‘ब्रिटिस कलेजका विद्यार्थीले बेलायतमै पढेका विद्यार्थीसरह वर्किङ र आवासीय भिसाको सुविधा पाउँछन्’
ब्रिटिस कलेज बेलायती कलेजको सम्बन्धनमा नेपालमा सञ्चालन भइरहेको कलेज हो । सो कलेजले नेपालमा सन् २०१३ देखि आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्यान्ड (यूडब्ल्यूई) र लिड्स ब्याकेट युनिभर्सिटी (एलबीयू) को सम्बन्धनमा यस कलेजमा हाल म्यानेजमेन्ट, इन्फर्मेसन टेक्नोलोजी र हस्पिटालिटीसँग सम्बन्धित विषयमा स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालन भइरहेका छन् ।
कोभिड–१९ महामारीपछि नेपालको शैक्षिक क्षेत्र निकै प्रभावित भयो । अहिले अधिकांश शैक्षिक क्षेत्र फेरि खुल्न थालेका छन् । यस्तो अवस्थामा यो कलेजले आफ्ना शैक्षिक गतिविधिलाई कसरी बढाइरहेको छ ? अहिले बेलायत सरकारले बेलायती विश्वविद्यालयका विद्यार्थीलाई अध्ययनपछि २ वर्ष पीएसडब्ल्यू भिसासम्बन्धी नीति अघि सारेको छ । यसबाट ब्रिटिस सम्बन्धन प्राप्त कलेजका विद्यार्थीले के फाइदा पाउँछन् ? भन्ने विषयमा केन्द्रित भई कलेजका एसोसिएट डिन अरुण जोशीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
कोभिड महामारीपछि हामी न्यू–नर्मलको अवस्थामा छौँ । शिक्षा क्षेत्र त कोभिडबाट अझै धेरै प्रभावित भयो । शिक्षा क्षेत्रकै एउटा संस्थाको रूपमा ब्रटिस कलेज कति प्रभावित भयो र अहिले कस्तो अवस्था छ ?
कोभिडका कारण सबै क्षेत्र प्रभावित हुँदा शिक्षा पनि यसबाट अछुतो हुन सकेको छैन । कोभिडका कारण जसरी समग्र क्षेत्र प्रभावित भयो, यसले नयाँ पद्धतिको विकास पनि भयो । अहिले प्रायजसो सबै स्कुल कलेजले नयाँ टेक्नोलोजी प्रयोग गरेका छन् ।
हामीले पनि कोभिडको प्रभाव देखिन थालेपछि मार्चदेखि नै हामी अनलाइनमा गयौँ । हाम्रो ब्याक–इन्डमा युनिभर्सिटी अफ बेस्ट अफ इङ्ल्यान्ड (यूडब्ल्यूई) र लिड्स ब्याकेट युनिभर्सिटी (एलबीयू) रहेका छन् । कोर्स अफ कन्टेन्ट र टेक्नोलोजीमा हामी पहिलेदेखि नै अगाडि छौँ । त्यसकारण हामीले मार्चदेखि नै सजिलैसँग अनलाइन क्लास सुरु गर्न सक्यौँ । योबीचमा मात्रै करिब ४ सय विद्यार्थीको ग्राजुएट भइसकेका छन् । त्यसैले कोभिडकै बीचमा पनि हाम्रो एजुकेसन निरन्तर नै भइरह्यो ।
अहिले चाहिँ यो अवस्था सामान्य बन्दै गएको जस्तो देखिन्छ । सरकारले पनि अब भौतिक रूपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न सकिन्छ कि भनेर प्रक्रिया अघि बढाएको छ । हामी पनि आफ्ना विद्यार्थीहरूलाई भौतिक र अनलाइन दुवै माध्यमबाट पढाउने व्यवस्था गर्दै जाने तयारी गरेका छौँ । अनलाइन कक्षालाई निरन्तर राख्ने तर कुनै प्राक्टिकल, वर्कसप, एक्सपेरिमेन्ट वा केस–स्टडी गर्नुपर्यो भने भौतिक रूपमै बोलाएर कक्षा सञ्चालन गर्ने सोच बनाएका छौँ ।
अनलाइन कक्षा मार्चदेखि सुरु भयो त भनिहाल्नुभयो । भौतिक उपस्थितिमा भइरहेको पठनपाठनलाई एकैचोटि अनलाइनमा लैजाँदा कति अप्ठ्यारा भए ? यसले विद्यार्थीको व्यवहार र सिकाइमा कस्तो प्रभाव पार्यो ?
अप्ठ्यारो त अलिकति भयो । नयाँ प्रविधि प्रयोग गर्न मान्छेलाई समय लाग्छ । तर अरूको तुलनामा हाम्रा विद्यार्थी र प्रशिक्षकहरू चाँडै नै प्रविधिसँग अभ्यस्त हुनुभयो ।
सुरुमा हामीलाई विद्यार्थीले यसलाई कसरी लिन्छन् भन्ने जोखिम थियो । त्यसैले अनलाइन कक्षा सुरु गर्नुअघि एक साता हामीले यससम्बन्धी ट्रेनिङ राख्यौँ । विद्यार्थीले जानेका कुरा एकआपसमा सेयर गर्ने उपयुक्त अभ्यास के हुनसक्छ भनेर विश्वविद्यालयसँग पनि हामीले सुझाव लियौँ । हामीले भन्दा अघि हाम्रा विश्वविद्यालयले यसबारे तयारी सुरु गरिसकेका रहेछन् । उहाँहरूको अनुभव पनि हामीले लियौँ ।
विद्यार्थीका घरमा टेक्नोलोजी नमिल्ने, कसैको इन्टरनेटमा समस्या हुने कारणले सुरुको १, २ हप्ता चाहिँ हामीलाई अलिकति गाह्रो भयो । तर पछि विद्यार्थीहरूले झनै उत्साहित भएर कक्षा लिने वातावरण बन्यो । योबीचमा आएका समस्या पनि पहिचान गर्दै समाधान गर्दै गयौँ । अहिले अनलाइन क्लास निकै प्रभावकारी भइसकेको छ ।
तपाईंले कलेजमा भर्ना भएका विद्यार्थीको शैक्षिक वातावरणको कुरा गर्नुभयो । तर नयाँ विद्यार्थी आउने क्रममा यसले कति प्रभाव पार्यो ? यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?
त्यसमा पनि हामीले प्रविधिकै प्रयोग गर्यौं । अहिलेको प्रविधि कस्तो छ भने यसले भौतिक रूपमा उपस्थित भएर गरिने काउन्सिलिङभन्दा बढी प्रभावकारी भइरहेको छ । हामीले विभिन्न प्लेटफर्मको प्रयोग गरेर प्लस–टु सकेका तथा परीक्षा दिएर बसेको विद्यार्थी र अन्य अडियन्ससम्म हामी पुग्यौँ । यो बीचमा हामीले स्वास्थ्यको विषयमा, नेपालको अर्थतन्त्रको विषयमा वेबमिनार सेसन पनि सञ्चालन गर्यौं । यीबाहेक पनि विद्यार्थीलाई अभिमुखीकरण गर्दै गयौँ । व्यवस्थापन पढ्दा के हुन्छ, आईटी पढ्दा के हुन्छ ? जस्ता विषयमा हामीले सुझाव दियौँ । यसमा हामीले निकै राम्रो प्रतिक्रिया पनि पायौँ । यसबाट विद्यार्थीसँग झनै नजिक भएको अनुभव गरिरहेका छौँ ।
कोभिड सुरु भएपछिको सेसनमा सङ्ख्यात्मक रूपमा कति विद्यार्थी थपिए ?
अहिले भर्ना भर्खरै सुरु भएको छ । सरकारले कक्षा १२ को रिजल्ट गरेको थिएन । हामीले प्लसटू दिएर बसेका विद्यार्थीलाई उनीहरू कक्षा १२ पास भए मात्रै भर्ना हुन पाउने सर्तसहित अहिले पनि भर्ना लिइरहेका थियौँ । किनकि युरोप र नेपालको शैक्षिक क्यालेन्डर अलि नमिलेका कारण यसपालिको भर्नामा असर चाहिँ परेकै छ । बेलायत क्यालेन्डर अनुसार हाम्रो भर्ना सुरु हुने समय सेप्टेम्बर र जनवरीमा हो । यसअघि हामीले सेप्टेम्बरमै भर्ना लिने गरेका थियौँ । यो वर्ष पनि स्नातकोत्तर तहको केही भर्ना सेप्टेम्बरमै लियौँ । केही भर्ना भने जनवरी सेसनका लागि लिएका छौँ । आशा गरौँ, प्लसटूको रिजल्ट चाँडै नै हुन्छ र सहज रूपमा अगाडि जान्छ । सङ्ख्याका हिसाबले पोहोरभन्दा यसपालि अलिकति कम नै छ । यद्यपि रिजल्ट नभएकाले अहिले नै यति नै भनिहाल्न सक्ने अवस्था चाहिँ छैन ।
तपाईंहरू त ब्रिटिस युनिभर्सिटीबाट सम्बन्ध प्राप्त कलेज । नेपाली विश्वविद्यालयको सम्बन्धन र बेलायती विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजको शैक्षिक कार्यक्रममा कति फरक हुन्छ ? यसबारे केही बताइदिनुस् न !
यसमा धेरै कुरा छन् । मुख्यतया पाठ्यक्रमको डिजाइन र विकास कसरी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । बेलायती विश्वविद्यालयले पाठ्यक्रम निर्माण गर्दा औद्योगिक लगानी, विद्यार्थी तथा अरू लगानीकर्ताको माग र सुझावलाई आधार लिएर गर्छ । यो प्रत्येक ३ वर्षमा पुनः परिमार्जन गरिन्छ । हामीले त्यही पाठ्यक्रमलाई प्रयोग गर्ने भएकाले यसले बजारको मागलाई सम्बोधन गर्ने भयो ।
त्यस्तै हाम्रो पाठ्यक्रम आफैमा अनुसन्धनमा आधारित हुन्छ । विद्यार्थीलाई प्रत्येक विषयमा आफै अनुसन्धान गर्न प्रेरित गर्ने खालको पाठ्यक्रम बनाइएको हुन्छ । हामीले नेपालमै बसेर त्यो अभ्यास गरिरहेका छौँ । हाम्रो पाठ्यक्रममा स्थानीय विश्वविद्यालयजस्तो परीक्षा हुँदैन । हाम्रो सबैजसो परीक्षा प्रोजेक्ट–बेस्ड हुन्छ । प्रत्येक विषयमा केस–स्टडी हुन्छ । त्यस्तो स्टडीलाई कसरी समालोचना र विश्लेषण गर्ने भन्ने हामी सिकाउँछौँ । सैद्धान्तिक विषयलाई कसरी बुझ्ने र व्याख्या गर्ने भन्नेमा हामी केन्द्रित हुन्छौँ ।
नेपालका स्थानीय विश्वविद्यालयको पाठ्यक्रम परीक्षा आधारित छ, त्यो हाम्रोमा छैन । प्रस्तुतीकरण, लिखित परीक्षा, ग्रुप प्रोजेक्ट लगायतमा हाम्रो सन्तुलन हुन्छ । ताकि एउटा ग्राजुएट विद्यार्थीलाई चाहिने सबै क्षमताको विकास हुन्छ । जबकि यहाँको विश्वविद्यालयमा परीक्षा अघि मात्रै पढ्ने र परीक्षाका लागि मात्रै पढ्ने अवस्था छ । सामान्य हेर्दा उस्तै लागे पनि बेलायतको शिक्षा इन–डेफ्थ हुन्छ ।
नेपाली विश्वविद्यालयको पाठ्यक्रम कुनै किताबको रिफ्रेन्स लिएर बनाइएको हुन्छ । यसमा समयसापेक्ष रूपमा परिवर्तन भएको हुँदैन । हाम्रो पाठ्यक्रममा धेरै सन्दर्भ सामग्री हुन्छन् । यसले गर्दा विद्यार्थीहरूले ठूलो दायरामा अनुसन्धान गर्ने अवसर पाउँछन् ।
अहिले ब्रिटिस कलेजले कुन-कुन प्रोगाम सञ्चालन गरिरहेको छ ?
