शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा निर्माण व्यवसायीको ट्रक र डिष्ट्रिब्युटर मेसिनमा आगजनी गर्नेलाई कडा कारबाही गर्न महासंघको माग

बिहीबार, १५ माघ २०७७, ११ : २५
बिहीबार, १५ माघ २०७७

काठमाडौं । रुपन्देहीमा निर्माण व्यवसायीको ट्रक र डिष्ट्रिब्युटर (मेसिन) मा आगजनी गर्ने दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग माग गरेको छ ।
कोभिड–१९ को संक्रमण र सन्त्रासका बीचमा पनि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरुलाई हतोत्साहित गर्ने गरी अज्ञात समुहबाट भइरहेका हिंसात्मक घटनाहरू प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले दोषमाथि कडा कारबाही गर्न र पीडित व्यवसायीलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको हो ।

बुधवार विहान रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा सियारी पहुँच मार्ग अन्र्तगतको सडक खण्ड निर्माणमा प्रयोग भइरहेको निर्माण व्यसायीको एक ट्रक र डिष्ट्रिव्युटर मेसिनमा अज्ञात समुहले आगजनी गरेका थिए ।
सियारी गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि  ५० लाख भन्दा बढीको क्षति भएको महासंघले जनाइएको छ । 

निर्माण व्यवसायी संघ नवलपरासीका अध्यक्ष समेत रहेका लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका उपाध्यक्ष नविन ज्ञवालीको नविन कन्स्ट्रक्सनको लु.१.क ६९७६ नम्बरको ट्रक र डिष्ट्रिव्युटरमा आगजनी गरिएको हो । 
उक्त सवारी साधन र डिष्ट्रिव्युटर मेसिन पुष्पाञ्जली–समिर–जिम्बा जे.भी.द्वारा निर्माणाधिन सडकको काममा प्रयोग भइरहेका थिए । आगजनीका कारण दुवै उपकरणहरु पूर्ण रुपमा काम नलाग्ने गरी ध्वस्त भएको महासंघले जनाएको छ । 

निर्माण व्यवसायी र उनीहरुका उपकरणहरुको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासंघले जनाएको छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत महासंघले दिएको छ ।

साथै, तत्काल दोषीलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित् निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन महासंघले सरकारसँग माग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप