मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

शनिबार, १७ माघ २०७७, ०८ : ४१
शनिबार, १७ माघ २०७७

आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । 

गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । 

शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन् । 

वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ हुनुहुन्थ्यो थिइन् । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए । 

हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताएका छन् । मृतक हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप