एटीएममा बैङ्कहरूको अर्बौँ खर्च : एकपटक पैसा निकाल्दा देशबाट १० रुपैयाँसम्म बाहिरिन्छ
तपाईंलाई थाहा छ, तपाईं-हामीले प्रयोग गर्ने एटीएमबाट अर्बौं नेपाली रुपैयाँ विदेशिन्छ भनेर ? नेपालमा पछिल्लो समय एटीएम प्रयोगकर्ताहरू बढिरहेका छन् । चेक काटेर रकम झिक्ने परम्परा विस्तारै विस्थापित हुँदैछ । आफूलाई चाहिएको रकम एटीएम मेसिनमा कार्ड घुसाएर झिकिरहेका हुन्छौँ । नेपालमा विशेषगरी एससीटी र भिजा कार्डको प्रयोग बढी छ । भिजा कार्ड धेरैजसो भारतबाट आउने गरेको छ भने थाइल्यान्डबाट पनि भिजा कार्ड ल्याइन्छ ।
विशेषगरी भिजा कार्ड प्रयोगकर्ता जसले एक बैङ्कबाट अर्को बैङ्कसँग कारोबार गर्छन् भने त्यस्तो कारोबारमा केही रकम विदेशिने गरेको छ । कुनै एउटा बैङ्कको भिजा कार्ड अर्को बैङ्कमा घुसाउँदा (अन्तर बैङ्क कारोबार) त्यसबाट प्रत्येक कारोबारमा १० रुपैयाँसम्म रकम बाहिर जाने गरेको बैङ्करहरू नै बताउँछन् ।
यो रकम एटीएम प्रयोगकर्ताबाट बैङ्कले लिन्छ भने बैङ्कले भिजा कार्ड डेभलपरलाई ६ देखि १० रुपैयाँ दिनुपर्छ । यस आधारमा बैङ्कले ग्राहकसँग लिने रकमको केही प्रतिशत रकम भिजालाई दिइन्छ । नेपाल राष्ट्र बैङ्कका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैङ्कहरूसँग नै कति रकम लिने भनेर पहिले नै डेभलपरले सम्झौता गरेका हुन्छन् । उनका अनुसार ६ देखि १० रुपैयाँसम्म पर्न जान्छ ।
भिजा कार्डको स्विच भारतमा भएकाले अन्तर बैङ्क कारोबारबाट रकम बाहिरिने गरेको सेन्चुरी बैङ्कका एक बैङ्कर बताउँछन् । ती बैङ्कर भन्छन्, ‘जति रुपैयाँ झिके पनि प्रतिकारोबार १० रुपैयाँ तिर्नुपर्छ अर्थात् ६ रुपैयाँ भारु भिजालाई दिनुपर्छ ।’
भिजा कार्डबाट हुने अन्तरबैङ्क कारोबारबाट सेन्चुरीले वार्षिक औसतमा २५ लाख रुपैयाँ स्विचलाई पठाउने गर्छ । उनका अनुसार एटिएममा भिजा कार्ड मार्फत ५० हजारदेखि एक लाख पटकभन्दा बढी अन्तर बैङ्क कारोबार हुन्छ । यो त प्रतिनिधि मात्र हो । ठूलाठूला बैङ्कमा झन् करोडौँ कारोबार हुने गरेको छ ।
यता नेपाल राष्ट्र बैङ्कसँग भिजा कार्डबाट कति रकम बाहिरिन्छ भन्ने यकिन तथ्याङ्क छैन भने बैङ्कर्सहरू पनि एकले अर्कालाई देखाउँँदै उम्कन्छन् ।
गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रममा एटीएम प्रयोग गर्दा रकम बाहिरिने भएकाले क्यूआर कोडमार्फत भुक्तानी बढाउन भनेका थिए । तर राष्ट्र बैङ्कसँग भिजा कार्ड प्रयोग गर्दा कति रुपैयाँ बाहिरिन्छ भन्ने यकिन तथ्याङ्क छैन ।
राष्ट्र बैङ्कका प्रवक्ता गुणकर भट्ट भिजा कार्डमाफर्त अन्तर बैङ्क कारोबार गर्दा रकम बाहिरिने भए पनि कति रकम बाहिरिन्छ भन्ने यकिन तथ्याङ्क आफूहरूसँग नभएको बताउँछन् ।
