शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा डा. शर्माद्वारा बिपन्न परिवारकी बालिकाको निःशुल्क उपचार

बिहीबार, १५ माघ २०७७, १९ : ४४
बिहीबार, १५ माघ २०७७

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराइदिएका हुन् ।

बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउँन नसक्दा उनको उपचार हुन सकेको थिएन । जन्मिएको करिब एक महिनादेखिनै निधारमा निस्किएको डल्लो बढ्दै जाँदा उनलाई आँखा हेर्नसमेत समस्या हुने गरेको थियो । तरपनि, पैसा अभावमा उनको उपचार हुँन सकेको थिएन ।

उनले विरामीको पारिवारिक अवस्था बुझेर नोबेल अस्पतालमा ल्याई बालिकाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाइदिएका हुन् । डा.शर्माले करिब दुई लाख मूल्य बराबरको औषधि उपचार निःशुल्क गराइदिएका छन् ।

पैसा अभावले उपचार गर्न नसकिरहेको अवस्थामा डा.शर्माले सम्पूर्ण खर्च ब्यहोरेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएपछि अहिले बालिकाको परिवार हर्षित छ । ‘पैसा अभावले छोरीको उपचार गर्न सकिरहेका थिएनौं ।’ बालिकाका बुबा विकासले भने–‘सुनिल सरले सबै खर्च निःशुल्क गरेर उपचारको व्यवस्था मिलाईदिदा ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।’

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टिमले बालिकाको निधारमा पलाएको ट्यूमरको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियापछि बालिका अहिले अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप