बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा नेकपाको प्रचण्ड–माधव पक्षको गर्जन : संविधान र लोकतन्त्रको रक्षाका निम्ति संघर्ष

बिहीबार, १५ माघ २०७७, १९ : २१
बिहीबार, १५ माघ २०७७

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीलाई चुट्कीको भरमा फाल्ने बताएका छन् ।  प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा बिहीबार बुटवलमा आयोजित प्रदेशस्तरीय विरोध सभालाई सम्वोधन गर्दै प्रचण्डले २५० वर्षसम्म शासन गर्ने राजाहरुसमेत जनताको बलमा फालिएको स्मरण गराए ।

उनले ‘श्री ३’ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धरासायी बनाउने दावी पनि गरे  । अध्यक्ष प्रचण्डले आफूहरुले निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको प्रष्ट पारे । ‘यो केपी ओली भन्ने एकजना व्यक्तिको विरोधमा आयोजना गरिएको हो भनेर नबझ्नुस् । हामीले गलत विचार, मान्यता, विधि पद्धतिका विरुद्ध, सही विचारको पक्षमा, सत्य, न्याय, स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका हौं,’ प्रचण्डले भने ।

उनले संविधानसभाबाट संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व हुन्छ र विकास निर्माण तथा समृद्धिमा देश जान्छ भनेर पार्टी एकता घोषणा गरिए पनि त्यसबेलाको सहमति केपी ओलीले नमान्दा समस्या भएको बताए ।  
प्रचण्डले अब आफ्नो बाँकी जीवन देश र जनताका लागि जिउने प्रणसमेत गरे । एक अर्को प्रसंगमा उनले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । उनले भने, ‘मलाई विश्वास छ, अदालतले संसद पनर्स्थापना गर्दछ, तर अदालतभन्दा ठुलो  जनताको अदालत हो ।’

जनताले ५ वर्षका लागि म्यान्डेट दिएको प्रतिनिधिसभाको अझै दुई वर्ष बाँकी रहेको भन्दै उनले त्यो दुई वर्षमा  जनताका लागि राम्रो सरकार बन्ने आत्मविश्वास रहेको बताए । कार्यक्रममा सो पार्टीका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कामभन्दा कुरा धेरै गर्ने नेता’ का रुपमा चित्रण गरे ।

आफुहरुले हातमा हात मिलाएर काम गर्न खोजेको बेला ओलीले आफ्नो खुट्टा तान्दै हिँडेको उनको आरोप थियो । उनले  प्रधानमन्त्री ओलीले न्यायपूर्ण आन्दोलनको कहिल्यै अगुवाइ नगरी पछाडि बसेर अरुलाई अप्ठ्यारोमा पार्ने गरेको टिप्पणीसमेत गरे । पन्ध्र वर्षअघि भएको लोकतान्त्रिक आन्दोलनमा समेत ओली सहभागी नभएको उनले स्मरण गराए ।

प्रधानमन्त्री ओलीले वैशाखमा चुनावको घोषणा गरे पनि चुनाव गराउने नियत नदेखिएको अध्यक्ष नेपालको भनाइ थियो । ओलीतिर लक्षित गर्दै उनले भने, ‘खाली बकबक गर्नुुहुन्छ, उहाँलाई रिस उठ्यो भने पत्रकार, वकिललाई पनि गाली गर्ने !’ 

ओलीले आफ्नै मन्त्रीलाई समेत गाली गर्दै आएको उनको भनाइ छ । ‘ओलीको जालझेलमा परेका साथीहरु मूल पार्टीमा आउनुस्, तपाईंहरुलाई स्वागत छ,’ उनले भने । निर्वाचन आयोगले पनि बहुमत केन्द्रीय सदस्य रहेको पार्टी नै मूल हुने बताइसकेकाले भ्रममा नपर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘निर्वाचन आयोगले ४४१ जनाको केन्द्रीय कमिटीलाई मान्यता दिएपछि त्यसकै आधारमा बहुमत हुन्छ, त्यसैले मूल पार्टी हाम्रो हो । पछि मनोनित गरेका कता कता हराउँछन् ।’

विरोध सभामा पूर्वमन्त्री तथा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब कार्यकर्ताहरु नभई माफियाहरु मात्र बाँकी रहने बताए । उनले  भने, ‘ओलीको पार्टीमा रहने भनेको अब दलाल र माफियामात्र हो । अरु त्यहाँ रहन सक्दैनन् ।’ उनले राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको टिप्पणी गरे । ओलीमा राणा तथा राजाहरुको प्रेत उत्रेको टिप्पणी गर्दै उनले विभिन्न कर्तुत लुकाउन, जनताको ध्यान मोड्न सारा षड्यन्त्र रचेको आरोप लगाए ।
उनले ओली जन्मने परिस्थिति कसरी निर्माण भयो भन्ने कुरामा विमर्श गर्दै फेरि अर्को ओली नजन्मिने बाटो सुनिश्चित गर्नुपर्ने बताए । कार्यक्रममा पूर्व मन्त्री वर्षमान पुनले हजारौंको संख्यामा बुटवल आएका कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई गतिलो जवाफ दिएको टिप्पणी गरे । 

जनयुद्धका कारण नेपालमा स्वतन्त्रता र लोकतन्त्र स्थापना भएको बताउँदै उनले केपी ओलीले बाँदर भनेर जनयुद्धलाई सम्बोधन गरेकोप्रति आक्रोस व्यक्त गरे । कार्यक्रममा पूर्व मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले आफ्नै केही पूर्वसहकर्मीले ओली प्रतिगमनलाई साथ दिएको गुनासो गरे ।

कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीलाई संविधानमा प्रतिनिधिसभा विघटनको अधिकार नरहेको जिकिर गरिन् । संविधानको रक्षा, लोकतन्त्रको रक्षाका लागि  सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
ठाकुर गैरेको अध्यक्षतामा भएको कार्यक्रममा  बामदेव क्षेत्री, जगप्रसाद शर्मा लगायतले पनि सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप