शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तरल राजनीतिबीच नयाँ प्रधानमन्त्रीको दाउपेच !

अबको प्रधानमन्त्री देउवा कि भट्टराई ?
बुधबार, १४ माघ २०७७, १६ : ४१
बुधबार, १४ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि तरंगित र संवेदनशील बन्दै गइरहेको नेपाली राजनीतिमा अहिले आआफ्नै दाउपेच शुरु भएको छ । कसैले नयाँ जनादेशका लागि चुनावको वकालत गर्दै हिडेका छन् भने कसैले प्रतिनिधिसभा पुर्नस्थापनामा नै जोड दिएका छन् । प्रतिनिधिसभा पुर्नस्थापना होस् वा नयाँ चुनाव, त्यसपछि प्रधानमन्त्री को बन्ने हिसाब किताब पनि शुरु भएको छ । 

अहिलेको अवस्थामा प्रधानमन्त्रीका लागि सबभन्दा बढी चर्चा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको रहेको छ । प्रतिनिधिसभा पुनःस्थापना भयो भने सहमतिको सरकार बन्छ । सहमतिको सरकार बन्दा नेपाली काँग्रेस र जसपा नेपाल ‘बार्गेनिङ् प्वाइन्ट’ रहेका छन् । 

ढिलो चाँडो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन निश्चित छ । प्रतिनिधिसभाको भाग्य निर्धारण गर्ने कुरा यतिखेल सर्वोच्च अदालतको फैसलामा निर्भर छ । कदाचित सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने फैसलाले  प्रतिनिधिसभा पुर्नस्थापन भयो भने संसदमा चारवटा शक्तिशाली दलको उपस्थिति हुनेछन् । स्वभाविक छ, बदलिएको राजनीतिक परिस्थितिमा चारवटै दलमा प्रधानमन्त्रीका लागि खिचातानी चल्नेछ भने आफ्नो पल्ला भारी तुल्याउन गठबन्धन तथा कार्यगत एकता हुने निश्चित छ । ‘रात रहे अग्राख पलाए’ भन्ने भएन भने अहिलेसम्मको विभाजित नेकपाले मिलेर सरकार बनाउने सम्भावना लगभग शून्य छ । यो स्थितिमा काँग्रेस र जसपा नेपालमध्ये कुनै एउटाको पोल्टोमा प्रधानमन्त्री जान सक्ने लगभग निश्चित छ । जसले सरकार बनाए अहिलेसम्मको स्थितिमा केपी शर्मा ओली र प्रचण्ड दुवैजना प्रधानमन्त्रीको दौडबाट बाहिरिनेछन् । 

यता, नेपाली काँग्रेसका सभापति देउवाभन्दा डा.भट्टराईको सम्भावना बढी रहेको स्रोतहरुको दावी छ । यतिखेर देउवाले संसद पुनःस्थापनाका पक्षमा आफूलाई मुखर ढंगले उभ्याएका छैनन् । उनको दाउपेच अहिलेको विभाजित परिस्थितिको फाइदा उठाएर नयाँ जनादेशमार्फत प्रधानमन्त्री बन्ने सोचमा रहेका देखिन्छ । नेपाली कांग्रेसको लाइनबारे कुरा गर्दै नेपाली काँग्रेसका नेता एनपी साउदले पनि प्रतिनिधिसभा पुर्नस्थापना हुने सम्भावना एकदमै कम रहेकाले आफूहरु चुनावको तयारीमा लागेको बताए । 

अर्कोतिर अदालतले जे निर्णय गर्छ त्यही अनुसार अगाडि बढ्ने पनि आफूहरुको लाइन रहेको बताउँदै उनले काँग्रेस पार्टी कम्युनिस्टको बैशाखी टेकेर प्रधानमन्त्री प्राप्त गर्ने पक्षमा नरहेको पनि दावी गरे । जनताले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने काँग्रेसलाई म्याण्डेट दिएको हुनाले प्रतिनिधिसभा पुर्नस्थापना भएपनि सभापति देउवा प्रधानमन्त्रीको दौडमा नरहेको उनको भनाइ छ । नयाँ जनादेशबाट निर्वाचित भई प्रधानमन्त्री बन्ने सोचमा देउवा रहेको उनको भनाइ छ ।  

त्यसो त अहिलेको परिस्थितिमा सभापति देउवालाई नेकपाका दुवै पक्षका अध्यक्षहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री समेत रहेको केपी ओलीले सरकारको नेतृत्व लिन प्रस्ताव गर्दै आएका छन् । स्रोतका दावीअनुसार, प्रतिनिधिसभा पुनःस्थापनामा सहयोग गरेपछि अगामी सहमतिको सरकारमा प्रधानमन्त्री दिने प्रचण्डले प्रस्ताव गरेको छ भने उता, प्रधानमन्त्री ओलीले पनि चुनावमा आफूहरुसँग गठबन्धन बनाएर गए नेपाली कांग्रेसलाई प्रधानमन्त्री पद दिने अफर गरेका छन् । 

यी प्रस्तावमध्ये सभापति देउवा नयाँ जनादेशमा जाने मनस्थिति बनाइसकेका छन् । चुनावमा गए भने नेकपाभन्दा ठूलो पार्टी हुने र स्वतः प्रधानमन्त्रीको पद आफ्नो भागमा आइपुग्ने आँकलन काँग्रेस पार्टीको आँकलन रहेको छ । यही कारण यतिखेर कांग्रेसभित्र देउवा पक्षको जोडबल प्रतिनिधिसभा पुनःस्थापनामा हैन, चुनावमा जानुपर्ने रहेको बुझिन्छ । प्रतिनिधिसभा पुर्नस्थापना हुने सम्भावना निकै कम रहेको कुरा सभापति देउवा स्वयंले बैठकहरुमा भन्दै आएका छन् । चुनावमा जाँदा नै पार्टीका लागि हितकरण हुने उनले तर्क दिँदै आएका छन् ।  

प्रतिनिधिसभा पुनःस्थापना कांग्रेसको लाइन हुन्थ्यो भने  भने अहिले विभिन्न प्रदेशमा उसले मुख्यमन्त्री पदको दावी ठोकिसकेका हुन्थे ।  ज्ञात भएकै कुरा हो कि प्रचण्ड र ओली दुवैले प्रदेशहरुमा मुख्यमन्त्री दिन तयार छन् । तर चुनावमा नै जाने भएपछि यतिखेर किन मुख्यमन्त्री पदमा अल्झिने भन्ने सभापति देउवाको तर्क  रहेको काँग्रेसका नेताहरु बताउँछन् ।

त्यसको ठीक विपरीत जसपा परिषद्का अध्यक्ष भट्टराई भने संसद पुनःस्थापनाको पक्षमा रहेका छन् । संविधान विपरीत संसद विघटन भएको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् । अहिले उनका एक मात्र अर्जुनदृष्टि प्रतिनिधिसभा पुर्नस्थापना नै हो, अध्यक्ष भट्टराईका अत्यन्तै निकट रहेका जसपा नेपालका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले भने, ‘डा.बाबुराम भट्टराई प्रधानमन्त्रीको दौडमा हुनुहुन्न, उहाँको एक मात्र उद्देश्य प्रतिनिधिसभा पुर्नस्थापना गराउनु हो ।’

प्रतिनिधिसभा पुर्नस्थापना भइसकेपछिको अवस्थामा मात्र प्रधानमन्त्री पदको बारेमा छलफल गर्न सकिने बताउँदै उनले यतिखेरको मुख्य कार्यभार नै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई परास्त गर्नु रहेको पनि बताए । पाण्डेका अनुसार प्रधानमन्त्री ओलीको कदमलाई असफल पार्न सकिएन भने लोकतन्त्र नरहने र त्यो भविष्यका लागि खतरनाक नजिर बन्ने भएकोले पनि जसपाको मुख्य ध्यान नै सबैभन्दा पहिला प्रतिनिधिसभा पुर्नस्थापना गराउने रहेको छ । त्यसपछि मात्र अरु विषयमा छलफल गर्न सकिने पाण्डेको भनाइ छ । 

‘संसद पुर्नस्थापना भइसकेपछि प्रधानमन्त्रीका लागि साझा सहमति बन्नु आवश्यक रहेको’ उल्लेख गर्दै पाण्डेले ‘त्यतिबेला प्रधानमन्त्रीका लागि डा.बाबुराम भट्टराईको आवश्यकता छ भनि अन्य दलहरुबाट प्रस्ताव आयो भने त्यस बारेमा केही सोच्न सकिन्छ, अन्यथा प्रधानमन्त्रीको दौडमा डा. भट्टराई नरहेको’ नेता पाण्डेले बताए । 

यसबीच नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष प्रचण्डले पटक पटक डा.भट्टराईलाई भेटेका छन् । उनले हरेक भेटमा प्रतिनिधिसभा पुर्नस्थापनाका लागि संयुक्त आन्दोलन गरौं, प्रतिनिधिसभा पुर्नस्थापना भइसकेपछि संयुक्त सरकार बनाउने पनि प्रस्ताव गरिएको उनी निकट नेताहरुको दावी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप