शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको नयाँ भ्याक्सिनः ८९ प्रतिशत प्रभावकारिता भएको  नोभाभ्याक्स नयाँ भेरियन्टमा पनि असरदार

शुक्रबार, १६ माघ २०७७, १० : ५९
शुक्रबार, १६ माघ २०७७

कोभिड–१९ को नयाँ भ्याक्सिन बेलायतमा गरिएको व्यापक ट्रायलमा ८९.३ प्रतिशत प्रभावकारी भएको बताइएको छ । 

नोभाभ्याक्स नाम दिइएको यो भ्याक्सिन बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ भरियन्टका लागि असरदार हुने पहिलो भयाक्सिन भएको बीबीसीका मेडिकल सम्पादक फेर्गस वाल्सले जानकारी दिए । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो सुखद खबरलाई स्वागत गर्दै बेलायतका औषधि नियामकहरुमा यो खोपको पहुँच हुने बताएका छन् । 

बेलायतले यो भ्याक्सिनको ६ करोड डोज आफ्ना लागि सुरक्षित गरेको छ । 

औषधी तथा स्वास्थ्य सेवा नियामक एजेन्सी (एमएचाआरए) ले प्रयोगका लागि मञ्जुरी दिएको अवस्थामा यी खोप ६ महिनापछि उपलब्ध हुने आशा राखिएको छ । 

बेलायतले कोरोनाभाइरसका तीनवटा भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि मञ्जुरी दिएको छ । एउटा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको, अर्को फाइजर र बायोएनटेकको र तेस्रो औषधी कम्पनी मोडर्नाको । 

नोभाभ्याक्स खोप बेलायतमा गरिएको तेस्रो चरणको ट्रायलमा ८९.३ प्रतिशत प्रभावकारी देखिएको हो । यसमा १८ देखि ८४ उमेर समूहका १५ हजार व्यक्तिको सहभागिता थियो । नोभाभ्याक्सका अनुसार यीमध्ये २७ प्रतिशत ६५ वर्ष माथिका थिए । 

कोरोनाभाइरसको अफ्रिकन भेरियन्टको दबदबा भएको  दक्षिण अफ्रिकामा एचआईभी नभएकाहरु बीच गरिएको ट्रायलमा यो खोप ६० प्रतिशत प्रभावकारी रह्यो । 

नोभाभ्याक्सका मुख्य कार्यकारी स्ट्यान इर्कले बेलायतको ट्रायलबाट पाइएको नतिजालाई शानदार र आफूले सोचेको जस्तै राम्रो नतिजा आएको बताउँदै दक्षिण अफ्रिकाको नतिजा भने जनताले आशा गरेभन्दा माथि रहेको बताए । 

बेलायतका स्वास्थ्य सेक्रेटरी म्याट ह्यानककले खोप स्विकृत भएको खण्डमा नेशनल हेल्थ सर्भिस खोप आपूर्ति गर्नका लागि तयार भएको जानकारी दिए । 

उनले भने, ‘यो सकारात्मक समाचार हो । स्वास्थ्य नियामकले स्विकृत गरिदिए नोभाभ्याक्स भ्याक्सिन हाम्रो खोप अभियानका लागि महत्वपूर्ण बढावा हुनेछ र यो भाइरसलाई नष्ट गर्नका लागि अर्को हतियार हुनेछ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप