शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कान्स फिल्म फेस्टिबलको मिति सर्‍यो, ६ देखि १७ जुलाईमा आयोजना हुने

बिहीबार, १५ माघ २०७७, १४ : २१
बिहीबार, १५ माघ २०७७

एजेन्सी । कोभिड १९ महामारीका कारण गत वर्ष रद्द भएको कान्स फिल्म फेस्टिवल यस वर्ष पनि ढिला गरी आयोजना हुने भएको छ । यसअघि मेइ महिनामा फिल्म फेस्टिवल आयोजना हुने तय गरिएको थियो । तर, मिति सारेर जुलाईमा फेस्टिवल आयोजना गर्ने घोषणा आयोजकले गरेको छ । समारोहमा मानिसहरुलाई प्रत्यक्ष सहभागी गराउन सकियोस् भनेर मिति सारिएको आयोजकले जनाएको छ । 

नयाँ घोषित मितिअनुसार ६ देखि १७ जुलाईसम्म यो समारोह आयोजना हुनेछ । विगत ७५ वर्षदेखि आयोजना हुँदै आएको यो फेस्टिवल विश्वका प्रतिष्ठित फेस्टिवलहरुको सूचीमा पर्छ ।  फ्रान्ससहित अधिकांश युरोपमा कोरोना संक्रमण बढेपछि अहिले फेरि लकडाउन गरिएको छ । खोप लगाउने क्रम चलिरहे पनि संक्रमण कम नभएकाले ठूला कार्यक्रम स्थगित भइरहेका छन् ।

‘विश्वव्यापी स्वास्थ अवस्थालाई नियाल्दै फेस्टिवलको मिति बदल्नसक्ने अधिकारअनुसार यसअघि ११ मेइदेखि २२ मेइ २०२१ का लागि तय भएको फेस्टिलको मिति अब ६ देखि १७ जुलाईका लागि सारिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

कान्सको मिति सरेसँगै दुुई महिनाभन्दा कम अवधिमा युरोपमा दुुई ठूला फिल्म फेस्टिबल आयोजना हुने भएका छन् । भेनिस फिल्म फेस्टिवल १ सेप्टेम्बरमा आयोजना हुने तय छ । मास्क र सामाजिक दूरीको प्रयोगसहितका कडा मापदण्ड अपनाएर भेनिस फेस्टिवल आयोजना गरिने आयोजकले जनाएको छ । 

युरोपको अर्को ठूलो फिल्म महोत्सव बर्लिन फिल्म फेस्टिवलले यस वर्ष हाइब्रिड मोडल अपनाउने तय गरेको छ । मार्चमा बर्लिनले अनलाईन कार्यक्रम आयोजना गर्नेछ भने जुनमा फिल्ममेकर तथा कलाकारहरुको प्रत्यक्ष सहभागीतामा अर्को कार्यक्रम हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप