शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहा नगरपालिकाद्वारा तीन दिन विद्यालय बन्दको घोषणा

बुधबार, १४ माघ २०७७, १४ : ०७
बुधबार, १४ माघ २०७७

लहान । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए ।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उनले बताए । शैक्षिक क्यालेन्डर २०७७ को वर्षे बिदाबाट कट्टा हुने गरी माघ १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत यादवको कथन छ । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहमा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ । यसैबीच चिसो बढ्दै गएपछि सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा आगो बाल्न दाउरा वितरण गरेको छ । 

निःशुल्क शिविरमा २४१ को जाँच

स्वास्थ्यचौकी गोलबजारमा आयोजना गरिएको आँखा र कानको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले जाँच गराएका छन् । स्वास्थ्य मन्त्रालयको सहयोगमा सगरमाथा चौधरी आँखा अस्पताल र स्वास्थ्यचौकीद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाको उपचार गरिएको स्वास्थ्यचौकी गोलबजारका प्रमुख सत्यनारायण यादवले जानकारी दिए ।

कानको ४७ र आँखाका १९४ बिरामीको उपचार गरिएको प्रमुख यादवले बताए । सो क्रममा ७३ जनामा मोतियाविन्दु देखिएकालाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि पठाइएको जनाएको छ । 

तीन हजार ९३० लाई कोरोना खोप

पहिलो चरणमा सिरहाका तीन हजार ९३० जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलका अनुसार पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, कारागारका कैदीबन्दी, एम्बुलेन्स चालक र शववाहनका चालकलाई खोप लगाइने छ ।

कोरोनाविरुद्धको खोप विभागबाट आइसकेको र जिल्ला अस्पतालमा भण्डारण गरी राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । सिरहा अस्पतालको हाताभित्र तीनवटा बुथ स्थापना गरी आज बिहान ११ बजेबाट खोप लगाउन शुरु गरिने उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप