयक र कर्णाली प्रदेशको वातावरण संरक्षण सम्बन्धी विधेयक पारित गरेको छ । यस्तै, दैलेख, जाजरकोटलगायतका जिल्लामा अनुगमन गरी विभागीय मन्त्री र सचिव समेतलाई निर्देशन दिने कार्य गरेको छ ।
यस्तै विधायन तथा प्रदेश मामिला समितिले ९ वटा विधेयक पारित गर्नुका साथै मन्त्रालयहरुले बनाएका नियमावली, कार्यविधि, निर्देशिका र मापदण्डहरुमा अध्ययन गरी सरकारलाई निर्देशन दिने काम गरेको छ ।
सामाजिक विकास समितिले ६ वटा विधेयक पारित गरेको छ ।
प्रदेशको सार्वजनिक लेखा समितिले रारा पर्यटन महोत्सवको खर्च सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ भने रकमान्तर सम्बन्धी अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिने काम गरिरहेको छ ।
कुन अधिवेशनमा कति बैठक ?
२०७४ माघ २१ देखि ०७५ वैशाख १८ गतेसम्म चलेको प्रदेशसभाको पहिलो अधिवेशनमा २२ वटा बैठक बस्यो । दोश्रो अधिवेशन ०७५ जेठ ११ गते देखि कार्तिक १८ गतेसम्म चल्यो भने कुल ४१ बैठक बसेको छ ।
यस्तै तेश्रो अधिवेशनमा प्रदेशसभाको १३ वटा बैठक बसेको छ भने चौथो अधिवेशनमा ३३, पाँचौमा ७ तथा छैठौँमा २९ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको कामप्रति सन्तुष्ट नै छु: सभामुख शाही
कर्णाली प्रदेशसभाका सभामुख शाहीले प्रदेशसभाको कामप्रति आफू सन्तुष्ट रहेको जनाए । ‘प्रदेशसभा भन्ने बित्तिकै कानुन निर्माण गर्ने थलो हो, ‘शाहीले रातोपाटीसँग भने, ‘हामीले अहिलेसम्म जति काम गरेका छौँ, पूर्णरुपमा सफल नभए पनि सन्तुष्ट नै छौँ ।’
विगतका कुरालाई मनन् गर्दै आगामी दिनमा थप प्रभावकारी रुपमा अघि बढ्ने आफ्नो प्रयास रहने सभामुख शाहीले बताए ।
वार्षिकोत्सवमा सांसद नै अनुपस्थित
अघिल्ला वर्षमा वार्षिकोत्सव समारोहमा सबै सांसद सहभागी भए पनि यो वर्षको कार्यक्रममा नेकपा विभाजनको असर देखिएको छ ।
समारोहमा मुख्यमन्त्री शाही, सभामुख राजबहादुर शाही, मन्त्रीहरु विमला केसी, नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, सांसदहरु सीता नेपाली, हिमबहादुर शाही, दानसिंह परियार, यज्ञ बिसी, पदम रोकाय, कृष्णा शाह, पद्मा खड्का र अमृता शाही बाहेक अन्य सांसदहरुको उपस्थिति देखिएन ।