ad
केन्द्रीय संस्करण

संसद् विघटन : मरुभूमिमा युवाका अलपत्र सपना

person explore access_timeमाघ २०, २०७७ chat_bubble_outline0

 

 

–मोहम्मद अजिज अली
 
वार्षिक बिदा सकेर कर्मभूमि फर्किंदै गर्दा एयरपोर्टसम्मका सडक छेउछाउका हरेक सोलारबत्ती जडित पोलहरूमा मुसुक्क मुस्कुराइरहेका प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘एउटा नयाँ युगको सुरुवात’  लेखिएका बोर्डहरू झुन्डिएका थिए  । आफ्ना परिवारको सुखका सपना बोकी पहिलो पटक र छुट्टी सकेर  परदेश हिँडेका मजस्ता हजारौँ युवाहरूलाई प्रधानमन्त्रीले मन्द मुस्कानसहित नयाँ युगको सुरुवात गर्न लामबद्ध उभिएर बिदाइ गरेको आभास भएको थियो ।

एयरपोर्ट गेटभित्र प्रवेश गरेपछि बढेमानको होडिङबोर्डहरूमा ठूला अक्षरले आफ्नै फोटो साक्षी राखेर ‘समृद्ध नेपाल सुखी नेपाली’  लेखिएको प्रधानमन्त्रीको सङ्कल्प पढ्दा  विदेशमा सुख खोज्ने यात्रा यो नै अन्तिम पटक बन्ला भन्ने ठूलो आशा सँगाल्दै भारी मन केही खुकुलो बनाएर जहाज चढेको ३ वर्ष भइसकेछ ।

यही  अन्तरालमा दुई पटक नेपाल गएर फर्किसकेँ । त्यो बेलाका चम्किला होडिङबोर्डहरू खुइलिएर अक्षर धमिलो भएको, प्रधानमन्त्रीको पोस्टरको टाउको च्यातिएर भुइँतिर लत्रिएको थियो  । समृद्ध नेपालको सुखी नेपाली बन्ने सपना अलपत्र परेर च्यातिएको मनलाई प्रधानमन्त्रीकै च्यातिएको  टाउकोसँग तुलना गरेँ । तर गुनासो गरिनँ । बरु कसैले  प्रधानमन्त्रीको लत्रिएको त्यो शिर उठाएर माड लगाएर टाँसिदिए हुन्थ्यो जस्तो लाग्यो ।
मुलुकभित्र पर्याप्त रोजगारीका अवसर नहुँदा दैनिक १२ सयभन्दा बढी युवा विदेशी भूमिमा पसिना बगाउन एयरपोर्टमा लाइन लाग्ने दिन अब सकिए, दशकौँपछि मुलुकले  स्थायी सरकार पायो । अब मुलुक समृद्धिको दिशामा द्रुत गतिमा अगाडि बढ्यो । मुलुकलाई ठूलो जनशक्ति आवश्यक पर्छ भनेर स्वदेशमै रोजगारीसहित वार्षिक ५ लाख युवा फर्काउने सरकारको योजना सुन्दा कयौँ युवाले नेपाल फर्कने दिन गनेर बसेका थिए । आजका मितिसम्म उल्लेखित योजनाले सार्थकता पाउन सकेन ।  

विदेशिनेको सङ्ख्या झन् ह्वात्तै वृद्धि हुँदै गयो । तथ्याङ्कअनुसार २०७४÷७५ मा दैनिक हजारदेखि १२ सयसम्म विदेश जानेहरूको सङ्ख्या बढेर १५ सय नाघेको रहेछ ।
नयाँ संविधानको व्यवस्थाअनुसार सम्पन्न ३ तहका निर्वाचनमा अहिले सरकारको नेतृत्व गरेको नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको चुनावी घोषणापत्रको मुख्य एजेन्डा विदेशमा रहेका युवा स्वदेश फर्काउने पनि थियो ।  
तत्कालीन एमाले र माओवादीहरूले बामपन्थी शक्ति एक भए देश बल्ल समृद्ध हुनेछ भन्दै अप्रत्यासित रूपमा चुनावी तालमेल र पार्टी एकता गरेर धेरै सिट जिते । तर  लामो समयपछि मुलुकले पाएको ५ वर्षे स्थायी अनि बलियो सरकार पार्टीभित्रको आन्तरिक किचलोले आधा कार्यकालमै संसद् भङ्ग गरेर  सडकमा समर्थन र विरोध गर्दैछन । करिब दुई तिहाइ नजिक बहुमत पाएको सरकार निर्धारित समय अवागै फेरि चुनावमा जाने तयारी गर्दैछ ।  बामपन्थीहरूको त्यो अप्रत्यासित एकता देश र जनताको समृद्धिका लागि नभई सत्ता प्राप्ति र पार्टीगत स्वार्थपूर्तिका लागि जनतालाई भ्रममा पारिएको  थियो भन्ने पुष्टि भएको छ ।

सरकारकै नेतृत्व गरेको पार्टीभित्रबाट चरम भ्रष्टाचार अनियमितता भएको समृद्धिका लागि जनतासँग गरेका प्रतिबद्धता अनुरूप काम गर्न नसकेको सुशासनमा पनि  सरकार निकम्मा भएको  विधिविधान र  संविधानविपरीत कार्यहरू गरेको भनेर सरकारको विरोध गरिरहेका छन् । त्यही विरोध र खिचातानीपछि काम गर्न नदिएकाले संसद् नै भङ्ग गर्नुपर्याे भन्ने गैरजिम्मेवार र हास्यास्पद तर्क राखेर सरकार आफ्नो कमजोरी ढाकछोप गर्दैमा व्यस्त छ  ।  
मजस्ता लाखौँ युवाहरूका लागि यो संसद् मात्र भङ्ग हैन समृद्ध र सुखी बन्ने सपना पनि भङ्ग भएको हो । आफ्नै भूमिमा रगत पसिना बगाएर स्वरोजगार बनेर परिवारसँगै सुखदुःख बाँड्ने सपना भत्किएको हो । सरकारले गरेका वाचाअनुसार यतिबेला हामी आफ्नै देश विकासका निर्माण स्थलमा खटिएको हुनुपर्ने थियो । बिडम्बना  तिमीहरू  विदेशमै श्रम गरी रेमिट्यान्स पठाइदेऊ । हामी त्यही रेमिट्यान्सबाट नेपालमा भएका तिम्रा परिवारलाई भोट हाल्ने लाइनमा बसाल्छौँ भन्न कुन नैतिकताले सकेका होलान् ?  

युवा विदेश पठाउने  काँग्रेस हो, हामी फर्काउँछौ भन्ने कम्युनिस्टहरूको अहिलेको दुर्गति हेर्दा  हामी कहिलेसम्म यसरी विदेशिनुपर्ने हो ? देश कहिलेसम्म हाम्रो रेमिट्यान्सले धानिदिनुपर्ने हो ? भनेर प्रश्न गरिरहने मजस्ता लाखौँ युवाहरूलाई काँँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको ‘जति बेला मुलुकमा हिंसात्मक द्वन्द्व सुरु भयो, एकथरी कम्युनिस्टले युवाहरूको हातमा बन्दुक थमाउँदा नेपाली काँग्रेसले हरियो पासपोर्ट थमायो त के गल्ती गर्याे ?’ भन्ने तर्क कानमा गुन्जिइरहन्छ ।

लामो समयको द्वन्द्व र अस्थिरतापछि मुलुकमा भएको परिवर्तन अनि हामीले देखेका सपना र अहिलेको घटनाक्रम तिनै कम्युनिस्टहरूको अकर्मण्यताका कारण  बहुमतको सरकार तुहिएको देख्दा त्यो भनाइ सही रहेछ भन्ने लाग्दैछ ।

तत्कालीन अवस्थामा श्रम सम्झौता गरी विदेशमा श्रम गर्न जाने अवसर प्राप्त नभएका भए हामीमध्ये हजारौँ युवा जनयुद्धका नाममा घाइते अपाङ्ग र सहिद हुन बाध्य बनाइने थियौँ  ।  लाखौँ युवा बेरोजगार बनेर भौँतारिरहेका हुनेथियौँ । देशमा चरम बेरोजगारी र आर्थिक सङ्कट पथ्र्याे । नाकाबन्दी, भूकम्प, कोरना जस्ता कठिन अवस्थामा  मुलुकले घुँडा टेक्नुपर्ने अवस्था आउने थियो । मुलुक कम्तीमा यो अवस्थाबाट गुज्रिन वैदेशिक रोजगारले  रोकेको हो भन्न गलत हुँदैन । अहिलेको अवस्था हेर्दा केही सीमित व्यक्तिको सत्ता प्राप्तिका लागि भन्दा देशको अर्थतन्त्र धान्न बन्दुकभन्दा पासपोर्ट थमाउने काम धेरै हदसम्म सही थियो । 

मासिक ५५ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) पठाउने युवाहरू खाडी राष्ट्र साउदी अरब, कतार, यूएई, बहराइन, ओमान र कुवेतसहित पश्चिम एसियाका अन्य मुलुकमा १५ लाख नेपाली श्रम गरिरहेका छन् । जुन नेपालमै बेरोजगार अवस्थामा भएको कल्पना गरौँ हाम्रो अवस्था कति भयाभय हुन्थ्यो होला ।  त्यसो भन्दै गर्दा युवा विदेशिनु  सही हो भन्ने अर्थ कदापि हैन । विदेशिनु बाध्यता हैन रहर बन्नुपर्छ भन्ने मेरो पनि मान्यता छ ।
लाखौँ युवा कोरानाको कारणले रोजागरी गुमाएर अलपत्र परेर महिनौँपछि बल्लतल्ल रुँदै नेपाल  फर्किन बाध्य भएकाहरू नेपालमा रोजगारको विकल्प नभेटेर  पुनः विदेश जान प्रयासरत छन् । सरकारले उनहरूका लागि नेपालमै रोजगार दिने ठोस योजना बनाउनुपर्ने दायित्व भुलेर ऋण मागेरै अर्बौं खर्चेर फेरि चुनाव गराउन उद्दत छ ।

घरपरिवार छाडेर  मरुभूमिमा नेपालीले बगाएको पसिना र रगत सञ्चित रेमिट्यान्सले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको छ । जीडीपीमा साथसँगै विदेशमा गएर सिकेको सीप र अनुभव पनि नेपाल भित्रिरहेको छ । तर त्यसरी भित्रिएको रेमिट्यान्स र सीपलाई सरकाले सही सदुपयोग गर्न सकेन । यति ठूलो योगदान दिएका प्रवासी नेपाली युवाहरूप्रति सरकार झन्  गैरजिम्मेवार बन्यो भन्ने कुरा कोरनाको बेला अलपत्र परेका नेपालीहरूलाई उद्धार गर्न सरकारले देखाएको लाचारीपनले पुष्टि गर्याे । बल्लतल्ल चार्टर उडान गरे पनि त्यसमा पनि चर्काे भाडा उठाएर कमिसन र भ्रष्टाचारमा चुर्लुम्म डुबेको तीतो भोगाइले प्रवासी नेपालीहरूको मन नमज्जाले कुँडिएको छ । 

हामी प्रवासमा रहेका लाखौँ नेपालीहरू सरकारले संविधानको मर्म र जनचाहनाविपरीत संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गलत र निन्दनीय छ भन्ने छ । यो कार्यमा संलग्न जोकोहीलाई इतिहासले क्षमा गर्ने छैन । यसरी पार्टीहरूका आन्तरिक खिचातानीले हाम्रा भविष्यमाथि खेलवाड गर्ने अधिकार छैन भन्ने कुरा सरकार र राजनीतिक पार्टीहरूलाई भन्न चाहन्छौँ । केही गर्न नसक्ने भ्रष्ट र  लाचार सरकारभन्दा ताजा जनादेशमा जाने विकल्प देऊ भनेर जनताले भन्ने हो । तर यहाँ त्यस्तो भइरहेको छैन । आफू अल्पमतमा परे त्यसैले संसद् भङ्ग गरेर चुनावमा जान्छौ भन्ने कुरा गलत हो । 

आफ्नै पार्टीको एकता बचाउन नसक्नु, पाएको  जनमतको कदर गरेर  ५ वर्ष राम्रोसँग सरकार चलाउन नसक्नु, एकार्कालाइ दोष  दिँदै अझै दुइतिहाई ल्याउँछौ र काम गर्छाैं भनेर भाषण ठोक्दै हिँड्नु योभन्दा लज्जास्पद केही हुन सक्दैन । तपाईंको नेतृत्वको सरकारले  देशको समृद्धिका लागि मात्र हैन हामी विदेशमा श्रम गरिरहेका लाखौँ युवाहरूका लागि केही गर्न सकेन भन्दा उल्टो जाइलाग्ने प्रधानमन्त्रीज्यू  यो दूरदराज मरुभूमिबाट तपाईंको  लाज छोपिदिने अरू केहि पठाउन नसके पनि देशको लाज छोपिदिने  रेमिट्यान्स चाहिँ महिनै पिच्छे पठाउनेछौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.