शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकीय घान्द्रुकमा सिनेमा, साहित्य र पर्यटनबारे बहस

बुधबार, १४ माघ २०७७, १९ : ४०
बुधबार, १४ माघ २०७७

पोखरा । नेपाल चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा घान्द्रुक गाउँमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । जसअन्तर्गत ४ सेसनमा बहस र सम्वाद चल्यो । ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य, सम्बन्ध र साझेदारी’ बारेमा छुट्टाछट्टै सेसनमा छलफल चल्यो । 

छलफलको पहिलो सेसन ‘सिनेमा टुरिजमको सम्बन्ध र सम्भावना’ मा वक्ताको रुपमा नेपाली चलचित्रका निर्देशक÷नायक सुदर्शन थापाले भाग लिए । त्यसैगरी पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरेका थिए । 
छलफलको सुरुवातमै सहजकर्ता मिश्रले वक्तातर्फ भावार्थ रुपमा नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रवर्द्धनमा ठूलो आयतनमा सहयोग नपुगेको बताए । कोभिड–१९को महामारीपछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुवै रहेको उनले तर्क गरे ।

अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ त? ‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । कोरोना साम्य बन्दै गएपछि भने विस्तारै लयमा फर्किँदै छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘आन्तरिक पर्यटनलाई कसरी पुनर्स्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ ।’ 

निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै सिनेमा र पर्यटन दुवै क्षेत्र अति प्रभावित भएको सुनाए । उनले भने, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो । सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ । म पनि १२ वर्ष अघि घान्द्रुक आएको थिएँ ।’ 

आफू १२ वर्षअघि ‘मेरो एउटा साथी छ’ फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने,, ‘सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै । म त्यसबेला र अहिले आउँदा धेरै परिवर्तन भइसकेको छ । केही हदसम्म टेलिफिल्मले निकै चिनायो घान्द्रुकलाई । विकास निर्माणको काम पनि धेरै भइसकेको रहेछ ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईले सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरुमा पर्यटकको आकर्षक केन्द्र बनेको बताए । ‘सिनेमाबाट पोखराका वरिपरिका क्षेत्रहरुको क्रमश विकास भइरहेको छ,’ उनले भने, ‘अहिले पर्यटन संस्थाहरु अस्ताएको हो कि भन्ने लाग्छ । त्यसमा हाम्रो समन्वय जरुरी छ ।’ 

सिनेमा र गीतसंगीतले पर्यटकीय क्षेत्रको रुपमा कुनै पनि स्थानलाई चिनाउन सहयोग गरे पनि त्यसको विकास निर्माणमा सहयोग पुग्ने भन्ने नहुने निर्देशक थापाको मत छ । उनले भने, ‘के यो माया हो ? भन्ने फिल्म मुस्ताङमा सुटिङ गरियो, तर त्यसमा भूगोलको चर्चा भएन । पछि प्रेम गीत भन्ने फिल्म त्यहीँ खिच्यौं । घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं । आन्तरिक पर्यटक आउँदा नै अझ राम्रो बनेको सुनियो । त्यो ठाउँको भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन् ।’ 

पर्यटन सम्बद्ध संस्थाहरुको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो कि भन्ने प्रश्नमा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘माया त गरेकै छौं तर समन्वय नभएकोचाहिँ हो । विगतमा भएको कमजोरीभन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो ।’ 

दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ मा कलाकार दीपकराज गिरी, लेखक गणेश पौडेल, कवि भूषिता वशिष्ठ वक्ता थिए भने सहजकर्तामा दिनेश डिसी थिए । वक्ताहरुसँग सहजकर्ता डिसीले साहित्यिक कृतिमाथि बनेका फिल्महरुको समीक्षा अनुभवबारे प्रश्न गरे । कवि भूषिताले सिनेमाको संवादमा मौलिकता हुनुपर्ने बताइन् । कलाकार दीपकराज गिरीले लेख्ने चिज र बोल्ने चिज दुवै फरक भएको बताए ।

साहित्यमाथि सिनेमा पर्याप्त मात्रामा नबन्नुको कारण सिनेमाकर्मीहरु दर्शकसँग डराएको कलाकार गिरीले सुनाए । उनले भने, ‘लेखिने र बोलिनेमा फरक हुन्छ नै । जटिलता हुने कारणले गर्दा पनि होला नेपालमा साहित्यमाथि सिनेमा बनेनन् ।’ 

लेखक गणेश पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको बताए । ‘सिनेमा कला हो भाषा होइन,’ उनले भने । आफ्नो परम्परा र संस्कृतिलाई घुसाएर हरेक प्रकारका कला सिनेमा देखाउन सकिने उनले बताए । यता कलाकार गिरीले भने एकाध बनेका चलचित्रलाई गनेर चलचित्र क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने बताए । प्रजातन्त्रको पुनर्स्थापनापछि नै नेपाली सिनेमाको उत्थान भएको उनको भनाइ छ । नेपाली सिनेमाले ३० वर्षको यात्रामात्र पार गरेको उनले बताए । 

‘उपन्यासमा संवाद थोरै र विवरण धेरै हुन्छन् । सिनेमा दृश्य भाषामा बोल्नुपर्ने हुन्छ, त्यसमा पनि सीमितता छ । अर्को, बजेटले पनि प्रभाव पार्छ,’ कलाकार गिरीले भने, ‘मार्केटले भन्छ, दुई करोडभन्दा माथि लग्यो भने डुब्यौं । एउटा भिलेनले हिरोलाई लखेटेको सिन देखाउनलाई, होली सिनका लागि पाँच सय मान्छे जम्मा पार्न बजेटले नथेग्ने हुन्छ ।’ 

साहित्यसँग सिनेमाको साझेदारीको प्रश्नमा कवि भूषिताले सिनेमाकर्मी साहित्यकारहरुसँग डराउन नहुने बताइन् । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दाबन्दी पश्चात खुलेको पर्यटन र चलचित्र क्षेत्रको प्रचारप्रसारका लागि आफुहरुले उक्त कार्यक्रम आयोजना गरेको जानकारी गराए । अरुण गिरीले छोटो समयको तयारीमा ‘सिनेमा संवाद एट घान्द्रुक’ सम्पन्न भएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप