‘उपत्यकामा १० हजार मानिसको जुलुस निकाल्न मलाई समय लाग्दैन’
काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई पार्टीभित्र शालीन र इमान्दार व्यक्तित्व मानिन्छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) हुँदै राजनीतिमा होमिएका भट्टराई काँग्रेसको जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पनि हुन् । उनका समकक्षी नेताहरु माथिल्लो पदसम्म पुगिसकेका छन् । तर उनले आफूलाई लोभलालचभन्दा अलिक बाहिर राखेर निष्ठाको राजनीतिमा उभ्याएका छन् । तनहुँ स्थायी घर भएका भट्टराई हिजोआज बूढानीलकण्ठ बस्छन् । नेविसङ्घको अध्यक्ष हुँदा उनले सङ्गठनका लागि धेरै राम्रा काम गरेका थिए । उनकै योगदानका कारण नेविसङ्घमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल जस्ता नेता जन्मिएका छन् । ससाना कुरामा पनि कार्यकर्तासँग रमाउन सक्ने क्षमता भएका भट्टराईलाई रुचाउने नेता कार्यकर्ता धेरै छन् । उनै भट्टराईका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
मेरो खाना
साझा नेपाली खाना, दालभात, तरकारी, अचार, सलाद, केराउ, भटमास र माछामासु सबथोक मनपर्छ । सानोमा मन नपर्ने खानेकुरो धेरै थिए । अहिले केही छैन । पकाउन पटक्कै रुचि छैन । कहिलेकाहीँ अनिवार्य पकाउनुपर्छ ।
रेस्टुरेन्ट साथीभाइ, परिवार सबैसँग जान्छु । रेस्टुरेन्टमा बढी खाने भनेको मम हो । त्यसपछि चिकेन आइटम, फिस र मटन मनपर्छ ।
मेरो फिट्नेस
फिट्नेसका लागि सजग छु । त्यसका लागि हिँड्छु । बिहान पनि हिँड्छु । अन्य समय पनि हिँड्छु । हिँडेर पनि आफूलाई फिट राख्न सकिन्छ भन्ने मेरो धारणा हो ।
त्यसको अलवा घरमै प्रणायाम, कपालभाँती लगायत हल्काफुल्का योगसमेत गर्छु ।
मेरो पोसाक
म सानैदेखि चिटिक्क भएर हिँड्न रुचाउने व्यक्ति हुँ । कोट, पाइन्ट र जुत्ता मिलाएर लगाउन मनपर्छ । धेरै प्रयोग गर्ने पहिरन सुटपाइन्ट नै । पहिरनमा मेरो मनपर्ने रङ्ग नीलो र सेतो हो । अन्य पहिरन लगाए पनि कालो कहिल्यै लगाउदिनँ ।
धेरैजसो रेडिमेड पहिरन किन्छु । अचेल केही सिलाएर समेत लगाउन थालेको छु । पहिरनमा ब्रान्ड हेर्दिनँ । सकभर रङ्ग नजाने, बलियो र हेर्दा राम्रो रोज्छु । टोपी, ह्याट कमै लगाउँछु ।
मेरो अध्ययन
समय मिलाएर अध्ययन गरिरहन्छु । अध्ययन रुचिको विषय पनि हो । लिकुवानको एक पुस्तक अहिले अध्ययन गर्दैछु । म पढ्ने अक्सर रातिको समयमा हो । रातको १, २ बजेसम्म पढ्छु ।
सामाजिक र राजनीतिक विषयका पुस्तक बढी मनपर्छ । ग्लोबलको बारेमा, नेपाली अन्य विषयका पुस्तकसमेत पढ्छु । घरमा पुस्त धेरै सङ्कलन गरेको छु । सानोतिनो लाइब्रेरी स्थापना गर्दैछु ।
मेरो घुमफिर
घुमफिरमा रुचि धेरै छ । नयाँ ठाउँ जहाँ पुग्न सकेको छैन त्यहाँ जान, हेर्न र त्यहाँका बारेमा बुझ्न मनलाग्छ ।
देशका ७७ जिल्लामध्ये करिब ७० जिल्ला घुमँे । विदेशमा २०, २१ देश पुगेको छु । अहिले मलाई साइप्रस जाने इन्छा छ । त्यो मध्यपूर्वमा पर्ने भएकाले पनि जाने इच्छा जागेको हो । त्यहाँ धेरै नेपाली पनि काम गर्छन् ।
मेरो फुर्सद
फुर्सद कमै हुन्छ । भेटघाट, जनसम्पर्क आदिमा नै मेरो समय बित्छ । फुर्सद भयो भने देशविदेशका समाचार, राजनीतिक भेटघाट, परिवार र साथीभाइलाई समय दिन्छु ।
मेरो खेलकुद
अहिले खेलकुदमा खासै रुचि छैन । सानोमा भलिबल धेरै खेल्थेँ । स्कुल स्तरीय, गाउँ स्तरीय प्रतियोगितामा खेल्थेँ । अहिले खेल्न हैन हेर्न रुचि छ । क्रिकेट धेरै हेर्छु ।
मेरो मोबाइल
अहिले मसँग एप्पल ब्रान्डको एउटा पुरानो खालको मोबाइल छ । साथीभाइ सबैसँग सम्पर्क गर्न यो चलाउँदै आएको हो । ह्वाट्स एप, म्यासेन्जर, इमेले, भाइबर, फेसबुक जस्ता सामाजिक सञ्जाल मोबाइलबाटै चलाउँछु । युट्युब पनि हेर्छु ।
कोरोना पछाडि समाचारका लागि पत्रपत्रिका हेर्दिनँ । मोबाइलबाट विभिन्न अनलाइनमा समाचार पढ्छु ।
मेरो टिभी
टिभी प्रायजसो बेलुका हेर्छु । टिभीमा धेरै हेर्ने भनेको समाचार, अन्तर्वार्ताहरु नै हुन् । समाचार देश विदेशका पनि हेर्छु । फिल्मको अलवा एनिमल प्लानेट, डिस्कभरी लगायतका च्यानल पनि टिभीमा हेर्छु ।
मेरो चलचित्र
फिल्महरु मनपर्छ, हेर्छु । राजनीतिक विषय र सामाजिक विषय समेटिएका फिल्म धेरै हेर्छु । हलमा गएर फिल्म कमै हेर्छु । टिभीमा हेर्ने हो ।
पछिल्लो समय हलमा गएर हेरेको फिल्म ‘छक्का पन्जा’ हो । यो फिल्म परिवारसँगै हेरेको थिएँ । समय भयो भने नेपाली, हिन्दी फिल्म हेर्छु । पुराना कलाकार अर्जुन श्रेष्ठ सँगै कलेज पढेको साथी हो । अन्य धेरै कलाकार चिन्छु ।
मेरो राजनीति
विद्यार्थी समयदेखि म राजनीतिमा छु । विसं २०३५ सालमा स्कुलको एकाइबाट मेरो राजनीतिक यात्रा सुरु भएको हो । २०३८ सालमा विद्यार्थीको जनसम्पर्क समिति तनहुँ–काठमाडौँमा रहेँ । त्यसपछि पब्लिक युथ क्याम्पसको एकाइमा रहेर काम गरेँ । शङ्करदेव कलेजमा एकाइको सहसचिवसमेत भएँ । पञ्चायतकालमा त्यही विद्यार्थी युनियनको सचिवसमेत भएँ ।
त्यसपछि नेविसङ्को केन्द्रीय कमिटीको कोषाध्यक्ष भए । त्रिभुवन युनिभर्सिटीको एकाइको सभापति समेत भएको म विसं २०५३ मा नेविसङ्घको केन्द्रीय सभापति भएको थिएँ ।
त्यो समय सर्वसम्मत रूपमा म सभापति भएको थिएँ । सबैलाई समेटेर सङ्गठन बलियो बनाएँ, दुईवटा स्ववियु निर्वाचन गराएँ । त्यो विजयको हिसाबले नेविसङ्घकै रेकर्ड बन्यो ।
अहिले नेपाली काँग्रेसको केन्द्रीय सदस्य छु । यो दोस्रो कार्यकाल हो । देशलाई परिवर्तन दिने जुन उद्देश्य र चाहना लिएर राजनीतिमा आएको थिएँ त्यो पूरा हुन सकेको छैन । केही परिवर्तन भए पनि देशमा सोअनुसार विकास भएन ।
नेविसङ्घमा जे गर्न सकेँ त्यसबाट सन्तुष्ट छु । मैले सङ्गठनलाई नेतृत्व प्रदान गर्दै अनुशासन र विश्वासमा राख्ने काम गरेँ । मेरै समयमा नेविसङ्घ सबैभन्दा ठूलो सङ्गठनसमेत भयो । उपत्यकामा १० हजार मानिसको जुलस निकाल्न मलाई समय लाग्दैन ।
काँग्रेसको आदर्श, सिद्धान्त बुझ्न, नेताहरुलाई जान्न र सङ्गठन चलाउन नेविसङ्घको अभ्यासबाट कला प्राप्त हुन्छ भन्ने मेरो बुझाइ हो ।
काँग्रेसमा सभापति हुने अहिले त्यस्तो केही योजना छैन । योजनाले केही हुने पनि होइन । परिस्थितिले हुन पनि सक्छु । चलाउन नसक्ने कुरै भएन । सभापति भएर उत्कृष्ट नेतृत्व दिन्छु भन्ने लाग्छ । वर्तमानलाई हेरेर कुनै कुराको उत्तर खोज्दिनँ । विगतमा उसले पाएको जिम्मेवारी कसरी निर्वाह गरेको थियो, त्यो हेर्छु र मूल्याङ्कन गर्छु ।
मेरो सपना
सपना त्यस्तो केही छैन । पहिले देश बनाउने सपना थियो । त्यो अहिले पनि छ । जुन स्कुलिङबाट म आएँ त्यसले घरपरिवार, गाउँभन्दा देशका लागि समर्पित हुनुपर्छ भन्ने बुझेँ ।
देश र जनताको परिवर्तनका लागि विभिन्न आन्दोलन गरियो । सबैले सबै थोकको अवसर पाउँछन् भन्ने थियो । त्यो अझै पूरा भएको अवस्था होइन । देशको राजनीति अझै खलबलिएको छ । त्यो ठीक ठाउँमा ल्याउन सकिन्छ कि भनेर कसरतमा छु ।
मेरो प्रेम
देशका लागि जीवन समर्पित गर्छु भनेर विवाह, प्रेम केही नगरेर बसेको थिएँ । विवाह नगर्ने विचार पनि थियो । पारिवारिक कारणले विवाह गर्नै पर्यो । त्यो कारणले ढिलो विवाह भयो ।
२०६३ सालमा विवाह गरेँ । २०६२ मा एक कार्यक्रमको सिलसिलामा चितवन जाँदा एक युवतीसँग विवाहको प्रस्ताव आयो । त्यो जनआन्दोलको समय भएकाले वास्त गरिनँ ।
जनआन्दोलन सकिएपछि घरपरिवारलाई पनि त्यो कुरो थाहा भएछ । उहाँहरुकै करले ती युवती काठमाडौँमै हेरेँ । कुराकानी गरँे । ठिकै हुन्छ भन्ने लाग्यो । चिनजानका हिसाबले पनि उनको र मेरो परिवार परिचित रहेछ । त्यसैले विवाह गरे ।
वैशाखको करिब करिब अन्तिम अन्तिमतिर उनलाई हेरेको थिएँ । म जेठो छोरा भएकाले जेठमा विवाह गर्न मिल्दैन भनियो । केटी हेरेको ६ दिनमा उनलाई घरमा भित्र्याएँ । विवाहपछि प्रेम बस्यो । त्यो प्रेम अहिले पनि चल्दैछ ।
मेरो गीतसङ्गीत
गीतसङ्गीत मनपर्छ । तर कमै सुन्छु । नारायण गोपालका गीतसङ्गीत र अन्य गजल गीतहरु मनपर्छ । गीतसङ्गीत सुन्ने भनेको बिहान बेलुका घरमा बसेको समय हो ।
मेरो मापसे
धेरै मापसे गर्नेमा पर्दिनँ । कहिलेकाहीँ पार्टी, साथीभाइसँगको भेटघाटमा हल्का लिन्छु । लोकल रक्सी अहिलेसम्म खाएको छैन । खानपरे ह्विस्की खान्छु । मापसे अहिले घरमा सजाएर राख्ने चलन पनि छ, त्यो मनपर्दैन ।
मेरो भुल
मानिस हुँ, जानी नजानी धेरै भुल भए होलान् । भुल गरेँ भनेर त्यस्तो केही पछुतो लागेको छैन । म अध्ययनमा पिएचडी गर्न चाहन्थेँ । राजनीतिमा अल्झिएर अध्ययन छोडे । त्यो पनि मेरो भुल नै हो । अहिले पिएचडी गर्दैछु ।
अर्काे कुरा गिरिजाबाबु, शेरबहादुर देउवा हुन् वा अन्य ठूलै नेताहरुले बोलेको कुरो चित्त बुझेन भने फ्याट्ट बोल्ने बानी छ मेरो । यो बानीले राजनीतिमा म जहाँ पुग्नुपर्ने हो त्यहाँ हुन सकिनँ । मेरा अगाडि र पछाडिका साथीहरुले धेरै प्राप्त गरे । म घेराबन्दीमा परेँ । चित्त नबुझेका कुरा फ्याट्ट भन्ने बानी मेरो भुल हो जस्तो लाग्छ ।
मेरो रोग
भगवान्को कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । फिट एन्ड फाइन छु । सामान्य ग्यास्टिक छ ।
मेरो राशि
मेरो राशि ‘कर्कट’ हो । ग्रहदशमा पूरै विश्वासभन्दा पनि कहिलेकाहीँ हेराएको छु । चिना बनाउने व्यक्तिले धेरै कुरा लेखेर दिएका पनि छन् । तर धेरै मिलिरहेको छैन । विवाहको कुरो भने मिल्यो ।
मेरो मृत्यु
मृत्यु स्वाभाविक हो । जीवनको अन्तिम सत्य पनि हो । यसलाई सजिलै स्वीकार्नुपर्छ । मृत्यपछि बाँच्ने कुरोमा म दुविधामा छु । यसमा मानिसहरुको विश्वास छ । यसले सही मार्गमा हिँड्न मानिसको मार्गनिर्देशन गरेको छ भन्ने मलाई लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु