बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको धूर्त 'प्लानिंग'मा किन फस्दैछन् नेताहरु ?

कोरोनाको भ्याक्सिन प्रयोगमा आइसकेकाले अब केको डर भन्न मिल्दैन
शुक्रबार, १६ माघ २०७७, १९ : १३
शुक्रबार, १६ माघ २०७७

जाड़ोले गर्दा नुहाउने आवृति कम भएका कारण हो कि लोक भाषामा प्रचलित कारणले हो, अचेल मेरो ढाढ चिलाइ रहेकोछ। मलाई भने दोस्रो कारण नै प्रभावी हुँदै गइरहेको प्रतीति प्रबल रूपमा अनुभव भइरहेछ।

त्यतिविघ्न समाचार प्रकाशित गरे हिजोका दिनमा नेपाली पत्रपत्रिकाले, मेरा आँखा चाहिं एकै किसिमको समाचारमा पर्न गए- कोरोनाको नयाँ 'स्ट्रेन'का कारण चीनमा घरबाहिर निस्किन प्रतिबन्ध l समाचारअनुसार चीनको राजधानी बेइजिङ शहरमा अधिकारीहरुले सर्वसाधारणलाई घरबाहिर ननिस्किन अनुरोध गरेका छन्। चीनमा सरकारद्वारा गरिएको अनुरोधको अर्थ र आशय के हुन्छ सबैलाई विदित नै छ !

यस्तै अर्को समाचार भन्छ- विश्व स्वास्थ्य संगठनले अघिल्लो महिना बेलायतमा भेटिएको कोभिड–१९को नयाँ 'भेरियन्ट' थप खतरनाक रहेको बताएको छ । संगठनका अनुसार बेलायतमा पाइएको 'भेरियन्ट' हालसम्म ७० देशमा फैलिसकेको छ । यो भाइरस बढी घातक छ किनभने यो पुरानो भाइरसको तुलनामा तीव्र गतिमा फैलन्छ। यसै समाचारमा दक्षिण अफ्रीकामा भेटिएको अर्को 'स्ट्रेन' पनि ३१ देशमा फैलिसकेको उल्लेख छ।

पत्रकार एकराज पाठक लेख्छन्- गत जनवरी २० मा एकै दिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्म यति धेरैको एकैदिन ज्यान गएको यो पहिलो पटक भएको बताए ।

उनी अगाडी लेख्छन्- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा हालै देखिएको नयाँ प्रजातिको भाइरसले अवस्था झनै अस्तव्यस्त भएको बताएका छन्। उनले यो नयाँ प्रजातिको सङ्क्रमण बेलायतमा प्रवेश गरेपछि यसले पहिलेकोभन्दा धेरै मानिसलाई सङ्क्रमित बनाएको बताए  । बेलायतमा कोरोनाको पहिलो ‘वेभ' (तरङ्ग) आएर त्यो उच्चबिन्दुमा पुगेका बेलामा भन्दा अहिले यो नयाँ प्रजातिले झन् ठूलो क्षति पुर्याएको अनुभव उनले पत्रकार सम्मेलनमै सुनाए ।

बोरिसले भने, 'यो नयाँ प्रजातिको सङ्क्रमणले मानिसलाई ७८ प्रतिशत बढी मात्रामा सङ्क्रमित तुल्याएको कुरा हालैको एक अध्ययनले देखाएको छ ।' उनले यस अवधिमा एकै दिनमा चार हजार ६ सयभन्दा बढी मानिसलाई अस्पताल भर्ना गर्नुपरेको, अस्पतालमा 'भेन्टिलेटर' र 'आइसियु वार्ड'कै समस्या आएको समेत बताए । बेलायतले यस्तो अवस्था महामारी शुरु भएको वर्षदिन यता कहिल्यै भोगेको थिएन ।

अन्य समाचारमा यूरोपका थुप्रै देशमा 'लकडउन'कै अवस्था रहेको उल्लेख गरिएको छ।

यता नेपालको स्थिति हेर्दा के सत्तापक्ष, के प्रतिपक्ष, के अन्य कुनै पक्ष सबै आन्दोलन र प्रदर्शनमा व्यस्त छन्।  कसले सबैभन्दा ठूलो रेला -मेला -भेला गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ। नेपालमा पनि कोरोनाको नयाँ प्रजाति भेटिइसकेको छ। अन्यत्र तबाह मच्चाएको भाइरस यहाँ पनि भेटिनु अस्वाभाविक होइन, किनभने भाइरस पासपोर्ट र भीसा अनुमति लिएर आउने होइन।

के हाम्रो देशका नेता एवं तीसँग सम्बंधित राजनीतिक दलका महानुभावलाई देश र जनताको चिंता नै लाग्दैन ? खै, कोसँग सोध्ने- सत्ताधारीसँग, सत्ताधारीलाई बर्खास्त गरी स्वयं सत्ताको कुर्सीमा पुग्न लालयितहरुसँग अथवा सत्ता र प्रतिपक्षको जुहारीमा चाँखे थापिरहेका अन्य दल वा नागरिक समाजका अगुवाहरुसँग ? तुलोमा हालेर जोखे यिनीहरुको तौल कमबेसी होला तर मानिसको स्वास्थ्य सुरक्षाका मामिलामा यी सबै सबैले खेलबाड गरिरहेका छन् l

क्षमा गर्नु होला देशका स्वनामधन्य नेताज्यूहरु, देश तपाईंहरुको आ-आफ्नो दावी अनुसार अग्रगमन अथवा प्रतिगमनमा लम्केको हो कि होइन भनी निर्क्यौल गर्ने मेरो लियाकत छैन l विज्ञानको एक बिद्यार्थी भएकाले कोरोना भाइरसको अग्रगमन वा प्रतिगमनलाई लिएर चिन्तित भएको छु। संसारभरी कोरोना त्रासको परकम्प भइरहेका बेला तपाईंहरुबाट यस्तो लापरवाही किन ? कतै तपाईंहरुको सुसुप्त चाहना ८-१० लाख जनसँख्या घटे राज्य सञ्चालनमा सुविधा हुन्छ भन्ने त होइन ? नेपालका सबै राजनीतिक वृत्तका गतिविधि हेर्दा, मेरो ढाढ चिलाएको उपचार गर्न तपाईंहरुका कार्यकर्ताले मेरो तलाश अभियान थाल्न सक्ने पूर्वानुमान हुँदाहुँदै पनि, फेरि पनि सोध्ने दुस्साहस गरिरहेको छु- के तपाईंहरुलाई नागरिकको स्वास्थ्य सुरक्षाका चिंताले किंचित पनि छुँदैन ?

कि तपाईंहरु पनि, जीवन र  मृत्यु त प्रकृतिको हातमा छ, हामी सबै रंगमन्चका कठपुतली हौँ, सबैको धागो ऊपरवालाको औलामा बाँधिएको छ; उसले कहिले कुन धागो बटार्छ-चुडाउँछ, यो कसैले थाहा पाउन सक्दैन भन्ने दर्शनले नै प्रभावित 'वीतरागी' हुनुहुन्छ ! जान्न बुझ्न पाए मजस्ता निठल्लाको पनि तेस्रो नेत्र खोलिने थियो !

लाग्छ, प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता कोरोनाको विभिन्न नयाँ 'स्ट्रेन' को सुनामीको प्रतीक्षामा छ।  यस सुनामीले नेपालमा आँधी ल्याउनासाथ उ देशमा संकटकाल लाउने मनस्थितिमा छ, जसले उसको शासन सत्ताको आयु थप्ने भगवत कृपा उपलब्ध हुन्छ l तर, लाखौँ मानिस सड़कमा ओराल्न तँछाड़ मछाड गरिरहेका दलहरुको घैँटोमा घाम किन नलागेको ?संकटकाल लाग्ने बित्तिकै आज सडकमा समेत सोफामा बस्ने वा सडकमै पलेटी कस्ने सबै सबै नेताहरु आ-आफ्नो निवासमा कैद हुनेछन् ! प्रधानमन्त्री ओली बैशाख १६ भन्दा पहिला संकटकाल लगाउन सफल भए भने सबैले बुझे हुन्छ- उहाँको जीवनकालभरी नेपालले त्यही व्यवस्थामा संचालित हुने नियति भोग्नु पर्नेछ। यो सर्वविदित नै छ, खुराफात र चक्रव्यूह संरचना गर्न ओली जस्तो पात्रता नेपाली नेताहरु अरु कसैमा छैन।

प्रतिपक्षीहरुको नारा, जुलुस, विरोधसभा, हड़ताल गर्ने अधिकार त स्वयं ओलीले नै कुंठित गरेका छैनन् भने यस पंक्तिकारले त्यसबारे केही भन्ने कुरा नै आउँदैन। तर, नारा, जुलुस, विरोधसभा आयोजना गर्नेहरुले एकपटक आफुसँग रहेको बुद्धि विवेकको आपसी संयोजनबाट विचार त गरी हेरुन्, आफ्ना गतिविधिले कतै प्रधानमन्त्री ओलीको धूर्त 'प्लानिंग'लाई नै मलजल त गरिरहेको छैन ? अहिलेको टड्कारो खतरा भनेकै प्रतिपक्षीहरुको नारा, जुलुस, विरोधसभाजस्ता गतिविधिले देशमा कोरोना संक्रमणको सुनामी आओस्  र प्रधानमन्त्री ओलीलाई आफ्नो मनोकामना पूर्ण हुने संयोग प्राप्ति होस् भन्ने हो। तर, यी दुइ कुरामध्ये मेरो चिन्ता को सरकारमा रहन्छ वा रहोस् भन्नेमा रत्तिभर पनि होइन, मेरो चिन्ता त वर्तमानमा नागरिकको स्वास्थ्य सुरक्षामा गरिएको लापरवाही वा खेलबाडले निम्त्याउने भयाबह खतराप्रति मात्र हो l

कोरोनाको भ्याक्सिन प्रयोगमा आइसकेकाले अब केको डर भन्न मिल्दैन l संक्रमणको खतरा अझै पनि यथावत नै छ।  भ्याक्सिन लगाएका मानिसमा पनि संक्रमण हुने त्यतिकै संभावना हुन्छ, जति भ्याक्सिन नलगाएको व्यक्तिमा।  कुरा यति मात्रै हो, दोस्रो खुराकको भ्याक्सिन लिइसकेको व्यक्तिमा कोरोनासँग लड़ने 'एंटीबड़ी' हुन्छन्, जसले गर्दा उसले संक्रमणलाई परास्त गर्न सक्छ।

तसर्थ सबै नेपालीले यो सत्य आत्मसात् गरे हुन्छ, कम्तीमा २०२१ को अन्त्यसम्म सबै जनाले कोरोना भाइरसबाट सचेत रहनुपर्छ। सबै किसिमका ऐहतियात पालन गर्नुपर्छ। रातोपाटीका माध्यमबाट देशका सबै नागरिकसँग अनुरोध गर्छु- कृपया सुरक्षाचक्र पालन गर्नुस्, सुरक्षित बस्नुस्। साथै आन्दोलनरत सबै नेताहरुसँग पनि करबद्ध प्रार्थना गर्छु, कृपया विरोधका शैली परिवर्तित गरियोस्, वैकल्पिक उपायको खोजी गरियोस्। देशका नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी सत्ता पक्षको त हो नै, प्रतिपक्षीहरुको पनि हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप