ad
केन्द्रीय संस्करण
अर्थतन्त्र

एटीएममा बैङ्कहरूको अर्बौँ खर्च : एकपटक पैसा निकाल्दा देशबाट १० रुपैयाँसम्म बाहिरिन्छ

नेपालमै स्विच स्थापनाका लागि प्रारम्भिक चरणको काम सुरु

person explore access_timeमाघ २१, २०७७ chat_bubble_outline0

 

तपाईंलाई थाहा छ, तपाईं-हामीले प्रयोग गर्ने एटीएमबाट अर्बौं नेपाली रुपैयाँ  विदेशिन्छ भनेर ? नेपालमा पछिल्लो समय एटीएम प्रयोगकर्ताहरू बढिरहेका छन् । चेक काटेर रकम झिक्ने परम्परा विस्तारै विस्थापित हुँदैछ । आफूलाई चाहिएको रकम एटीएम मेसिनमा कार्ड घुसाएर झिकिरहेका हुन्छौँ । नेपालमा विशेषगरी एससीटी र भिजा कार्डको प्रयोग बढी छ  । भिजा कार्ड धेरैजसो भारतबाट आउने गरेको छ भने थाइल्यान्डबाट  पनि भिजा कार्ड ल्याइन्छ ।

विशेषगरी भिजा कार्ड प्रयोगकर्ता जसले एक बैङ्कबाट अर्को बैङ्कसँग कारोबार गर्छन् भने त्यस्तो कारोबारमा केही रकम  विदेशिने गरेको छ । कुनै एउटा बैङ्कको भिजा कार्ड अर्को बैङ्कमा घुसाउँदा (अन्तर बैङ्क कारोबार) त्यसबाट प्रत्येक कारोबारमा १० रुपैयाँसम्म रकम बाहिर जाने गरेको बैङ्करहरू नै बताउँछन् । 

यो रकम एटीएम प्रयोगकर्ताबाट बैङ्कले लिन्छ भने बैङ्कले भिजा कार्ड डेभलपरलाई ६ देखि १० रुपैयाँ दिनुपर्छ । यस आधारमा बैङ्कले ग्राहकसँग लिने रकमको केही प्रतिशत रकम भिजालाई दिइन्छ । नेपाल राष्ट्र बैङ्कका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैङ्कहरूसँग नै कति रकम लिने भनेर पहिले नै डेभलपरले सम्झौता गरेका हुन्छन् । उनका अनुसार ६ देखि १० रुपैयाँसम्म पर्न जान्छ ।

भिजा कार्डको स्विच भारतमा भएकाले अन्तर बैङ्क कारोबारबाट रकम बाहिरिने गरेको सेन्चुरी बैङ्कका एक बैङ्कर बताउँछन् । ती बैङ्कर भन्छन्, ‘जति रुपैयाँ झिके पनि प्रतिकारोबार १० रुपैयाँ तिर्नुपर्छ अर्थात्  ६ रुपैयाँ भारु भिजालाई दिनुपर्छ ।’

भिजा कार्डबाट हुने अन्तरबैङ्क कारोबारबाट सेन्चुरीले वार्षिक औसतमा २५ लाख रुपैयाँ स्विचलाई पठाउने गर्छ । उनका अनुसार  एटिएममा भिजा कार्ड मार्फत ५० हजारदेखि एक लाख पटकभन्दा बढी अन्तर बैङ्क कारोबार हुन्छ । यो त प्रतिनिधि मात्र हो । ठूलाठूला बैङ्कमा झन् करोडौँ कारोबार हुने गरेको छ ।

यता नेपाल राष्ट्र बैङ्कसँग भिजा कार्डबाट कति रकम बाहिरिन्छ भन्ने यकिन तथ्याङ्क छैन भने  बैङ्कर्सहरू पनि एकले अर्कालाई देखाउँँदै उम्कन्छन् ।

गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रममा एटीएम प्रयोग गर्दा रकम बाहिरिने भएकाले क्यूआर कोडमार्फत भुक्तानी बढाउन भनेका थिए । तर राष्ट्र बैङ्कसँग भिजा कार्ड प्रयोग गर्दा कति रुपैयाँ बाहिरिन्छ भन्ने यकिन तथ्याङ्क छैन ।

राष्ट्र बैङ्कका प्रवक्ता गुणकर भट्ट भिजा कार्डमाफर्त अन्तर बैङ्क कारोबार गर्दा  रकम बाहिरिने भए पनि कति रकम बाहिरिन्छ भन्ने यकिन तथ्याङ्क आफूहरूसँग नभएको बताउँछन् ।

नेपालमै स्विच स्थापनाका लागि प्रारम्भिक चरणको काम सुरु

भिजा कार्ड प्रयोगमार्फत बाहिरिने रकम रोक्न नेपाल राष्ट्र बैङ्कले नेपालमै स्विच स्थापना गर्ने नीतिगत निर्णय गरिसकेको छ । यसको कार्यान्वयन नेपाल क्लियरिङ हाउसले पाएको छ । एनसीएचएलका  प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले स्विच निर्माणको कार्यान्वयन आफूहरूले पाएकाले त्यसको प्रारम्भिक चरणको काम सुरु भएको बताएका छन् । भर्खरै प्रारम्भिक चरण भएकाले त्यसको स्थापनाका लागि कति समय लाग्छ भन्ने यकिन छैन । अन्तर्राष्ट्रिय नेटवर्क प्रोभाइडरहरूलाई नेटवर्क प्रयोग गरेबापत रकम मात्र जाँदैन, विवरणसमेत जाने भएकाले घरेलु स्विच हुँदा केही हदसम्म रकम बाहिर जाने क्रम रोकिने र कारोबारको विवरणको गोपनीयता बाहिर नजाने प्रधानको भनाइ छ ।  यसलाई रोक्न स्वदेशमै कार्ड बन्नुपर्ने प्रधानको भनाइ छ ।

बैङ्किङ विज्ञ अनलराज भट्टराई नेपालभित्र स्विच र नेपालमा भएको कारोबारको सेटलमेन्ट गर्नका लागि स्विचको व्यवस्था हुनुपर्ने बताउँछन् । भिजा कार्ड र मास्टर कार्डका लागि कारोबारमा आधारित शुल्क लाग्ने गरेको बताउँदै उनले भने, “कार्ड नेपाली चालाउने, भुक्तानी नेपाली रुपैयाँ गर्ने र सामान पनि  आफ्नो तर संयन्त्र विदेशी प्रयोग गर्नाले रकम बाहिरिने गरेको छ ।”

उनी भन्छन, “जबसम्म आफ्नो क्षमता र प्रविधि विकास गर्न सक्तैनौ तबसम्म रकम बहिरिन्छ ।” आफ्नो देशमा संयन्त्र विकास गरेर देशले आफ्नै स्विच राखेर स्वदेशमा भएको भुक्तानीको विदेशमा रकम तिर्नुपर्ने अवस्थाको अन्त्य गर्दै जानुपर्ने उनको धारणा छ ।

क्यूआर कोडमा जोड

 अहिले बैङ्कहरूले क्युआर कोडमा जोड दिइरहेका छन् । गर्भनर अधिकारीलाई क्यूआर कोडको उद्घाटन गर्न भ्याइनभ्याइ छ । क्यूआर कोडमार्फत भुक्तानी गर्दा एक रुपैयाँ पनि बाहिर नजाने सानिमा बैङ्कका सीईओ भुवन दाहालको भनाइ छ ।

कसैले सय रुपैयाँको सामान किनेको छ भने उसको खाताबाट पनि सय रुपैयाँ नै काटिन्छ भने सामान बेच्नेले पनि सय रुपैयाँ नै  पाउँछ । अहिलेसम्म शुल्कको व्यवस्था छैन ।  क्यूआर कोडको पूरा रूप क्विक रेस्पोन्स कोड हो ।

सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डाटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ । क्यूआरकोड एप्लिकेसनमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदि कुरा पर्दछन् ।

होटल, तरकारी तथा फलफूल पसल, सपिङ सेन्टर, अटोमोबाइल लगायतमा क्यूआर कोडको प्रचलन बढ्दै गएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.