नेपालमै स्विच स्थापनाका लागि प्रारम्भिक चरणको काम सुरु
भिजा कार्ड प्रयोगमार्फत बाहिरिने रकम रोक्न नेपाल राष्ट्र बैङ्कले नेपालमै स्विच स्थापना गर्ने नीतिगत निर्णय गरिसकेको छ । यसको कार्यान्वयन नेपाल क्लियरिङ हाउसले पाएको छ । एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले स्विच निर्माणको कार्यान्वयन आफूहरूले पाएकाले त्यसको प्रारम्भिक चरणको काम सुरु भएको बताएका छन् । भर्खरै प्रारम्भिक चरण भएकाले त्यसको स्थापनाका लागि कति समय लाग्छ भन्ने यकिन छैन । अन्तर्राष्ट्रिय नेटवर्क प्रोभाइडरहरूलाई नेटवर्क प्रयोग गरेबापत रकम मात्र जाँदैन, विवरणसमेत जाने भएकाले घरेलु स्विच हुँदा केही हदसम्म रकम बाहिर जाने क्रम रोकिने र कारोबारको विवरणको गोपनीयता बाहिर नजाने प्रधानको भनाइ छ । यसलाई रोक्न स्वदेशमै कार्ड बन्नुपर्ने प्रधानको भनाइ छ ।
बैङ्किङ विज्ञ अनलराज भट्टराई नेपालभित्र स्विच र नेपालमा भएको कारोबारको सेटलमेन्ट गर्नका लागि स्विचको व्यवस्था हुनुपर्ने बताउँछन् । भिजा कार्ड र मास्टर कार्डका लागि कारोबारमा आधारित शुल्क लाग्ने गरेको बताउँदै उनले भने, “कार्ड नेपाली चालाउने, भुक्तानी नेपाली रुपैयाँ गर्ने र सामान पनि आफ्नो तर संयन्त्र विदेशी प्रयोग गर्नाले रकम बाहिरिने गरेको छ ।”
उनी भन्छन, “जबसम्म आफ्नो क्षमता र प्रविधि विकास गर्न सक्तैनौ तबसम्म रकम बहिरिन्छ ।” आफ्नो देशमा संयन्त्र विकास गरेर देशले आफ्नै स्विच राखेर स्वदेशमा भएको भुक्तानीको विदेशमा रकम तिर्नुपर्ने अवस्थाको अन्त्य गर्दै जानुपर्ने उनको धारणा छ ।
क्यूआर कोडमा जोड
अहिले बैङ्कहरूले क्युआर कोडमा जोड दिइरहेका छन् । गर्भनर अधिकारीलाई क्यूआर कोडको उद्घाटन गर्न भ्याइनभ्याइ छ । क्यूआर कोडमार्फत भुक्तानी गर्दा एक रुपैयाँ पनि बाहिर नजाने सानिमा बैङ्कका सीईओ भुवन दाहालको भनाइ छ ।
कसैले सय रुपैयाँको सामान किनेको छ भने उसको खाताबाट पनि सय रुपैयाँ नै काटिन्छ भने सामान बेच्नेले पनि सय रुपैयाँ नै पाउँछ । अहिलेसम्म शुल्कको व्यवस्था छैन । क्यूआर कोडको पूरा रूप क्विक रेस्पोन्स कोड हो ।
सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डाटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ । क्यूआरकोड एप्लिकेसनमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदि कुरा पर्दछन् ।
होटल, तरकारी तथा फलफूल पसल, सपिङ सेन्टर, अटोमोबाइल लगायतमा क्यूआर कोडको प्रचलन बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा