अदालतलाई तर्साउने काँग्रेस चरित्र होइन
प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक अन्योलले अब के होला ? भन्ने आम जिज्ञासा र कौतुहल जताततै देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको कदम असंवैधानिक हो भन्नेमा प्रायः सबै पार्टी र नागरिक समाज स्पष्ट छन् । देशको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली काँग्रेस पनि ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक हो भन्दै अहिले आन्दोलनमै छ ।
प्रधानमन्त्री ओलीले संसदको आयु दुई वर्ष बाँकी रहँदै विघटन गरेका हुन् । व्यवस्था विघटन गरेका होइन । काँग्रेसभित्र पनि संसद् विघटनको निकास के हुने भन्ने विषयमा पार्टीको औपचारिक निर्णयभन्दा बाहिर गएर नेतृत्वलाई तेजोबोध गर्ने काम एउटा समूहबाट हुन थालेको छ । पार्टीभित्र राजनीतिक घटनाक्रमहरूलाई हेर्ने फरक फरक दृष्टिकोण हुन सक्छन् । काँग्रेसमा सबैका विचार सुन्ने र लोकतान्त्रिक विधिमार्फत धारणा बनाउने परम्परा छ । संसद् विघटनपछिको राजनीतिक परिस्थितिलाई विश्लेषण गर्न र पार्टीको धारणा बनाउन पनि काँग्रेसले त्यही लोकतान्त्रिक विधि अपनायो । केन्द्रीय समिति बैठक डाकेर सबैको दृष्टिकोण सुनेर सभापति शेरबहादुर देउवाले ओलीको संसद् विघटनको कमद असंवैधानिक हो भन्ने सर्वसम्मत निर्णय गराए । यसमा कुनै पनि केन्द्रीय सदस्यको ‘नोट अफ डिसेन्ट’ छैन । त्यस कदमविरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम पनि घोषणा गरेर अहिले काँग्रेस तेस्रो चरणको आन्दोलनमा छ ।
सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यतालाई असर गर्ने गरेर हामीले धारणाहरू राख्न हँुदैन भनेका छन् । त्यही पेरिफेरिमा उहाँले संसद् विघटनका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनका आधारमा जुन फैसला हुन्छ त्यसलाई मानेर जानुपर्छ र अदातललाई प्रभाव पार्नेगरी हामीले धारणा राख्न हुन्न भन्दै आउनु भएको छ । देउवाको यो धारणा लोकतान्त्रिक पद्धति बलियो बनाउने धारणा हो । हामीले अदालतलाई यो फैसला गर भनेर निर्देशन गर्न हुन्न । अदालतलाई निर्देशन गर्ने र प्रभावमा पार्ने हो भने लोकतन्त्रको जग हल्लिन्छ भन्ने सभापतिको धारणा हो । तर सभापतिको यही धारणालाई लिएर केही युवा नेताहरू अहिले नियोजित रूपमै लागेको देखिन्छ ।
नेपाली काँग्रेसका केही युवा नेताहरूले दिएको अभिव्यक्तिले लोकतान्त्रिक पार्टीको कार्यकर्ताको सीमा नाघेको छ । युवा नेताले पार्टीमा जीवनभर सङ्घर्ष गरेका आदरणीय नेताहरूलाई सङ्केत गरेर ‘लढ्ढु काँग्रेस’ भनेर टिप्पणी गरे त्यो अलोचनायोग्य र अहमताको परकाष्टा हो । के अब काँग्रेस नेताहरूको मूल्याङ्कन गर्ने निका लगायतका केही युवा नेता हुन् ? काँग्रेसमा उमेरभन्दा बढी समय जेलनेल र सङ्घर्ष गरेका नेताहरू छन् । पार्टीका नेताहरूले अदालतको आदेश मान्छु भन्दा कसरी लढ्ढु काँग्रेस भए ? त्यसो भए तपाईं कस्तो काँग्रेस ?
पार्टीको लाइनविपरीत बोल्ने र पार्टीले ‘मलाई कारबाही गरे गरोस्’ भन्ने तथा अदालतविरुद्ध बोल्ने अनि मानहानिको मुद्दामा ‘मलाई पनि पूर्वन्यायायाधीश जस्तै बोलावट होस्’ भन्ने भनाइ कुन नियतबाट आएको हो ? न्यायाधीशहरूलाई ‘चार किल्लाभित्र बसेर दायाँबायाँ, तलमाथि कतै पनि नहेरी संसद् पुनस्र्थापन गर’ भन्न लोकतन्त्रवादीलाई कुन सिद्धान्त र आदर्शबाट मिल्छ ?
आफूलाई बीपी कोइरालाको कार्यकर्ता हुँ भन्नेले बीपीले स्वतन्त्र न्यायालयका लागि गरेको सङ्घर्ष भुलेका छन् । बीपी कोइरालाले निरङ्कुश शासकलाई चुनौती दिएका हुन्, अदालतलाई कहिल्यै दिएनन् । अदातललाई सार्वजनिक रूपमा चुनौती दिने व्यक्ति बीपीको कार्यकर्ता हुन सक्दैन । त्यो व्यक्ति एउटा कम्युनिस्ट चरित्र बोकेको गैरकाँग्रेसको कार्यकर्ता हुन सक्छ । युवा नेताले ‘संविधान मैले बनाएको हो, मैले गरेको व्याख्या अदातलले मान्नुपर्छ’ भन्ने सङ्केत पनि गर्नुभयो । तर ‘मैले बनाएको संविधान हो, यस्तो फैसला गर्नुस्’ भनेर अदालतलाई निर्देशन संविधानले नै निषेध गरेको छ । संविधानमा विषयमा आउने विवादको अन्तिम व्याख्या गर्ने अदालत सर्वोच्च अदालतको संवैधानिक इजलास हुनेछ भनेर पनि लेखेको छ । त्यहाँ कुनै पार्टीको केन्द्रीय समिति वा कुनै व्यक्तिलाई अन्तिम व्याख्या गर्ने अधिकार दिएको छैन ।
पार्टीका सिद्धान्त हुन्छन्, विधि विधान हुन्छन् र अनुशासन पनि हुन्छ । कुनै नेतालाई आफू साह्रै नै लोकप्रिय छु भन्ने लाग्छ भने नयाँ पार्टी खोलेर अध्यक्ष हुने अधिकार पनि छ । चुनाव जितेर प्रधानमन्त्री बन्ने अधिकार पनि छ । तर काँग्रेसभित्र बसेर काँग्रेसलाई नै सिध्याउने र कम्युनिस्टलाई फाइदा हुने काम गर्नु भने कदापि राम्रो होइन । एउटा असल नेताले नैतिकता छ भने ‘लढ्ढु काग्रेस’ घोषणा गर्नेले त्यसकै मनोनीत केन्द्रीय सदस्यमा बसिरहने कि भन्नेमा पनि सोच्नुपर्छ ।
काँग्रेसको सिद्धान्त र संस्कारमा अदालतलाई प्रभावमा पार्ने र न्यायाधीशलाई चुनौती दिने भनेर कहाँ लेखेको छ ? पार्टी निर्णयविपरीत बोलेर लोकतान्त्रिक प्रणाली नै खलबल्याउनेगरी अदालतलाई चुनौती दिने ऊर्जा कसैलाई कहाँबाट आउँछ ? तपाईंहरूमाथि यो प्रश्न अब हरेक काँगे्रसका कार्यकर्ताले गर्ने छन् ।
जुन पार्टीमा राजनीति गरिरहेका छन् त्यो नेपाली काँग्रेस इतिहास, सिद्धान्त, सङ्गठन, सङ्घर्ष गरेका नेता र वर्तमानप्रतिको जिम्मेवारीको समष्टिगत स्वरूप हो । यो पार्टीका जिम्मेवार नेताले व्यक्तिगत स्वार्थमा रमाएर क्षणिक लाभ लिँदैन । चर्किएर भाषण गर्दा ताली खानुहोला, अनलाइनमा हेडलाइन समाचार बन्नु होला तर त्यसले दीर्घकालमा लाभ हँुदैन, तपाईंहरू र समग्र पार्टीलाई पनि ।
नेपाली काँग्रेस गौरवमय इतिहास बोकेको राजनीतिक पार्टी हो । अहिलेको नेतृत्वमा बसेका नेताहरू ६० वर्षदेखि राजनीति गर्दै आएका नेता हुन् । कसैको नियोजित प्रहारबाट उनीहरूलाई असर गर्दैन । लढ्ढु काँग्रेस वास्तवमा को हो ? विगतले पनि देखाएको छ र भविष्यले पनि देखाउला ।
तर नेपाली काँग्रेसमा इतिहास र अघिल्लो पुस्ताका नेताहरूप्रति सामान्य आदरभाव पनि नदेखाउने सधैँ नेतृत्वको विरोधमा रमाउने, छलछामको बाटो र ‘हिरोइज्म’को राजनीति हाबी हुनु दुःखद हो । मबाहेक अरू नेता नै होइनन्, काँग्रेस भनेकै म हो, मैले मात्रै सबै जानेको छु, बुझेको छु, अरू सबै बज्रस्वाँठ हुन भन्ने खालका प्रवृत्ति पछिल्लो समय केही युवा नेताहरूमा हाबी भएको देखिन्छ । त्यसलाई हामी सबैले रोक्नुपर्छ । युवा नेताहरूभन्दा अघि राजनीतिमा लागेकाले के पाएका छन् ? युवा नेताहरू तपाईंहरूले के पाउन बाँकी छ ? यसको समीक्षा गरौँ त ?
जहाँसम्म वर्तमान राजनीतिक निकासको प्रश्न छ यसबारे काँग्रेस स्पष्ट छ । संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक छ । यसविरुद्ध काँग्रेस तेस्रो चरणको आन्दोलनमा छ ।
तर सम्मानित स्वतन्त्र न्यायालयले गर्ने निर्णय काँग्रेसलाई मान्य हुन्छ । अदालतलाई प्रभाव पार्ने र धम्क्याउने कुनै पनि क्रियाकलाप विधिको शासनमा विश्वास गर्ने काँग्रेसलाई मान्य छैन । काँग्रेसको आधिकारिक धारणा र निर्णय यही हो । कसले के बोले, किन बोले र कसको इसारामा बोले भन्ने कुराले काँग्रेसको धारणामा कुनै फरक पार्दैन ।
लेखक बस्नेत नेपाल तरुण दलका सभापति हुन् ।