शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

केपीलाई प्रचण्डतिर र प्रचण्डलाई केपीतिर फर्काइदिने तागत मसँग छः वामदेव गौतम

बुधबार, १४ माघ २०७७, १३ : ५१
बुधबार, १४ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकै ठाउँमा फर्काउने उद्घोष गरेका छन् । बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै उपाध्यक्ष गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षद्वय ओली र प्रचण्डलाई एकैतिर फर्काइदिने बताएका हुन् ।

गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताउँदै उनले भने, ‘अहिले उहाँहरु दुईतिर फर्कनुभएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ ।’  यस्तै पुरानो मतको हिसाब निकाल्दै नेकपाको फुटले काँग्रेसलाई फाइदा हुने उनले बताए ।

अघिल्लो निर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेर निर्वाचनमा जाँदा ठूलो लहर आएको उल्लेख गर्दै गौतमले त्यतिबेला दुई पार्टीले ४३ लाख मत मात्रै आएको उल्लेख गरे । उक्त निर्वाचनमा काँग्रेसले ३० लाख मत पाएको थियो । गौतमको अनुमानमा तीन वर्षमा करिब ७ लाख मतदाता बढेका हुन सक्छन् र ती मतदाता विभाजित हुँदा काँग्रेसको मत बढ्ने र नेकपा विभाजित हुँदा झन् घट्नेछ ।

गौतमले भने, ‘यो तथ्यले बताउँछ कि हामी हार्छौं र बीचबाट उठेको काँग्रेस सरकारमा पुग्ने पक्का छ । तर, नेताहरू फुटाएर बहुमत ल्याउँछौँ भनिरहनुभएको छ ।’ गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् ।

उनले भने– ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ?’ संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले बताए । ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झर्‍यौं’ गौतमले भने ।

पार्टी फुटेकामा नेपाली काँग्रेसलगायतका अन्य दलहरु पनि खुशी नभएको गौतमले बताए । नेता गौतमले आफूहरुले नयाँ पार्टी बनाउन नलागेको बताए । तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे ।  ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ उनले भने ।

गौतमले प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने जिकिर गरे । ‘पार्टी एकता हुँदै भएन भने के गर्ने ? भन्ने पनि साथीहरुको जिज्ञासा छ’ उनले भने, ‘‘हुँदै भएन भने तयतिबेला हाम्रो केन्द्रीय कमिटी बसेर निर्णय गरौंला ।’  

यस्तै आफ्नो अभियानमा प्रचण्ड र ओलीले ‘म जान्नँ’ भन्न नसक्ने अवस्था नहुने उनले बताए । यदि पार्टी एकिकरणबाट विमुख भए ओली र दाहाल सैनिक बिनाको सेनापतिजस्तो हुने पनि गौतमले बताए ।  यदि वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप