शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सभामुखको निर्णयप्रति राष्ट्रियसभाका अध्यक्षको आपत्ति (भिडियो)

सोमबार, १९ माघ २०७७, १६ : २५
सोमबार, १९ माघ २०७७

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संबैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संबैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ति जनाएका छन् ।  सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुखको अधिकारक्षेत्र र पत्रमा प्रयोग भएको व्यहोराप्रति आपत्ति जनाएका छन् । संघीय संसद अन्तरगत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उनको तर्क थियो । उनले सभामुखको एकल निर्णयले संघीय संसदको अर्को सदन राष्ट्रियसभाको गरिमामा प्रहार भएको बताए ।

उनले भने– ‘संघीय संसद तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालन समेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहित भएको भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिका सम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार भएको छ ।’

उनले नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०७५ ले संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नगरेको जिकिर समेत गरे । उनले सुनुवाईका लागि परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाई बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानूनी व्यवस्था नभएको बताए ।

उनले भने– ‘म समेत सहभागी भै निर्णय भएको संवैधानिक परिषद्का सिफारिसहरु विधि सम्मत ढंगले संसदीय सुनुवाई समितिलाई उपलब्ध गराइएको हो । प्रतिनिधिसभा विघटनपूर्व संघीय संसदका महासचिव एवं सुनुवाइ समितिका सचिवलाई सिफारिसपत्रहरु उपलब्ध भएको र प्रक्रियामा रहेको अवस्थामा हठात् सिफारिसपत्रहरु नेपालको संविधान र संघीय संसदके संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ विपरित सभामुखको एकल निर्णयले फिर्ता पठाएकोमा गम्भीर आपत्ति प्रकट गर्दछु ।’

उनले दुई सदनात्मक व्यवस्थामा दुवै सदन बराबरी रहेको र राष्ट्रियसभा नै छैन जस्तो आइतबार सिफारिस फिर्ता पठाउने काम भएको र त्यसमा राष्ट्रियसभाको संलग्नता नरहेको स्पष्ट पारे । उनले भने– ‘अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति हो । संसदीय सुनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी गलत प्रक्रियामा संघीय संसदको माथिल्लो सदन(राष्ट्रियसभा) संलग्न नरहेको जानकारी गराउँछु । संघीय संसद संयुक्तसभा भएकाले दुवै सदन बराबर हो । म र सभामुख बराबर हो । राष्ट्रियसभालाई नै छैन जस्तो गरेर पत्राचार आएकाले मैले स्पष्ट पारेको हुँ ।’

आइतबार संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आफू निहित अधिकार प्रयोग गरि परिषद्ले गरेको पदाधिकारी नियुक्ति सम्बन्धी सक्कलै कागजात परिषद् सचिवालयमा नै फिर्ता पठाएको जानकारी गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप