सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

भाइरसको पहेली – निरन्तर रुप बदल्दै, सम्भवत: कहिले काहीँ खतरनाक पनि बन्दै !

मङ्गलबार, २० माघ २०७७, १९ : ४४
मङ्गलबार, २० माघ २०७७

बेलायतमा फेला परेको रुप बदलिएको भाइरसले खोपलाई प्रतिरोध गर्न सक्ने आशंका बेलायती अधिकारीहरुले गरेका छन् । यही रुप बदलिएको भाइरसको कारण यतिखेर पोर्तुगल युरोपकै सबैभन्दा बढी मृत्युदर देखिएको छ भने अस्पतालहरुमा ठाउँ उपलब्ध हुन छाडेको छ ।

तीब्ररुपमा फैलिइरहेको कोरोनाभाइरसको यो बदलिएको रुप पहिलो पटक बेलायतमा देखापरेको थियो । त्यो रुप बदलिएको भाइरसले नै पनि निरन्तर रुपमा आफूलाई बदलिइरहेको कारण यसलाई भ्याक्सिनले पनि रोकथाम गर्न मुश्किल पर्ने कुरा सोमबार बेलायतका जनस्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यतिखेर बेलायतमा म्युटेन्ट भएको यही कोरोनाभाइरस संसारभयिर खतरनाक ढंगले फैलिएर गइरहेको छ ।

बी.१.१.७  नाम दिइएको यो रुप बदलिएको कोरोनाभाइरस पहिलो पटक गत डिसेम्बरमा बेलायतमा देखापरेको थियो । अनुसन्धानकर्ताहरुका अनुसार देखापरेको दुई महिनामा नै यो बेलायतभरि फैलिन पुगेको थियो ।

बेलायतमा गरिएको टेस्टट्यूब परीक्षणमा यो भाइरसका केही म्युटेन्टहरुले कोरोनाभाइरसलाई मानव शरीरका कोषहरुमा झनै बलियो गरी समातेर बस्ने तुल्याएको छ ।

बेलायतमा पहिलो पटक देखापरेको यो रुप बदलिएको कोरोनाभाइर यतिखेर संसारका अरु ७२ देशहरुमा फैलिइसकेको छ । यो रुपको भाइरस अमेरिकामा समेत पुगिसकेको गत डिसेम्बर २९ मा पुष्टि भएको थियो । त्यसबेला सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले अमेरिकाको ३२ राज्यहरुमा उक्त भाइरसका ४६७ नमूनाहरु फेला पारेका थिए ।

पछिल्लो ताजा विश्लेषणमा, बेलायतका जनस्वास्थ्य निकायले अरु रुपका कोरोनाभाइरसको तुलनामा यो भाइरसको संक्रमणदर २५ देखि ४० प्रतिशत बढी रहेको अनुमान गरेको छ । केही प्रारम्भिक अध्ययनहरुले यसले मृत्युदर पनि बढाउने देखाएको छ ।

थुप्रै प्रमाणहरुले बी.१.१.७ भाइरसका विरुद्ध भ्याक्सिनले काम गर्ने नै देखाएको छ । गत बिहिबार मात्रै भ्याक्सिन निर्माता नोभाभ्याक्सले बेलायतमा गरिएको अध्ययनले उक्त भाइरसले भ्याक्सिनको प्रतिरक्षा प्रणालीलाई भेद्न नसकेको जनाएको थियो ।

तर उता अफ्रिकामा कोरोनाभाइरसकै नयाँ रुप देखापरेर फैलिइरहेको छ । उक्त नयाँ रुपको भाइरसलाई बी.१.३५१ नामाकरण गरिएको छ । त्यस भाइरसका विरुद्ध भने विभिन्न परीक्षणहरुमा नोभाभ्याक्स र जोन्सन एण्ड जोन्सनका भ्याक्सिनहरु कम प्रभावकारी देखिएको छ ।

अफ्रिकामा पहिले देखापरेको भाइरसको यो प्रजाति पनि यतिखेर ३१ देशहरुमा फैलिइसकेको छ । यो भाइरस अमेरिकाको मेरील्याण्ड र दक्षिण क्यारोलिनामा देखापरेको छ ।

यी रुप बदलिएका भाइरसहरुले होस्टलाई संक्रमित तुल्याएर तीब्रदरमा बृृद्धि हुने गरे पनि यसैले रुप बदलेर नयाँ रुपको भाइरस बन्ने सम्भावना भने कम नै रहेको छ । यस अर्थमा कोरोनाभाइरसको रुपमा आएका वा आउने यस्ता परिवर्तनहरुले त्यति ठूलो चिन्ता र चासो त पैदा गर्दैन, तर अहिले नै खतरनाक देखिएको यी भाइरसहरुले झनै डरलाग्दो रुप धारण गरेर विकसित त हुने हैन भन्ने कुराले वैज्ञानिकहरुलाई चिन्तित भने अवश्य पनि तुल्याएको छ ।

त्यसो त भाइरसमा आउने म्युटेसनले कोरोनाभाइरसका प्रजातिलाई पनि बदलिदिन्छ तर नयाँ रुपका भाइरसको असर पनि उस्तै हुन्छ भन्ने कुराको कुनै सुनिश्चितता छैन । प्रत्येक नयाँ म्युटेसनको असर भाइरसले ल्याउने अरु म्युटेसनहरुमा निर्भर हुने गर्छ ।

बेलायतका जनस्वास्थ्य निकायले जनाएअनुसार बेलायतमा बी.१.१.७ कोरोनाभाइरसको भेरिएन्टमै इ४८४के नाम दिइएको अलि डरलाग्दो म्युटेसन पटक पटक देखापरिसकेको छ । त्यसैगरी, बेलायतमा पनि कोरोनाभाइरसका दुई भेरियन्टहरुमा त्यही किसिमको म्युटेसन अलग अलग भइसकेको फेला परेको छ । यसले कोरोनाभाइरसलाई झनै शक्तिशाली बनाउँदै लैजाने त हैन भन्ने कुराको संकेत गरेको छ ।

मोर्डना र अरु खोप कम्पनीहरुले कोरोनाको इ४८४के म्युटेसनका विरुद्ध समेत काम गर्ने गरी खोपहरु विकास गरिरहेको छ । क्यालिफोर्नियाको ला जोलास्थिति स्क्रिप्स रिसर्च इन्स्टिच्यूटका भाइरोलोजिस्ट क्रिस्टियन एन्डर्सनका अनुसार इ४८४के फैलिनु आफैमा राम्रो कुरा होइन तर अहिले नै यी कोरोनाभाइरसहरु बढी संक्रमणकारी हुनेछ र तिनले भ्याक्सिनलाई प्रतिरोध गर्ला भन्नु हतारो हुनेछ । ‘हामीले तथ्यांकहरुलाई कुर्नुपर्छ,’ उनी भन्छन् ।

गत हप्ता मात्रै वैज्ञानिकहरुले बेलायतमा सिक्वेन्स गरिएका कोरोनाभाइरसका सबै जिनोमहरुलाई समीक्षा गरेका थिए । त्यस दौरानमा उनीहरुले बी.१.१.७ सँग सम्बन्धित कोरोनाभाइरसका ११ भेरिएन्टहरुले चिन्ता पैदा गर्ने खालका म्युटेसन क्षमता बोकेको फेला पारेका थिए ।

यही कारण नै इ४८४के म्युटेसन प्रायः रहस्यमय बनिदिन्छ । लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका म्याथमेटिकल बायोलोजिस्ट निकोलस डेभिस भन्छन्, यही कारण नै कोरोनाभाइसका अरु प्रजातिका कारण शरीरमा पैदा भएका एन्डिबडीहरुलाई कोरोनाभाइरसले भेद्न सक्ने सम्भावना छ । ‘शरीरमा पहिले नै विद्यमान प्रतिरक्षा प्रणालीका विरुद्ध इ४८४के सबल रहेको हुन सक्छ,’ उनी भन्छन् ।

न्यूयोर्क टाइम्समा प्रकाशित कार्ल जिम्मरको रिपोर्टको नेपाली अनुवाद । Title Photo: https://static01.nyt.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप