शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषहरु घरायसी काममा, महिलाहरु सभा र गोष्ठीमा

आइतबार, १८ माघ २०७७, २० : २७
आइतबार, १८ माघ २०७७

गुल्मी । केही अघि गुल्मीको ईस्मा गाउँपालिकामा एकैदिन चारवटा औपचारिक कार्यक्रम भए । ती चारवटै कार्यक्रममा पुरुषको सहभागिता न्यून थियो भने कार्यक्रमस्थलमा महिलाहरुको सहभागिता उल्लेख्य थियो ।
गत माघ १४  गते ईस्मा गाउँपालिका–३, दर्लामचौरस्थित ठाडुङ्गा माध्यमिक विद्यालयले पूर्वमन्त्री गोकर्ण बिष्टको स्वागतमा आयोजना गरेको कार्यक्रममा दुई÷चार जना पुरुषमात्र थिए भने सयौंको संख्यामा महिला उपस्थित थिए ।

लगत्तै जिल्ला तेक्वोन्दो संघले ईस्मा–३ मा गठन गरेको तेक्वान्दो डोजाङ्ग उद्घाटन कार्यक्रममा पनि महिलाहरु कै बाक्लो उपस्थिति देखियो । त्यसपछि सोही वडाको दर्लामचौर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा पनि सयौं महिलाको सहभागिता देखियो ।

सोही दिन ईस्मा–४ को दोहली स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उपस्थितमध्ये पनि अधिकांश महिला नै थिए । विभिन्न कार्यक्रममा महिलाको बाक्लो उपस्थिति रहनुको मुख्य कारण गाउँघरमा पुरुषको कमी नै हो । 

अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन् भने उमेर ढल्किएका पुरुषहरु स्वदेशमै विभिन्न स्थानमा रोजगारीका सिलसिलामा पुगेका कारण गाउँमा आयोजना हुने सार्वजनिक कार्यक्रममा महिलाको सहभागिता बढेको हो । गाउँमै रहेका केही पुरुष भने घरायसी काममा बसेर भए पनि महिलालाई यस्ता सभा गोष्ठीमा पठाउने गरेका छन् ।

केही वर्ष यता हेफर ईन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा गुल्मी क्षेत्र नम्बर २ का स्थानीय तहले महिला सशक्तिकरण र आत्मनिर्भताका लागि बाख्रा विकास  परियोजना सञ्चालन गर्दै आएका छन् । सो कार्यक्रममार्फत आयआर्जन गर्दै आत्मनिर्भर हुन थालेका कारण पनि जिल्लामा महिलाहरु चुलोचौकाबाट बाहिर निस्कन थालेका हुन् भने पुरुषले घरायसी काममा सघाउन थालेका हुन् ।

महिलाहरु घरको परम्परागत कामका अतिरिक्त गाउँ टोलको सरसफाई, छोराछोरीको पठनपाठन, हेरचाह, घरायसी खर्चको जोहो, विभिन्न गोष्ठी तथा सभामा सहभागितामा समेत आफूलाई व्यस्त राख्न थालेका छन् ।

हेफेर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा पालिकाहरुको आर्थिक सहयोग र विभिन्न गैरसरकासी संस्थाहरुको साझेदारीमा पालिकाहरुमा बाख्रा उद्यम परियोजना सञ्चालन गरिएसँगै महिलाहरुको सामाजिक जागरणमा प्रभाव पारेको स्थानीयवासिन्दाको भनाइ छ ।

‘मिलीजुली बस्ने, बाँडीचुँडी खाने’

दोहोलीस्थित लालीगुराँस स्वावलम्बन महिला समूहकी सदस्य सीता अर्याल हेफेर प्रोजेक्ट आएपछि महिलाको जीवनस्तरमा निकै सुधार आएको बताउँछिन् । ‘पहिला  पहिला कुनै कार्यक्रमहरुमा उठेर परिचय दिन पनि सक्दैनथ्यौं,’ उनले भनिन्, ‘अहिले आफै कार्यक्रम सञ्चालन गर्नसमेत सक्ने भएका छौं ।’ आधारशीला तालिम लिएपछि धेरै कुरा सिक्न पाएको उनले सुनाइन् ।

सोही महिला समूहकी सदस्य सरस्वती अर्याल पनि आत्मनिर्भर भएसँगै सामाजिक दायित्व बहनमा पनि महिलाहरु अग्रसर हुन थालेको बताउँछिन् । कोटकटेरीस्थित उज्ज्वल भविष्य निर्माण स्वाबलम्वन महिला समूहकी सदस्य धना भण्डारी बाख्रा उद्यम परियोजना आएपछि आफुहरुमा धेरै परिवर्तन आएको बताउँछिन् । आधारशीला तालिम लिएपछि समाजमा मिलेर बस्ने, बाँडीचुँडी खाने, सरसफाईमा जुट्ने गरेको उनले सुनाइन् ।

कल्यारास्थित देउराली स्वाबलम्वन महिला समूहकी हुमकला जिसी पनि यस्ता कार्यक्रमले महिला–महिलाबीच सहकार्यको भावना बढेको बताउँछिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप