शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन मोटोपनाको शिकार भइरहेका छन् मानिसहरु ? यी ८ कुराहरु सबैभन्दा बढी जिम्मेवार

बिहीबार, १५ माघ २०७७, ०७ : २७
बिहीबार, १५ माघ २०७७

मोटोपनाका लागि हामी हाम्रो खानपिनको व्यवहारलाई जिम्मेवार मान्छौं । तर के खानपिनका कारण मात्रै मानिसहरु मोटोपनको शिकार हुन्छन् त ? क्यालोरी कम गर्दा र व्यायाम गर्दा पनि तपाईंको तौल बढिरहेको छ छैन ? यसको के कारण हुनसक्ला ? आउनुहोस्, यसबारे जानकारी लिऔंः

हाइपोथायरायडिजमः

यदि तपाईंको थाइरोयडले पर्याप्त थायरोयड हर्मोन बनाउन सकिरहेको छैन भने यसका कारण तपाईंलाई थकान, कमजोरी, चिसो लाग्ने र तौल बढ्नेलगायतका लक्षण देखिन सक्छन् । पर्याप्त थाइरोयड हर्मोन बिना मेटाबोलिजम कमजोर हुने गर्छ जसका कारण तपाईंको तौल बढ्न सक्छ । 

रजनोवृत्तिः

थुप्रै महिलाहरुको तौल महिनावारी सुक्ने (रजनोवृत्ति) का बेला पनि बढ्ने गर्छ तर यसको कारण हर्मोन मात्रै होइन । उमेर बढेसँगै मेटाबोलिजम कमजोर हुने गर्छ र यसका कारण केही क्यालोरी मात्रै बर्न हुन सक्छ । महिनावारी सुकेपछि नितम्ब र तिघ्राको तुलनामा कम्मरमा बढी बोसो बढ्ने गर्छ । 

निद्रामा कमीः

निद्रा पूरा नहुँदा दुई कारणले तौल बढ्ने गर्छ । एउटा त जब तपाईं अबेर रातीसम्म जागा बस्नुहुन्छ तब तपाईंलाई भोक लाग्छ र तपाईं केही न केही खानुहुन्छ जसका कारण क्यालोरी बढ्ने गर्छ । दोस्रो कारण भनेको निद्रा पूरा नहुँदा हर्मोनको स्तर बिग्रने गर्छ, यसैकारण पनि राती भोक लाग्छ । 

तनावः

तनाव लिँदा शरीरमा कार्टिसोल हर्मोन बन्छ जसले भोक बढाउँछ । तनावमा हुँदा वा मुड खराब हुँदा हामी धेरैजसो हाई क्यालोरीयुक्त खानेकुरा खान्छौं जसका कारण शरीरले आराम पाओस् र मूड राम्रो होस् । यसका कारण अन्जानमै तौल बढ्न थाल्छ । 

एन्टिडिप्रेसन्ट औषधीः

केही एन्टिडिप्रेसेन्ट औषधीको साइड इफेक्टका कारण पनि तौल बढ्छ । वास्तवमा यी औषधीका कारण केही मानिसहरुको मूड राम्रो हुन्छ र उनीहरुलाई भोक लाग्छ । यदि तपाईंलाई यी औषधीको सेवनले तपाईंको तौल बढ्न थालेको छ भन्ने लाग्छ भने आफ्नो डाक्टरलाई यसको जानकारी दिनुहोस् तर कहिले पनि खाइरहेको औषधी आफैंले खान बन्द नगर्नुहोस् । डिप्रेशनका कारण पनि तौलमा परिवर्तन आउँछ । 

अन्य औषधीः

केही अन्य औषधी पनि तौल बढाउने काम गर्छ । यसमा एन्टिसाइकोटिक औषधी, माइग्रेन, हृदयघातका औषधी, उच्च रक्तचाप र मधुमेहका औषधी पनि समावेश छन् । यदि तपाईं यी औषधीको सेवन गर्नुहन्छ र तपाईंको तौल बढिरहेको छ भने आफ्नो डाक्टरलाई यसको साइड इफेक्टबारे जानकारी दिनुहोस् । केही महिलाले गर्भनिरोधक औषधीको सेवन गर्दा पनि तौल बढ्ने गर्छ । 

पोलिसिस्टिक ओभरी सिन्ड्रोमः

पोलिसिस्टिक ओभरी सिन्ड्रोम महिलामा एक साधारण हर्मोनल समस्या हो । यसमा स–साना सिस्ट पलाउने गर्छन् । यसका कारण महिनावारी अनियमित हुन्छ र मुखमा डण्डिफोर आउन थाल्छन् । यसकै कारण पेट वरिपरि फ्याट जम्मा हुन थाल्छ । 

धुम्रपान छोड्नुः

धुम्रपान छोड्नु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । धुम्रपान छोड्ने प्रक्रियामा पनि तौल बढ्न थाल्छ तर यो निकै साधारण हुन्छ । स्मोकिङ छोडेको केही हप्तापछि तपाईंलाई असाध्यै धेरै भोक लाग्दैन र तपाईंको बढेको तौल क्रमशः कम हुन थाल्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप