शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणीबाट धमाधम नदीजन्य पदार्थ चोरी निकासी

किन मौन छ अनुगमनकारी निकाय ?
बिहीबार, १५ माघ २०७७, १२ : ३९
बिहीबार, १५ माघ २०७७

परासी । चितवन र नवलपरासीको सीमास्थित नारायणी नदीमा अवैध उत्खनन् बढेको छ । नदीजन्य पदार्थका स्थानीय व्यापारीहरु दिनदहाडै नदीबाट अवैध उत्खनन् गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिरहेका छन् ।
सुस्ता गाउँपालिका वडा ३, ४ र ५ मा पर्ने नारायणी नदीको उक्त भागबाट व्यापारीहरुले दिनहुँ सयभन्दा बढी ट्याक्टर अवैध गिट्टी, बालुवा र ढुङ्गा निकासी गरिरहे पनि यसको रोकथामका लागि न सुस्ता गाउँपालिका अगाडि सरेको छ, न त जिल्ला समन्वय समिति र प्रहरी प्रशासन नै । 

गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता भन्छन्, ‘व्यापारीहरुले नदीबाट अनधिकृत रुपमा उत्खनन् गरी नदीकै छेउछाउमा अवैध स्टक गरे पनि त्यसलाई जफत गर्न पालिका तथा जिसस एवं प्रहरी÷प्रशासन अगाडि नसर्नुले कि त सम्बन्धित निकाय आर्थिक प्रलोभनमा परेको बुझिन्छ, कि व्यापारीहरुको त्रासमा बसेको बुझिन्छ ।’

सम्बन्धित निकायबाट उत्खननका लागि ठेक्का नलागेको उक्त नदीमा यसरी दिनदहाडै सयभन्दा बढी ट्याक्टर पसेर कुनै रोयल्टीसमेत नतिरीकन अवैध रुपमा नदीजन्य पदार्थ चोरी गर्नु, अर्कोतिर प्रहरी प्रशासन र स्थानीय सरकारसमेत मौन बस्नु अनौठो देखिएको स्थानीयवासी बताउँछन् ।

अवैध उत्खनन् भइरहेको स्थानबाट सुस्ता गाउँपालिका कार्यालय तथा वडा कार्यालय करिब डेढ किलोमिटर दुरीमा छ भने नर्सही तथा रामनगर प्रहरी चौकी बढीमा एक किलोमिटर दुरीमा छ । तर पनि नदीजन्य पदार्थको अवैध दोहन रोकथाममा उनीहरुले भूमिका निर्वाह गर्न नसकेका हुन् ।

गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष गुप्ताका अनुसार नदीजन्य पदार्थका व्यापारीहरुले मोटो रकम दिएर सबैको मुख बुझो लगाएका कारण यस प्रकारको गतिविधि देखिएको हुन सक्छ । व्यापारीहरु नदीको पश्चिमी बाँधको छेउबाटै अनधिकृत रुपमा अवैध उत्खनन् गरिरहेका कारण गण्डक बाँधसमेत फुट्ने खतरा बढेको उनको भनाइ छ । 

स्थानीयवासी युवराज मार्य भन्छन्, ‘भारतीय पक्षले बाढीको जोखिम कम गर्न र गण्डक बाँधलाई बलियो बनाउने उद्देश्यले बर्सेनि करोडौं रुपैयाँ लगानी गरी बाँधको ठोकर, स्पर र तटबन्ध मर्मत गर्दै आएको छ तर नेपालकै व्यापारी र स्थानीय सरकारको लापरवाहीका कारण बाँधकै नजिकबाट जथाभावी अवैध उत्खनन भइरहेकाले गण्डक बाँध फुट्ने खतरा बढ्दै गएको छ ।’

यता, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर रायले जिल्लाको सबै खोलानालाको नियमित अनुगमन भइरहेको जानकारी दिए । अनुगमन गर्दा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ झिकिरहेको सवारी साधनलाई नियन्त्रणमा लिई जरिवाना तिराउने गरिएको उनको भनाइ छ ।

जिल्लामा नारायणी नदीसँगै सुनवलमा तुरिया, पानभार, बडेरा खोला पनि छ भने बर्दघाट नगरपालिकामा खजुरा खोला, सुस्ता गाउँपालिकामा रायपुरा र रामग्राम झरही खोला छन् । टेण्डर भएका खोलाबाहेक अरु खोलाबाट पनि नदीजन्य पदार्थ अवैध चोरी निकासी हुने गरेको पाईन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप