बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘रामशाहपथ’मा मात्र हिँड्न जानेका वकिल

भन्छन्– पैसा नभए एक मुठा सागमै मुद्दा लडिदिन्छु
बिहीबार, १५ माघ २०७७, ११ : ०९
बिहीबार, १५ माघ २०७७

पैसाका लागि जस्तोसूकै मुद्दा लड्ने वकिल प्रशस्त छन् । मुद्दावाला पीडित होस् कि पीडक, आफूले लिएको मुद्दाले पीडितलाई मद्दत पुग्छ कि झन् पीडा हुन्छ भन्नेजस्ता मानवीय समवेदनाका विषयलाई कतिपय कानुन व्यवसायीले ख्याल गर्दैनन् । अधिकांश वकिल आफूकहाँ आएका जस्तोसूकै मुद्दाको जिम्मा लिन्छन् । तर उनी भने यो मामलामा फरक छन् ।

उनी अर्थात् वकिल मनिषकुमार श्रेष्ठ । ‘मसँग आएको कुनै पनि मुद्दा अन्यायपूर्ण छ, मैले यसमा बहस गर्दा अर्काे पक्षलाई ठूलै मर्का पर्छ, उसको बास उठ्छ र त्यहाँ न्याय मर्छ भन्ने लाग्छ भने म त्यो मुद्दा लिन्नँ,’ उनले भने, ‘त्यो मुद्दा लिन मेरो ब्रह्मले पनि दिँदैन ।’

मुद्दा जस्तोसुकै आओस्, त्यो लड्नुपर्ने वकिलको पहिलो कर्तव्य हो । यो उनले पनि राम्ररी बुझेका छन् । तर, उनी पेसाभन्दा ठूलो आफ्नो ब्रह्म भएकाले त्यसको मञ्जुरीविना मुद्दा नलिने बताउँछन् ।

तर कहिलेकाहीँ मुद्दा लिइसकेको हुन्छ । पहिले पीडित होला भनि मुद्दा लिइएको हुन्छ, पछि बुझ्दै जाँदा त्यो पीडक वा अपराधी हो भन्ने खुल्दै जान्छ । त्यो अवस्थामा उक्त मुद्दा के गर्ने भन्ने अन्योल हुन्छ उनलाई । उनी भन्छन्, ‘भित्रभित्रै मन पोल्छ थाल्छ । न्याय पाउनुपर्नेले न्याय नपाउने चिन्ता बढ्न थल्छ ।’

त्यसपछि उनी मुद्दा छाड्न सो पक्षलाई नै आग्रह गर्छन् । नमानेको खण्डमा कहिलेकाहीँ आफै छाडिदिन्छन् ।

देशको सुदूरपश्चिम डोटीमा जन्मिएका श्रेष्ठ अहिले देशको नाम चलेका र ब्यस्त वकिलमध्येका एक हुन् । पीडकको भन्दा पनि पीडितको मुद्दामा बहस गर्न रुचाउने मनिष सार्वजनिक सरोकारको विषयमा समेत बहस गर्दै आएका छन् । सायद, त्यसैले पनि होला अहिले उनीसँग भ्याइ–नभ्याइ मुद्दा छन् । देशका ७७ मध्ये करिब एक दर्जन जिल्लामा मात्रै उनको मुद्दा छैन, बाँकी सबै जिल्लामा उनी बहसका लागि पुगिरहेका हुन्छन् । सिधै भन्नुपर्दा सास फेर्ने फुर्सद पनि छैन मनिषलाई ।

विसं. २०६९ बाट उनले यो पेसा अँगालेका हुन् । त्यसो त यो पेसाप्रति उनको रुचि र रहर कहिल्यै थिएन । बाँच्नका लागि जीवनको आधारभूत आवश्यकता गाँस, बास र कपास जुटाउन काठमाडौंमा संघर्ष गर्ने क्रममा उनी यो पेसामा आएर रोकिए ।

‘कसैसँग मागेर खान नपरोस्, आफ्नो खुट्टामा उभिन सकौं । दुःखपर्दा आफै आँशु पुछ्न सक्ने हैसियत बनोस् भन्ने मेरो सोच थियो,’ उनले भने, ‘त्यो सोच यो पेसाले अहिले पूरा भएको छ । ठूलो मान्छे हुने सपना र चाहना न पहिले थियो, न अहिले नै ।’

वकिल हुनुभन्दा अगाडिका दिन प्रायः दुःखमा बिताएका उनी अहिले राम्रोसँग खान पाएको, कामबाट फुर्सद भएर हाँस्न पाएको दिन सुख महसुस गर्दा रहेछन् ।

वकिलबाहेक कुनै क्षेत्रमा आवद्ध नभएको र कहीँ एक रुपैयाँको सेयरसमेत नरहेको बताउने मनिष आफ्नो काम वकालत भएकोले आफ्नो पथ ‘रामशाहपथ’ बाहेक अन्य नरहेको बताउँछन् । भन्छन्, ‘मैले रामशाहपथमा मात्र हिँड्न जानेको छु । अब मेरो जीवन यही नै हो । म यसमै एकाग्र छु, किर्तनमा छु, थकाई, प्यास केही पनि छैन, खुसी छु । बस् यत्ति ।’

यस कारण काठमाडौं छिरे

उनी २०५९ मा अध्ययनका लागि भनेर काठमाडौं छिरेका थिए । डोटीमा आइकम सकाएपछि ब्याचलरका लागि धनगढी र काठमाडौंमध्ये उनले एक विकल्प रोज्नुपर्थ्योे । त्यसका लागि उनले काठमाडौं रोजे । काठमाडौं रोज्नुको कारण यहाँ अवसर प्रशस्त हुन्छ भन्ने थियो ।

काठमाडांैमा उनले कमर्शमा ब्याचलर सके तर त्यसले जागिर हात लागेन । फेरि उनले पढेको विषय कमर्श जागिर ‘क्रिएट’ गर्ने थियो । तर जागिर क्रिएट गर्नका लागि पैसा चाहिन्थ्यो, जुन मनिषसँग थिएन ।

‘जुन शिक्षाले खान दिँदैन, त्यो शिक्षा शिक्षा नै होइन’ भन्ने  सानैदेखि मान्यता राख्ने उनी खान दिने शिक्षाको खोजमा लाग्न थाले । किनभने काठमाडौंमा बस्न र खान पनि छिटोभन्दा छिटो जागिरमा जानैपर्ने बाध्यता थियो उनमा ।

कुन अध्ययनले भोको राख्दैन भनेर सोच्न थाले मनिष । पढ्न पनि जागिरविना सम्भव थिएन । त्यतिबेला उनको छरछिमेकका साथीभाइ मलेसिया, कतार जान थालेका थिए । त्यसका लागि ५० देखि ६० हजार भए पुग्थ्यो । उनले पनि वैदेशिक रोजगारीमा जाने सोच बनाए । त्यसका लागि आफन्त, चिनेजानेकासँग पैसा जुटाउन थाले । तर उनले ६० हजार रुपैयाँ जुटाउन सकेनन् । त्यसपछि उनी २०६४ सालमा ल क्याम्पस भर्ना भएर अध्ययन गर्न थाले । अध्ययनका लागि पैसा जुटाउन उनी साँझ रेष्टुरेन्टलगायतमा ड्युटी गर्थे । दिनभर अध्ययन र राति जागिर, त्यतिबेला यस्तै थियो उनको दिनचर्या ।

अनि लेखे कानुनका किताब

त्यतिबेला नेपाल ल क्याम्पसमा पनि नियमित क्लास हँुदैनथ्यो । सबै बाहिर चौरमै बसेर पढ्ने गर्थे । विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले आयोजना गरेको कोचिङ क्लास पढेर जाँच दिने ट्रेन्ड थियो ।

पढ्नका लागि बजारमा पर्याप्त पुस्तक पनि थिएनन् । किन्ने औकात पनि उनमा थिएन । उनले रातभर ड्युटी गरेर कमाएको पैसाले मुस्किलसँग खान र कोठाभाडा तिर्न पुग्थ्यो । भ्याएसम्म कोचिङ क्लास पनि लिन्थे उनी ।

अध्ययन गर्दैगर्दा पुस्तकको अभावका कारण ह्यान्ड नोट  आवश्यक हुने गर्दथ्यो । त्यही भएर उनले शिक्षकले पढाएको रेकर्ड गर्ने र धेरैपटक सुनेर आफ्नो धारणा लेखेर नोटहरु ल्याउन थाले । सुरुमा आफ्नै लागि बनाएको नोटहरु पछि बिक्रीसमेत हुन थाल्यो । त्यही क्रममा नेपालका नाम चलेका केही प्रकाशनले उनलाई तपाईका ह्यान्ड नोट बिक्री भएका छन्, त्यसलाई कम्पाइल गरेर पुस्तक ल्याउनुस् भनेर हौस्याए ।

‘कानुन संकायका केही असाध्यै भलाद्मी शिक्षकले पढाएको कोर्ष रेकर्ड गरेर, उनीहरुको ज्ञान नोटमा उतारेर त्यसमा आफ्नो अनुभव र ज्ञानसमेत मिलाएर को–राइटर बनेर किताब प्रकाशनमा ल्याएँ,’ उनले भने ‘१२–१३ वटा पुस्तक त्यसरी ल्याएपछि मैले पुरै आफ्नै हिसाबले लेखेर पुस्तक प्रकाशन गर्न थालेँ ।’

उनका अहिलेसम्म ३४–३५ वटा कानुनका किताब बजारमा आएका छन् । ३३ वर्षीय मनिष यतिबेला नेपाल ल क्याम्पसबाट कानुनशास्त्रमा विद्यावारिधी (पिएचडी) समेत गर्दैछन् । उनी भन्छन्, ‘सम्भवतः यो उमेरमै कानुनमा पिएचडी गर्ने पहिलो व्यक्ति मै बन्छु होला ।’

संवैधानिक कानुन रोजे

कानुन अध्ययनमा अनेक विधा छन् । सबै विधा आफैमा उत्कृष्ट पनि । तर, उनले संवैधानिक कानुन रोजेर अध्ययन गरे ।

तर किन ? ‘त्यो समय संविधानको लडार्इँ थियो । कानुन धेरै भए पनि जताततै संविधान भनेकोमात्र सुनिन्थ्यो,’ श्रेष्ठ भन्छन्, ‘संविधान पो ठूलो कुरो रहेछ । संविधान बुझेपछि सबै कुरा बुझिन्छ होला भन्ने मलाई लाग्यो ।’

उनले संवैधानिक कानुन पढ्नुको अर्काे कारण पनि छ । त्यो हो, सर्वोच्च अदालत नै कानुनको अन्तिम ब्याख्याता हो । अदालतले पनि सबै कानुनको व्याख्या देशको संविधान अगाडि राखेर गर्ने गर्दछ । त्यसकारण पनि मनिषले संवैधानिक कानुन नै रोजे ।

संवैधानिक कानुन पढेर मनिषलाई अहिले थप सजिलो भएको छ । संविधानको मातहतमा रहेर कानुन बन्ने भएकोले पनि आफूलाई सजिलो भएको उनको बुझाइ हो ।

त्यो जित पनि हार हो 

जब उनले वकिल हुनका लागि अध्ययन पूरा गरे, त्यसपछिका दिन उनका लागि अझ चुनौतीपूर्ण थियो । किनभने उनका अगाडि १४–१५ हजार सिनियर वकिल थिए । उनीहरुसँग प्रतिस्पर्धा गरेर अगाडि आउनु र काम पाउनु चानचुने लडाइँ थिएन । त्यसमा पनि अनुभवबिहीन मानिसले मुद्दा पाउनु असम्भवजस्तै थियो ।

मुद्दा पाउनु भनेको वकिलले म्याच्युरिटीको उपल्लो तहमा आफूलाई पाउनु पनि हुन्थ्यो । अर्काे कुरा, मुद्दा कोही हार्न चाहँदैन । सिकारुलाई मुद्दा जित्न पनि त कठिन नै हुन्थ्यो ।

‘मुद्दा नहारी सिक्न नसकिने, नसिकी नजितिने र हार्नलाई कसले कसलाई मुद्दा दिने ! यस्तो परिस्थितिमा थिएँ म,’ उनले ती दिन सम्झिए, ‘त्यसपछि सार्वजनिक रिटबाट काम सुरु गरेँ ।’

पहिलो रिटको रुपमा उनले एनसेलले निकालेको २० रुपैँया सापटीको विज्ञापनलाई बनाए । ‘सापटी बैंकसँग जोडिएको विषय हो, व्यक्ति वा कम्पनीले सापटी दिन मिल्दैन’ भनेर उनले रिट हाले । सापटी भनेको निश्चित समयसम्म बिना ब्याज चलाउन पाउने रकम हो भनेर उनले दाबी पेश गरेका थिए । तर केही प्राविधिक कमजोरीका कारण उनको रिट खारेज भयो, यद्यपि उनले केही सिक्ने मौका भने पाए ।

त्यसपछि पनि उनले सार्वजनिक चासोका विषयमा सर्वोच्च अदालतमा रिट दायर गर्न थाले, त्यहीँ नै उनले वकालतको अभ्यास पनि गर्न थाले । यही क्रममा एक टेलिभिजनले सेरोगेसी अर्थात् भाडाका आमाका बारेमा लगातार समाचार प्रशारण गरेको उनले देखे । यो विषय मातृत्व र सार्वजनिक सरोकारको विषय हो भन्ने मनिषलाई लाग्यो । सोही सम्बन्धमा रिपोर्टिङ गरेका विभिन्न पत्रकार र सरोकारवालालाई भेटेर केही साथीसँग सहकार्य गरी रिट लिएर उनी सर्वोच्च पुगे । सेरोगेसीको त्यही रिट नै मनिषलाई सबैसँग चिनाउने रिट बन्न पुग्यो ।

मनिष लगायत अन्य साथीहरुको पहलमै सरकारसमेत सेरोगेसीबाट पछाडि हट्न बाध्य भयो र कानून नै संशोधन गर्न पुग्यो । सरकारले कमर्सियल सेरोगेसीलाई पूर्णरुपमा बन्देज लगाउँदै भाडामा कोख दिन प्रतिबन्ध नै लगाइदियो ।

‘सार्वजनिक सरोकारका विषयमा एउटा राम्रो रिट, जसमा जनताको मर्का हुन्छ । त्यो विषयलाई लिएर जाने हो भने जनताको मानिस बन्न सजिलो हुन्छ भन्ने मैले सेरोगेसी रिटबाट बुझेँ । त्यही अनुसार चल्न थालेँ,’ उनले भने, ‘सार्वजनिक हितका विषयसँग जोडिएका धेरै मानिस मसँग जोडिनुभयो । जसका कारण एक, दुई हँुदै धेरै मुद्दा आए ।’

अहिले आफूसँग मुद्दाको चाङ नै भएको भन्दै उनी पछाडि फर्किएर हेर्नु नपरेको सुनाउँछन् ।

कतिपय वकिल मुद्दा हेरेर सामान्य र महत्वपूर्ण छुट्याउँछन् । उनी भने हरेक मुद्दा महत्वपूर्ण ठान्छन् । जित र हारसँग उनी सफलता÷असफलताको मूल्याङ्कन कहिलै गर्दैनन् ।

‘कहिलेकाहीँ निष्ठावान भएर, मेहनत, ज्ञान सबै प्रयोग गरेर मुद्दा जिताउँदा पनि आफ्नो पक्षलाई मनैबाट सन्तुष्ट बनाउन सकिँदैन,’ उनले भने, ‘त्यो हाम्रो हार हो ।’

त्यस्तै, कहिले मुद्दा हारिएको हुन्छ, आफ्नो पक्षलाई ठूलो क्षति भएको हुन्छ । ‘तर पनि आफ्नो उपस्थितिले पक्षको अनुहारमा जुन खुसी झल्कन्छ, हामीले उनको दिलमा जुन स्थान बनाएका हुन्छौं, त्यो अद्भुत हुन्छ,’ उनले भने, ‘त्यो नै हाम्रो जित हो ।’ जित र हारको औसतभन्दा भिन्न परिभाषा दिए उनले ।

सागको मुठा लिएर मुद्दा लड्छु

अहिले इन्साफ (न्याय) महँगो भएको छ । हरेक मानिसले महसुस गरेको विषय हो । उनको पनि चिन्ताको विषय यही नै हो । एउटा मानिस जिल्ला अदालतदेखि मुद्दा लड्दै सर्वाेच्चसम्म आइपुग्दा समय र आर्थिकरुपमा धेरै क्षति भएर कमजोर बनिसकेको हुन्छ । तर पनि वास्तविक न्याय पाइने हो कि होइन भन्ने चिन्ता सधै भइरहेकै हुन्छ । मनिष न्यायको मूल्य नहुने तर्क गर्छन् । तर पनि न्याय प्राप्त गर्ने बाटोचाहिँ महँगो भयो कि भन्ने उनलाई पनि लागेको छ ।

पछिल्लो समय पैसा नभए केही काम अगाडि बढ्न सक्दैन । उनी भने त्यस्ता व्यक्तिका समेत मुद्दा लिँदै आएका छन्, जोसँग पैसा नभएर मुद्दा लड्ने हैसियत छैन ।

‘म व्यवसायी वा इन्साफको तराजुमा न्याय किनबेच गर्न बसेको मानिस पनि होइन,’ उनले भने, ‘म साधारण परिवेशबाट आएको व्यक्ति हुँ । केही भएन भने अदालतको भर्याङमा बसेर निवेदन लेखेरै २–५ सय दिनमा कमाउन सक्छु भनेर वकिल भएको हो । त्यसैले सबैको मुद्दा हेर्छु ।’

आफूसँग ठूलो सपना र अपेक्षा नभएकोले पनि सर्वसाधारणको मुद्दा हेर्न सफल भएको उनी बताउँछन् । ‘देशको एउटा कुनाबाट आएको मानिस म । आम सर्वसाधारणको प्रतिनिधि हो, महँगो ल फर्म र वकिल बन्ने मेरो अहम् कहिलै रहेन,’ उनले भने, ‘जोसँग पैसा छैन । एक मुठा साग लिएर आउनुस्, म मुद्दा लड्छु ।’

एक मुठा साग किन ? प्रश्न यहाँ उठ्छ ।

‘हाम्रो देशमा अहिलेसम्म भोकै मानिस मरेको मैले सुनेको, देखेको छैन । यस हिसाबले पनि मैले एक मुठो सागको कुरो उठाएको हो,’ उनले थप प्रस्ट पारे, ‘एक मुठा सागको अर्थ तपाइँसँग जे क्षमता छ, जे छ त्यही ल्याउनुस् भनेको हो । मुद्दा लड्नकै लागि घरखेत बेचेर आउनुपर्दैन भन्न खोजेको हो । मलाई के लाग्छ भन्ने नेपालमा त्यस्तो गरिब मानिस छैन, जसले एक मुठा साग ल्याउन नसकोस् ।’

‘मतलब सित्तैमाचाहिँ मुद्दा लड्नुहुन्न हो ?’ प्रश्नमा उनको हाँसो छुट्यो । उनले भने, ‘मैले त्यसो कहाँ भनेको हो र ! एक मुठा सागमा मुद्दा लड्छु भनेको सित्तैमा लड्छु भनेको हो ? मात्र यत्ति हो, म आफ्नो स्वाभिमान बेच्दिनँ, नैतिकता बेच्दिनँ, इमानदारिता बेच्दिनँ । पीडितको पक्षमा मुद्दा लड्दा मलाई खुशी मिल्छ, सुख मिल्छ ।’

त्यस्ता मुद्दा आफुले हेरिरहेको र त्यसको आफुसँग पचासौं उदाहरण रहेको समेत उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप