बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई लगाएर सुरु भयो प्रदेश १ मा खोप अभियान

बुधबार, १४ माघ २०७७, १४ : ०४
बुधबार, १४ माघ २०७७

विराटनगर । प्रदेश १ मा पनि आजबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा ३५ हजार ५७६ जना स्वास्थ्यकर्मी, कर्मचारी र सरफाईकर्मीलाई खोप लगाउने लक्ष्यसहित खोप अभियान थालिएको हो । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा खोप अभियान थालिएको हो । 

खोप अभियान शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिडविरुद्ध विजय प्राप्त गर्ने काम सुरु भएको बताए । उनले पहिलो चरणमा लक्षित वर्गलाई कोरोना खोप लगाएपछि सबै नागरिकलाई खोप लगाउन सुरु गरिने जानकारी दिए ।

आज प्रदेश १ का ८ जिल्लाका १९ वटा केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ । बिहीबार ४ र शुक्रबार २ जिल्लामा खोप कार्यक्रम शुरु हुनेछ । पहिलो दिन मोरङमा ५, सुनसरीमा ४, झापा तथा इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा केन्द्रबाट खोप लगाइँदैछ । आज झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५ सय ६ जनालाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

कोभिडविरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा. सिग्देलले भ्याक्सिन सुरक्षित रहेकाले डराउनु नपर्ने दावी गरे । उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको  जिकिर गरे । पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए ५ महिनासम्म सुरक्षित रहन सकिने डा. सिग्देलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रबिन कटेल
रबिन कटेल
लेखकबाट थप