अहिले बिजनेस, इन्फर्मेसन टेक्नोलोजी र हस्पिटालिटी विषयसँग सम्बन्धित कार्यक्रम सञ्चालन भइरहेका छन् । बिजनेस एन्ड म्यानेजमेन्ट र इन्फर्मेसन टेक्नोलोजीमा अहिले अन्डरग्याजुएट र मास्टर्स दुवै कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यस्तै हस्पिटालिटीमा नयाँ अन्डरग्राजुएट प्रोग्राम सञ्चालन भइरहेको छ ।
हामी बेलायती विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेका कलेजमध्येकै नम्बर वान हुन चाहन्छौँ । हामी हाम्रा विद्यार्थीलाई बेलायत नगईकनै स्थानीय लागतमा विश्वस्तरीय विश्वविद्यालय र गुणस्तरको शिक्षा लिने अवसर दिलाउन चाहन्छौँ । त्यसका लागि प्रोजेक्ट म्यानेजमेन्टसहित केही नयाँ कोर्सहरू पाइपलाइनमा छन् । भविष्यमा हामीकहाँ आउने विद्यार्थीले रुचाएको कोर्सहरू हामीले पढाउनसक्ने बन्ने लक्ष्य रहेको छ ।
ब्रिटिस कलेजमा ग्राजुएट र पोस्ट ग्राजुएट गरेका विद्यार्थीले पढाइपछि के गरिरहेका छन् ? देशभित्र कति छन्, बाहिर कति गएका छन् ? उनीहरूको वृत्तिविकासको अवस्था कस्तो छ, यसबारे केही अध्ययन गर्नुभएको छ ?
यसबारे हामीलाई पनि चिन्ता छ । हाम्रा विद्यार्थीहरू पास भइसकेपछि कहाँ जान्छन् र जागिर गर्दा कस्तो खालको काम गर्छन् भनेर हामीले समय समयमा सर्भे गर्ने गरेका छौँ । हामीले सन् २०१३ देखि ग्राजुएट प्रोग्राम सञ्चालन गरिरहेका छौँ । प्रत्येक वर्ष १ सयदेखि २ सय जनासम्म हाम्रो कलेजबाट पास–आउट हुँदै आएका थिए । यो वर्ष यो क्रम अझै बढी छ ।
हाम्रो अनुभवमा हाम्रो कलेजमा काम गरेका विद्यार्थीहरू एक, दुई वर्ष नेपालमै काम गर्छन् । कोही विद्यार्थी ब्याचलर्स सकेको एक वर्षभित्र मास्टर्सका लागि भर्ना हुन्छन् वा विदेशमा जान्छन् ।
अहिलेको हाम्रो तथ्याङ्कअनुसार करिब ५० प्रतिशत विद्यार्थी मास्टर्सका लागि विदेश जाने गरेका छन् । करिब १० प्रतिशत विद्यार्थी यहीँ कलेजमा भर्ना हुने गरेका छन् । केही स्वदेशकै विभिन्न क्षेत्रमा समेत भर्ना भइरहेका छन् । त्यसका लागि हाम्रो ‘प्लेसमेन्ट एन्ड इन्टर्नसिप’ भन्ने छुट्टै कम्पनी पनि छ । यहाँबाट पास–आउट भएका विद्यार्थीलाई हामीले जब–प्लेसमेन्टको सुविधा पनि दिने गरेका छौँ ।
यद्यपि हामीले विद्यार्थीलाई भन्दै आएका छौँ, ‘तिमीहरूले आफूलाई जागिरे मात्रै नसोच, आफै केही नयाँ सिर्जना गर ।’ यसका लागि हामीसँग केही पूर्वाधार पनि छन् । बिजनेस इन्फर्मेसन सेन्टर हामीसँग छ । विद्यार्थीले कलेज पढ्दै गर्दा भावी दिनमा के गर्ने भन्ने योजना बनाउनसमेत हामीले सिकाइसकेका हुन्छौँ ।
कुनै विद्यार्थीले नेपालमा एउटा कोर्स गरेर माथिल्लो कोर्सका लागि विदेशी विश्वविद्यालयमा जान चाहन्छ भने ब्रिटिस युनिभर्सिटीको सम्बन्धन भएका यो कलेजमा पढ्दा र नेपाली विश्वविद्यालयको सम्बन्धन भएको अरू कलेजमा पढ्दाको फरक चाहिँ कति हुन्छ ?
हामी ब्रिटिस युनिभर्सिटीको फ्रेन्चाइज पार्टनर हौँ । यसको अर्थ हाम्रा सबै संरचना बेलायती मोडलकै हुन्छन् । कोर्सदेखि लिएर पठनपाठन प्रणाली, क्यालेन्डर, एसेसमेन्ट सबै सोहीअनुसार छ । भन्दाखेरि विद्यार्थीलाई यो कलेजमा शिक्षा लिइसकेपछि विदेशका कुनै पनि कलेजभित्र कुनै पनि संरचनागत फरक हुँदैन । कलेजभन्दा बाहिरको अवस्था फरक हुन सक्ला । तर कलेजभित्र कुनै पनि फरक हँुदैन ।
जबकि अरू विश्वविद्यालयमा यस्तो हुँदैन । मैले अघि पनि भनेँ, यहाँ परीक्षामा आधारित शिक्षा प्रणाली छ । परीक्षाकै लागि पढ्ने प्रवृत्ति छ । पाठ्यक्रमहरू पनि समयसान्दर्भिक छैनन् । यसले गर्दा अरू विश्वविद्यालयका विद्यार्थीका लागि विदेशमा गएर शिक्षा लिँदा कलेज वा विश्वविद्यालयभित्रको वातावरणमै ठूलो भिन्नताको अनुभव गर्नुपर्ने हुन्छ ।
केही दिनअघि तपाईंंहरूले बेलायत सरकारको नीतिसँग जोडेर वर्किङ भिसा र आवासीय भिसाको बारेमा आफ्नो शैक्षिक कार्यक्रमको प्रचार गर्नुभएको थियो । त्यो कस्तो किसिमको कार्यक्रम हो ?
तपाईंले पोस्ट स्टडी वर्क भिसा (पीएसडब्ल्यू) भिसाको बारेमा कुरा गर्नुभएको होला । तपाईंले भनिहाल्नुभयो यो बेलायत सरकारले गरेको नीतिगत निर्णय हो । यसअनुसार बेलायतको विश्वविद्यालयबाट पोस्ट ग्राजुएट वा अन्डर–ग्राजुएट गरेमा २ वर्षको पोस्ट स्टडी वर्क भिसा दिने नियम बनाएको छ । यो नियमबाट हाम्रो कलेजको विद्यार्थीले फाइदा लिन सक्छन् । हाम्रो कलेजमा २ वर्ष अध्ययन गरिसकेपछि ग्रेड ट्रान्सफर गरेर बेलायत जाने र त्यहाँ गएर थप २ वर्ष त्यहाँ ग्राजुयसन गरेपछि पीएसडल्यूको लागि भिसा एप्लाई गर्न पाउँछन् । यो अन्डरग्राजुएट र पोस्ट ग्राजुएट दुवै केसका लागि छ ।
यहाँको स्थानीय विश्वविद्यालयबाट ग्राजुएट गरेर फेरि ग्राजुएट नै पढ्न जाने गरेको हामी सुन्ने गर्छौं । तर यो कलेजमा पढ्नेको हकमा त्यसो हुँदैन । यहाँबाट जुन कोर्स सकेर गएको छ, त्योभन्दा माथिल्लो कोर्सको पढाइका लागि जान सकिन्छ । यसो गर्दा समय पनि खेर गएन । लागत पनि बचत भयो । त्यस्तै हाम्रो कलेजमा ग्राजुएट गरेर पोस्ट ग्राजुएट गर्न जाने हो भने पनि एल्मनाईले पाउने सबै सुविधा हाम्रा विद्यार्थीहरूले त्यहाँ पाउन सक्छन् ।
तपाईंहरूले आफ्नो शिक्षालाई बेलायतको भिसा, बेलायतको वर्किङ भिसा, कमाइ वा स्थायी आवास सुविधासँग जोडेर प्रचार चाहिँ किन गरिन्छ ?
हामीले बेलायती विश्वविद्यालयको सम्बन्धनमा प्रोग्राम चलाइरहेका छौँ । बेलायती विश्वविद्यालय वा त्यहाँको सरकारी निकायहरूसँग समेत हाम्रो धेरै नै अन्तरक्रिया हुन्छ । त्यसैले त्यहाँको नीति नियमको बारेमा हामीलाई सूचना छ ।
आजकलको जमानामा वेभसाइटमा समेत इन्फर्मेसन पाइन्छ । तर हामी शिक्षा क्षेत्रमा लागेको संस्थाका रूपमा हामीसँग भएको इन्फर्मेसन सेयर गर्नुपर्छ भनेर यसलाई अघि बढाएका हौँ । यो नियम हामीले बनाएको होइन, बेलायत सरकारले बनाएको हो । तर हामीले हाम्रा विद्यार्थीहरूलाई पीएसडल्यूको सुविधा पाइन्छ । त्यो सकिएपछि अर्को चरणको भिसाका लागि के गर्नुपर्छ भन्नेबारे जानकारी मात्रै दिएका हौँ ।
विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्रिटिस कलेज जस्ता कलेजहरूलाई स्वदेशी कलेजको भन्दा कुनै भिन्न प्रकारका नीतिगत वा प्रक्रियागत समस्या केही छन् ?
नीतिगत रूपमा खासै समस्या छैन । तर हामी स्थापना हुँदाको बखतमा विदेशी कलेज भन्नेबित्तिकै छुट्टै नजरले हेर्ने प्रवृत्ति थियो । अहिले यसमा धेरै सुधार भइसकेको छ । हामी के भन्छौँ भने क्वालिटीमा कम्प्रमाइज नगरौँ । विद्यार्थी तथा अभिभावकहरूले पनि क्वालिटीमा कम्प्रमाइज नगर्ने शैक्षि संस्थालाई नै सहयोग गर्नुपर्छ ।
अन्त्यमा ब्रिटिस कलेज र समग्र शैक्षिक क्षेत्रबारे केही भन्न चाहनुहुन्छ ?
सबैजसो कुरा त आइ नै सकेको छ । म विद्यार्थीलाई प्रविधिसँग नडराई शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन आग्रह गर्न चाहन्छु । अहिले पनि प्रविधिको पहुँच देशभर पुग्न सकेको छैन । काठमाडौँ उपत्यकामा ठीकै भए पनि उपत्यका बाहिर इन्टरनेटको पहुँचमा अझै पनि समस्या नै छ । पढ्न चाहने विद्यार्थीलाई यस्ता पूर्वाधारहरूमा सरकारले केही सहुलियत पनि दिनुपर्छ भन्ने लाग्छ ।
यसो हुन सक्यो भने हाम्रो जस्तो संस्थाले एउटा शैक्षिक क्षेत्रमा आफूले सकेजति योगदान गर्ने प्लेटफर्म पाउन सक्छ । हामीसँग भएको प्रविधि, ज्ञान र सीपलाई प्रयोग गरेर गुणस्तरीय शिक्षाको लागि हामीले योगदान गर्न सकौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख