संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् । सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन् ।
चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उनको भनाई छ । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भए भने विदेशी शक्तिकेन्द्र हरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाई छ ।
समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाए । आफुहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भएपनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाई छ । यो संविधानमा भएका संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धि पनि गुम्ने भएकाले यो संविधानलाई टेकेर अघि बढ्नुपर्ने पनि उनले बताए ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताए । यसको परीक्षण गर्ने थलो अब अदालत भएकाले अदालतले यसको बैधानिकता, कानुनी पक्ष, औचित्य र सान्र्दभिकता सबै सर्वोच्च अदालतले निरुपण गर्ने उनको भनाई छ । सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्नेमा उनको विश्वास छ ।
नेकपा प्रचण्ड–माधव पक्षका नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले पार्टी सँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए । अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले फट्याई गरेको बताए ।
पूर्व सभामुख दमननाथ ढुंगानाले जनताको बलिदान र संघर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधिसभा विघटन भन्दा अर्को नभएको जिकिर गरे । प्रधानमन्त्री ओलीले शासकीय दम्भ देखाएको उनको भनाई छ । संसद पुनःस्थापना गर्नु आवश्यक रहेको उनको भनाई छ ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत, अल्पमतको कुनै अर्थ नरहेको बताए । प्रधानमन्त्री ओलीलाई एकलौटी चाहिएको उनको भनाई छ । प्रधानमन्त्री ओलीसँग आफुबाहेक अरुलाई कुर्सी नछोड्ने राजनीतिक अभिष्टता रहेको पनि उनले बताए । कार्यक्रममा बोल्दै सबै वक्ताहरुले संसद विघटनको कदमप्रति विरोध जनाउँदै पुनःस्थापनामा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी