मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद : मेयर रेनु दाहाल

शनिबार, १७ माघ २०७७, १९ : ३०
शनिबार, १७ माघ २०७७

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् । चितवनमा शनिबार आयोजित कुँवर समाज नेपाल  चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण  समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै उनले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर आज भरतपुर महानगरपालिकाको गौरवका आयोजना सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको विचार व्यक्त गरिन् । 

उनले यस कार्यमा भरतपुर महानगरपालिकाको गम्भीर आपत्ति रहेको बताइन् । एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने बताउँदै उनले भनिन्, ‘भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको हो ।’

मेयर दाहालले हाल मुलुकको समृद्धि र विकासका साथै पूर्खाहरुले बलिदानीपूर्ण संघर्षबाट आर्जन गरेको व्यवस्थामाथि धावा बोलिएको बताउँदै समाज र व्यवस्थामाथि अपमान गर्ने त्यस्ता सन्की शासकले क्षमा पाउनै नसक्ने बताइन् । 

राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै मेयर दाहालले विकास त लामो प्रयास र निरन्तरताले  मात्र सम्भव हुने बताइन् ।

आयोजक संस्थाका अध्यक्ष चक्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वीर बलभद्र कुँवरलगायतका विभूतिहरूको  ऐतिहासिक योगदानले आधुनिक नेपाल सम्भव भएको बताइन् । उनले विभूतिहरुले दिएको योगदानको संरक्षण र सम्मान गर्नु नागरिक र  राज्यको दायित्व भएको  बताइन् ।

महानगर प्रमुख दाहालले कुँवरले तत्कालिन इष्ट इन्डिया कम्पनीको अंग्रेज सेनासँग  ऐतिहासिक र साहसिक लडाइँ लडेको इतिहास स्वर्ण अक्षरले लेखिएको बताउँदै पानीकै भरमा खुकुरीको बलमा लडाइँ लडिएको बताइन् । ‘उहॉहरूजस्ता वीरहरुको बहादुरीबाट आधुनिक नेपाल सम्भव भएको हो’ मेयर दाहालले भनिन् । उनले बलभद्र कुँवरको २ सय ३१ औँ जन्मदिनको अवसरमा सालिक अनावरण गर्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरिन् । बहादुर नेपालीहरुले हारको इतिहास  नलेखेको उनको भनाइ थियो ।


सालिक अनावरण कार्यक्रममा बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले वीर बलभद्रको २ सय ३१ औँ जन्मजयन्तीको अवसर पारेर चितवन जिल्लाको रमणीय स्थान जलदेवी सामुदायिक वन परिसरमा पूर्ण कदको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताउँदै वीरहरुको योगदानको कदर गर्नु हामी सबैको दायित्व भएको बताए । प्राडा कुँवरले वीर बलभद्र कुँवर  जस्ता विभूतिहरुको बलिदानीपूर्ण योगदानले देशको सार्वभौमिकताको रक्षा र जगेर्ना सम्भव भएको बताए ।

कार्यक्रममा कुँवर समाज नेपालका सल्लाहकार नारायण सिंह कुँवरले कुँवर समाजको छुट्टै पहिचान र भूमिका रहेको बताउँदै वर्तमान नेपालको पहिचान कायम राख्न वीरतापूर्ण लडाइँ राष्ट्रिय विभूति बलभद्र कुँवरले अंग्रेजसंगको लडाइँमा सीमित घरेलु हतियार र फौजसंगको लडाइँमा ऐतिहासिक बहादुरी प्रस्तुत गरेको बताए । उनले वीर बलभद्रको योगदानको कदर गर्नु राष्ट्रको कर्तब्य भएको भन्दै कुँवर समाजले बलभद्र कुँवरको पूर्णकदको सालिक अनावरण गरेर सम्मान व्यक्त गरिएको बताए । उनले भरतपुरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विकासप्रेमी मेयर रेनु दाहालबाट ऐतिहासिक व्यक्तित्व बलभद्र कुँवरको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताए ।

समाजका महासचिव गोपाल कुँवरले राष्ट्रिय विभूति वीर बलभद्र कुँवरले राष्ट्रियता र मूलुकको स्वाधिनताको लागि वीरतापूर्ण लडाइँ लडेको भन्दै वीर बलभद्रले देशलाई दिएको योगदानको सम्मान गर्नुपर्ने बताए । अंग्रेजसंगको कालापानी र नालापानीको लडाइँमा वीरतापूर्ण ढंगले अंग्रेज फौजलाई परास्त गराएको इतिहास स्वर्णीम अक्षरले लेखिएको बताउँदै कुँवरले बलभद्रकै योगदानले देशको स्वभीमान कायम रहेको बताए ।

कार्यक्रममा समाजलाई उल्लेख्य सहयोग पुर्याउने व्यक्तिहरु र पूर्ण कदको सालिक निर्माणको लागि सहयोग पुर्याएका चन्दादाताहरुलाई सम्मान गरिएको थियो । भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वन परिसरमा २० लाख रुपैयाँको लागतमा आकर्षक पूर्णकदको सालिक निर्माण गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप