कोरोनाविरुद्ध नयाँ युग : त्रासका ती दिन, खुसीका यी दिन
जुलाई २० सन् १९६९ मा निल आर्मस्ट्रङले पहिले आफ्नो देब्रे पाइलाले चन्द्रमा टेके । उनले सो उपलब्धिलाई,‘मानिसको एउटा सानो पाइला, मानवताका लागि अजंग छलाङ’ भनेर व्याख्या गरेका थिए । तर, ५० वर्षपछि मानव जाति र विज्ञानको अस्तित्त्वमाथि नै संकट सृजना गर्नेगरी कोरोना भाइरसले शिर उठायो ।
२०१९ को अन्त्यमा चीनको ऊहानबाट फैलिएको कोभिड–१९ नामक कोरोना प्रजातिको यस भाइरसले मानव समूदाय र विज्ञानलाई दिएको चुनौती अझै पार लागिसकेको छैन । यद्यपि, आशाका किरणहरु देखिएका छन् र त्यही किरणको एउटा झिल्को बुधबार नेपालमा प्रकट भयो । महिनौंसम्मको सकस, तनाव र अभावपछि सुरु भएको खोप विकास, विश्वका विभिन्न प्रयोगशालामा विभिन्न चरण र त्यसपछि मानिसमा यसको परीक्षणले आशाको दियो निभ्न दिएको थिएन । फलत, अहिले धेरै देशमा खोप कार्यक्रम चलिरहेको छ ।
यही अभियानअन्तर्गत बुधबार नेपालमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाइयोे, शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल, टेकुका डाक्टर शेरबहादुर पुनले यसलाई कोरोनाविरुद्धको लडाइँको विराट उपलब्धिको रुपमा चित्रित गरे । ‘संख्यात्मक रुपमा अहिले थोरैले लगाएपनि कोरोनाविरुद्धको लडाँइमा यो ठूलो महत्त्व राख्ने कदम हो । यद्यपी, अझै लामो बाटो तय हुनै बाँकी छ । त्यसैले सतर्क रहँदै यसको सामना गर्नुपर्छ,’ खोप लगाएपछि पुनले प्रतिक्रिया दिए, ‘यसले समस्यासँगै समाधान पनि छ भन्ने सन्देश दिएको छ ।’
नेपालमा पहिलो चरणमा १० दिनको अवधिमा झन्डै ४ लाख ३० हजार जनालाई खोप लगाउने सरकारी तयारी छ, यसक्रममा २८ दिनको अन्तरमा प्रत्येकलाई खोपको दुई डोज लगाइन्छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले मिलेर विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ र यसलाई ‘कोभिशिल्ड’ नाम दिइएको छ । यही खोपको १० लाख डोज नेपालले अनुदानमा पाएको हो ।
त्यस्तै, भारत, चीनलगायत अन्य देशसँग पनि खोप खरिद गर्ने विषयमा सरकारले छलफल अघि बढाएको छ । यसका अलावा ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनअन्तर्गत कोभाक्स सुविधाबाट नेपालले सहुलियत दरमा कुल जनसंख्याको २० प्रतिशतलाई पुग्नेगरी खोप प्राप्त गर्नेछ ।
अहिले नेपालमा प्रयोग गरिएको कोभिशिल्ड खोपको विश्वसनीयता दर ६२ देखि ९० प्रतिशत रहेकाले पनि यसलाई लगाउन कुनै हिच्किचाहट मान्नु नपर्ने जनस्वास्थविद्हरुको भनाइ छ ।
‘विभिन्न खाले भ्रम र अफवाहका कारण कतिपय व्यक्तिहरु खोप लगाउन तर्सनु भएजस्तो देखिन्छ । गर्भवती, स्तनपान गराइरहेका, हाइपरटेन्सन भएका र खोपका कारण एलर्जी देखिएकाबाहेक अरु सबैलाई नतर्सिइ खोप लगाउन आग्रह गर्छु,’ टेकु अस्पतालका कोभिड–१९ संयोजक अनुप बाँस्तोलाले रातोपाटीलाई भने ।
राष्ट्रिय जनस्वास्थ प्रयोगशालाकी डाक्टर रुना झाले कोरोनाविरुद्धको लडाइँ जित्नका लागि खोप लगाउन जरुरी छ भन्ने सन्देश दिनका लागि आफूले पहिलो दिन नै खोप लगाएको बताइन् ।
उनीसहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका महानिर्देशक सागर राजभण्डारीसहित फ्रन्टलाइनमा खटिने विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र सरसफाईकर्मीले बुधबार खोप लगाएका छन् ।
त्रासका ती दिन
खोप लगाउँदै गर्दा धेरैजसो स्वास्थ्यकर्मीहरु कोरोनाका सुरुवाती दिन स्मरण गरिरहेका थिए । गत पुसमै नेपालमा कोरोनाका पहिलो बिरामी भेटिए, तर हङकङको ल्याबमा परीक्षण गरेर नतिजा आउँदासम्म माघ लागिसकेको थियो ।
‘माइक्रोबायोलोजी डाक्टर रन्जित शाहले पहिलो संक्रमितको स्याम्पल लिनुभएको हो । त्यसपछि हङकङस्थित ल्याबमा परीक्षणका लागि पठाइयो । स्याम्पल लिदाँसम्म परीक्षण गराउने व्यक्तिमा कोरोना होला भन्ने शंका गरिएन । जब नतिजा, पोजेटिभ आयो । तब समस्या भयो,’ प्रयोगशाला प्रमुख झाले विगत सम्झिइन्, ‘ शाहजीले केवल एउटा मास्कको भरमा प्रयोगशालामा स्याम्पल लिनुभएको थियो, पीपीई त उपलब्ध नै थिएन र स्याम्पल लिदाँ बिरामीले खोकिदिनु भएको पनि थियो र डाक्टर सापलाई धेरै समय त्रास थियो । १५–२० दिन प्रेसर भएको महसुस भएको थियो ।’
डाक्टर शाहमात्रै नभएर राष्ट्रिय जनस्वास्थ प्रयोगशाला र टेकु अस्पतालका अधिकांश स्वास्थ्यकर्मी तथा कर्मचारी पनि संक्रमणको घटना सार्वजनिक भएपछि आतंकित बनेका थिए । तर, त्रासका बाबजुद आम सर्वसाधारणको जीवनरक्षाका लागि उनीहरु महिनौंसम्म अहोरात्र खटिए, अहिले पनि खटिएकै छन् ।
टेकु अस्पतालमा कार्यालय सहयोगीका रुपमा कार्यरत नुवाकोटका लालबहादुर वाइवाले कोरोना संक्रमणको सुरुवाती दिनमा निकै त्रास भएको स्मरण गरे । उनले भने, ‘अस्पतालमा काम गर्ने भएकाले म १० महिनासम्म त घर नै गइँन । निरन्तर ड्युटी गरियो, आफूमार्फत अन्य कोही संक्रमित नहोस् भन्ने सधैं थियो । तर आज, पहिलो प्राथमिकतामै खोप लगाउन पाउँदा निकै खुसी लागेको छ । यसले कोरोना न्यूनीकरण गर्छ भन्नेमा आशावादी छु ।’
सुरुवातमा आवश्यकताभन्दा धेरै त्रास फैलिएपनि स्वास्थकर्मीहरु सम्हालिएको झा बताउँछिन् । ‘गत वर्ष एक इटालियन पर्यटक हाम्रो कार्यालयमा आइपुगेका थिए । त्यसपछि सबै कर्मचारीहरुको भागभाग भयो । रिसेप्सनमा बस्ने साथीसँग उहाँले केही सोध्न खोज्नु भएको रहेछ । तर ती साथी काँपेर बस्नुभयो र जवाफ फर्काउनै सक्नु भएन । पछि, म आफैं गएर उहाँसँग कुराकानी गरे,’ झाले भनिन्, ‘उहाँ हाम्रो प्रयोगशालासँगै जोडिएको टेकु अस्पताल जानुपर्ने, बाटो झुक्किएर यता आइपुग्नुभएको रहेछ ।’
आम सर्वसाधारणझैं स्वास्थ्यकर्मी, उनीहरुका आफन्त र परिवारहरु चिन्तित हुनु स्वभाविकै थियो । किनकी, कोरोनाबारे न पर्याप्त अध्ययन भएको थियो, न यसको उपचार नै थियो । बिरामी तथा एकअर्काको सम्पर्कमा आउँदा समेत संक्रमित हुनसक्ने उच्च जोखिम रहेकाले स्वास्थकर्मीहरु निकै त्रासमा थिए । अवकाशपछि पनि सरकारी अस्पतालहरुमा कार्यरत कतिपय कर्मचारीहरुले त्रासकै कारण कोरोनाकालमा भने हतारहतार राजीनामा गरे, तर स्वीकृत भएन । उनीहरु किन समयमै जागिर छाडेर हिँडिएन भन्दै पछुतो पनि गर्थे । यद्यपी छोटो समयमै भ्रम टुट्यो अनि काममा सक्रिय भएर लागे ।
‘त्रासका बाबजुद मानवताको सेवा गर्ने मौका यही हो भन्नेमा धेरैजसो स्वास्थ्यकर्मी विश्वस्त हुनुहुन्थ्यो, किनकी हाम्रो पेशाको माग पनि यही हो,’ झाले थपिन्, ‘त्यसैले सुरुमा केही आतंकित भएपनि विस्तारै सतर्कता र साहसपूर्वक स्वास्थकर्मीहरु फ्रन्टलाइनमा खटिनुभयो । विश्वलाई नै आतंकित गर्ने यो महामारी जसरी एउटा दुग्भार्य हो, त्यसरी नै मानवताको सेवा गर्ने यस्तो अवसर स्वास्थ्कर्मीका लागि भाग्य पनि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...