शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रदेश नं १ सरकारविरुद्धको प्रस्ताव पारित हुन्छ’

बुधबार, १४ माघ २०७७, १९ : ४२
बुधबार, १४ माघ २०७७

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रदेश नं १ इञ्चार्ज भीम आचार्यले प्रदेशसभामा पेश भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । समूहद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार अल्पमतमा परिसकेको हुनाले अविश्वास पारित हुने दाबी गरे । इञ्चार्ज आचार्यले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता तथा प्रदेश सदस्यसँग छलफल भइरहेको जानकारी दिए ।

अविश्वास प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनबारे छलफल अघि बढ्ने चर्चा गर्दै उनले ‘अहिले सम्पूर्ण ध्यान अविश्वास प्रस्ताव पारित गर्नेमा केन्द्रित रहेको छ’ भने । नेता आचार्यले सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले यही माघ १६ गते विराटनगरमा आयोजना गरिन लागिएको विरोधसभा भव्य हुने बताए । विरोधसभामा ६० हजारभन्दा बढी जनसहभागिता रहने दाबी पूर्वमन्त्री आचार्यले गरे । विरोधसभामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।

‘विधिको शासन हुनुपर्छ’

लोकतन्त्रमा व्यक्ति ठूलो नभई विधिको शासनको अनुशरण हुनुपर्ने आज यहाँ आयोजित अन्तक्रियाका वक्ताले बताएका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुला पत्रकार सम्मेलन एवं अन्तक्रियामा उनीहरुले जनताको अभिमत स्वीकार गरी संसद् पुनःस्थापना गर्नुपर्नेमा जोड दिए ।
    
समाजका संयोजक प्रा.कृष्ण पोखरेलले विघटनबाट लिकबाट हटेको संसदीय व्यवस्थालाई ठीक ठाउँमा ल्याउन सडक आन्दोलन आजको आवश्यकता भएको बताए । अधिवक्ता मेदिनी सेढाईं, अर्थशास्त्री प्रा डा प्रमोदकुमार झा र नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेलले संसद् विघटन कार्यलाई सच्चाउनका लागि नागरिक समाज सडकमा उत्रन बाध्य भएको विचार राखे । समाजले सडक आन्दोलनलाई अझ सशक्त ढङ्गले परिचालन गर्न प्राध्यापक, बुद्धिजीवी अधिवक्ता मानव अधिकारकर्मी र सञ्चारकर्मी रहेको ११० सदस्यीय समिति गठन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप