शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एकीकरणको १० महिना बित्दा पनि दल बन्न सकेन जसपा नेपाल

गुटगत कार्यक्रम बढ्दो, एक गुटको कार्यक्रममा अर्को अनुपस्थित
शुक्रबार, १६ माघ २०७७, १३ : ५७
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको अढाई वर्षमै पार्टी एकता ध्वस्त भयो । पार्टीमा विधि, विधान, लोकतान्त्रिक अभ्यास र राजनीतिक संस्कारको कमीका कारण यस्तो दुर्घटना भएको चर्चा चलिरहेको समयमा जनता समाजवादी पार्टीभित्र पनि गुटगत राजनीति हावी हुन थालेको छ ।

तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको १० महिनाभन्दा बढी भइसक्यो । तर आन्तरिक विवादका कारण समायोजन प्रकृयाले अझै गति लिन नसक्दा सो पार्टी सिंगो राजनीतिक दलका रुपमा नभएर गुटगत समूहका रुपमा सीमित देखिन्छ ।

पार्टीभित्र गुटगत भेला, अन्तरक्रियालगायतका गतिविधिहरु तीव्र रुपमा भइरहेको छ । समायोजन प्रक्रियालाई गति दिनुभन्दा पनि नेताहरु तत्कालीन समाजवादी पार्टी र राजपा नेपालकै परिधिभित्र रहेर आ–आफ्नो गुट कसरी बलियो बनाउने, समायोजनामा आफ्ना मान्छे कसरी बढी पार्नेजस्ता गतिविधिमा सक्रिय देखिन्छन् ।

तत्कालीन समाजवादी पार्टीको युवा संगठनले समायोजन प्रक्रियालाई ध्यानमा राख्दै सातवटै प्रदेशमा आफ्नो अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । तर उसका कार्यक्रममा तत्कालीन राजपा नेपाल पक्षका नेताहरुको उपस्थिति रहेन ।

सो संगठनका इन्चार्ज एवम् जसपा नेपालका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सातवटै प्रदेशमा कार्यक्रम सम्पन्न गरेका हुन् । अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा तत्कालीन राजपा नेपालका नेताहरुको उपस्थिति हुँदैनथ्यो । एकदुई ठाउँमा शरतसिंह भण्डारी उपस्थित भए पनि तत्कालीन राजपा नेपालका अरु कुनै पनि नेताहरु त्यसमा सहभागी भएका थिएनन् । 

तत्कालीन राजपा नेपालका नेताहरुले पार्टी एकीकरण भइसकेको अवस्थामा यसरी पूर्व पार्टीका कुनै भ्रातृ संगठनले छुट्टै कार्यक्रम गर्नु पार्टी हितविपरित रहेको भन्दै सोहीकारण आफूहरु त्यसमा सहभागी नभएको बताएका थिए । यता, समाजवादी पार्टीतर्फका युवा संगठनका इन्चार्ज योगेन्द्र राय यादवले आफूले राजपा नेपालका अधिकांश नेतालाई निमन्त्रणा दिएको तर उनीहरु आफै नआएको गुनासो गरे ।

युवा संगठनको समायोजन नभएका कारण आफूले समाजवादी पार्टीको युवा संगठनबाट कार्यक्रम गरेको उनको भनाइ छ । त्यस्तै कार्यक्रम तत्कालीन राजपा नेपालबाट पनि भइरहेको छ । राजपा नेपालका युवा संगठनका अध्यक्ष मुकेशकुमार झाले माघ १८ गते जनकपुरमा युवा भेला आयोजना गरेका छन् ।

त्यसमा मुख्य अतिथि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई राखिएको छ । अरु अतिथिमा वरिष्ठ नेता राजेन्द्र, कार्यकारिणी सदस्यहरु शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, महेन्द्र राय यादवलाई पनि निमन्त्रणा गरिएको अध्यक्ष झाले बताए । 

उनले जसपा नेपालमा समायोजनको प्रकृया सुरु हुनलाग्दा समायोजनमा तत्कालीन राजपा नेपालका युवा संगठनबाट युवाहरुलाई कसरी कहाँ समायोजन गराउने भन्नेबारे छलफलका लागि प्रदेश २ स्तरीय भेला राखिएको बताए । उनले भने, ‘यो गुटको भेला होइन, जसपा युवा संगठनकै तर्फबाट कार्यक्रम राखिएको छ तर त्यसमा तत्कालीन समाजवादी पार्टीका कुनै पनि नेतालाई बोलाइएको छैन ।’

यो विशुद्ध तत्कालीन राजपा नेपालका युवाहरुको भेला भएकाले तत्कालीन समाजवादी पार्टीका नेताहरुलाई नबोलाएको उनले बताए । पहिलो चरणमा प्रदेश २ मा कार्यक्रम गर्ने, त्यसपछि अरु प्रदेशमा गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ ।

यसखालको सम्मेलन जिल्ला तथा गाउँहरुमा पनि भइरहेका हुन्छन् । राजपा पक्षधरले गरेको कार्यक्रममा समाजवादी पार्टीका नेताहरु अनुपस्थित हुने र समाजवादी पार्टीले गरेको कार्यक्रममा राजपा पक्षधरहरु अनुपस्थित हुने परम्पराजस्तै भइसकेको छ । यहाँसम्म कि जिल्ला तथा केन्द्रमा हुने पार्टी प्रवेश कार्यक्रम पनि छुट्टाछुट्टै गरिन्छ ।

राजपा नेपालका नेताको माध्यमबाट कसैलाई पार्टीमा प्रवेश गराइएको छ भने त्यहाँ समाजवादी पार्टीतर्फका नेताहरुको उपस्थिति हुँदैन । त्यस्तै समाजवादी पार्टीका नेताबाट कसैलाई पार्टीमा प्रवेश गराइन्छ भने त्यहाँ राजपातर्फका नेताहरु सहभागी नहुने देखिन्छ ।

केन्द्रीय कमिटीको बैठकले मंसिर मसान्तसम्म समायोजनका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय गरेको थियो । तर माघको आधासमय बितिसक्दा पनि समायोजनले गति लिएको छैन । जसले गर्दा जसपा नेपाल सिंगो पार्टीका रुपमा नभई विभिन्न राजनीतिक समूहको चौतारीका रुपमा मात्र सीमित देखिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप