शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संसद पुनःस्थापना भएर प्रधानन्त्री बन्ने सपना नदेखे हुन्छः  प्रधानमन्त्री ओली

मङ्गलबार, २० माघ २०७७, ०० : ०१
मङ्गलबार, २० माघ २०७७

सिरहा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा संसद पुनःस्थापना नहुने बताएका छन् । सिरहा सदरमुकाममा आज आयोजित तत्कालिन नेकपा एमालेका नेता सहिद हेमनारायण यादवको १७ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना गराएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुलाई त्यो सपना नदेख्न चेतावनी दिए ।

नेकपा केपी ओली पक्षका अध्यक्ष समेत रहेका उनले भने–‘संसद पुनःस्थापना गरी विभिन्न तिगडम गर्ने, जोडजाड गर्ने, सांसद खरिद बिक्री गरेर र पार्टी फूटाएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुको सपना पुरा हुदैन ।’  प्रधानमन्त्री ओलीले तोकिएकै सयमा निर्वाचन हुने बताए । उनले भने- ‘ तोकिएकै समयमा निर्वाचन हुन्छ । प्रदेश नं. २ मा पहिचो चरण अन्तर्गत २०७८ बैखाख १७ मै चुनाव हुन्छ ।’ उनले पार्टी कार्यकर्तालाई चुनावको लागि तयारी गर्न निर्देशन समेत दिए । उनले भने, ‘पार्टी एकतापछि ३ वर्षदेखि पार्टी÷कार्यकर्ताहरु अकर्मण्यताका शिकार भएका थिए, अब हामी स्पष्ट भइसकेका छौं, सक्रिय भएका छौं, अब आफ्नो योजनासहित चुनावमा जान्छौं ।’

ओलीले चुनाव हुँदैन, संसद पुनःस्थापना हुन्छ भन्नेहरुको भ्रममा नफस्न पनि कार्यकर्तालाई आव्हान गरे ।  ओलीले ‘प्रचण्ड–माधव पक्षको आन्दोलनप्रति लक्षित गर्दै अब रक्तपातपूर्ण आन्दोलनमा जनताले साथ नदिने दाबी गरे ।  आफूहरु जहिले पनि देश विकास, समृद्धि र सुशासनको पक्षमा रहेको बताउँदै ओलीले अबको २ वर्षभित्र देशले विद्युत अभाव झेल्नु नपर्ने बताए । 

उनले आफ्नो सरकारको पालामा विकासका धेरै गतिविधिहरु भएको भन्दै अब चाँडै सुनकोशी कमला डाइभर्सन शिल्यान्यास हुने पनि सुनाए । उनले भने, ‘तरार्ईका भूमिलाई सिञ्चाईको जरुरी छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ, अब यहाँको भूमि सिञ्चाईको लागि चाँडै सुनकोशी कमला डाइभर्सन शिल्यान्यास हुन्छ ।’

स्मृतिसभामा मन्त्री टोपबहादुर रायमाझीले आफू विकास, समृद्धि, शान्ति र सुशासनको पक्षमा रहेको र त्यसको लागि प्रधानमन्त्री ओली उपयुक्त पात्र भएको जिकिर गरे ।  कार्यक्रममा मन्त्रीहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, जुली महतो, नेता रघुवीर महासेठ लगायतको उपस्थिति रहेको थियो । 

प्रधानमन्त्री ओलीले हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने क्रममा प्रचण्ड–माधव पक्षका युवा विद्यार्थीले कालोझण्डा देखाएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शन गर्ने करिव १३ जनालाई  प्रहरीले नियन्त्रणमा लिएर  ५ घण्टापछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप