बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु

खोप लगाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. थापाले भने- अब समाजसेवामा सक्रिय हुन्छु
बुधबार, १४ माघ २०७७, १३ : ४१
बुधबार, १४ माघ २०७७

पोखरा । बुधबार देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । यसै क्रममा गण्डकी प्रदेशमा कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापालाई खोप हस्तान्तरण गरे ।

उदघाटन समारोहमा मुख्यमन्त्री गुरुङले सरकारले विश्वका विकसित देशहरुले खोप लगाउन थालेको डेढ महिना नबित्दै प्रदेशमा कोरोना संक्रमण विरुद्धको खोप सुरु गरेको बताए । उनले पहिलो चरणमा ‘फ्रन्ट लाइनर’का लागि सुरु गरिएको खोप क्रमशः सर्वसाधारण जनताका लागि लगाइने बताए । 

‘सरकार जनताको स्वास्थ्यका लागि अत्यन्त जिम्मेवारीका साथ अगाडि बढेको छ,’ उनले भने, ‘त्यसैले कोरोना विरुद्धको खोपको प्रारम्भ भएको छोटो समयमै नेपाली जनताका लागि निःशुल्क खोप सुरु भएको छ ।’ कोरोनाविरुद्धको पहिलो खोप लगाएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले गण्डकी प्रदेशमा सुरु गरिएको खोप पहिलो पटक आफूले लगाउन पाउँदा खुशी लागेको बताए । उनले पहिलो चरणमा फ्रन्टलाइनरका लागि सुरु गरिएको खोप सुरक्षित रहेको सन्देश दिन पहिलो खोप आफूले लगाएको बताए ।

‘स्वास्थ्यकर्मीहरुमा समेत के कस्तो होला भन्ने डर र चिन्तालाई हटाउन मैले पहिलो खोप लगाएँ,’ उपकुलपति डा.थापाले रातोपाटीसँग भने, ‘गण्डकीमा सुरु गरिएको खोप पहिलोपटक आफैले लगाएर फ्रन्टलाइनमा काम गर्नेहरुलाई अभिप्ररित गरेको हुँ ।’ 

उनले कोरोनाविरुद्ध सुरु गरिएको खोप अन्य खोपको तुलनामा धेरै सुरक्षित रहेको बताए । उनले लामो समयदेखि कोरोनाका कारण आफू समाजका विभिन्न कार्यक्रममा नगएको बताउँदै अब खोप लिएपछि भने विभिन्न कार्यक्रमहरुमा सामेल हुने प्रतिवद्धता ब्यक्त गरे ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले पहिलो चरणमा खोप लगाउने फ्रन्टलाइनरका लागि कोरोनाविरुद्धको खोप सुरक्षित रहेको सन्देश दिन आफूले प्रारम्भमै खोप लगाएको बताए । ‘मैले गण्डकी प्रदेशमा तेस्रो खोप लिएको हुँ, कुनै समस्यमा छैन, म ढुक्क छु,’ उनले भने, ‘स्वास्थ्यकर्मी साथीहरुको निगरानीमा छु ।’

अरु खोपको तुलनामा यो खोप सुरक्षित रहेको र खोप लगाएपछि आफ्नो आत्मबल बढेको पनि उनले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका प्यााथोलोजिस्ट डा.मुनी सुवेदीले खोप सुरक्षित रहेको बताइन् । उनले कोभिड–१९ को संक्रमण सुरु भएपछि पोखरा स्वास्थ्य प्रतिष्ठानमा कोरोनाको परीक्षण गर्ने पहिलो सौभाग्य मिलेको बताउँदै उनले गण्डकीमा प्रारम्भ भएको खोप लगाउनसमेत सुरुमै अवसर मिलेको बताइन् । 

‘मैले फ्रन्टलाइनमा रहेर काम गर्ने साथीहरुलाई उत्प्रेरणा र हौसला दिन सुरुमै खोप लागएँ,’ उनले भनिन्, ‘खोप सुरक्षित छ, मैले खोप लगाएको एक घण्टा भयो, मलाई कुनै समस्या छैन ।’ डा. सुवेदीले विश्वमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै छोटो समयमा विकास गरिएको खोप यति छिट्टै नेपालमा लगाउन पाउनु सौभाग्य भएको बताइन् । कोरोनाविरुद्धको लडाईमा स्वास्थ्यकर्मी, चिकित्सकहरु फ्रन्टलाइनमा खटिएकाले उनीहरुलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

अस्पतालकै स्वास्थ्यकर्मी र चिकित्सक मार्फत घर–परिवारमा कोरोना सर्न सक्ने खतरा भएकाले सुरक्षित रहन सबैले खोप लगाउनुपर्ने डा. सुवेदीको भनाइ छ । कोरोना संक्रमणविरुद्धको खोप ‘कोभिशिल्ड’ भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । गण्डकी प्रदेशमा पहिलो चरणमा कोरोनाविरूद्ध फ्रन्टलाइनमा खटिनेका लागि ४० हजार डोज खोप प्राप्त भएको हो । त्यसमध्ये पहिलो चरणमा लगाउने करिव १८ हजार डोज खोप प्रदेशमा आएको छ । 

केन्द्रले खोपसहित व्यवस्थापन र सहजीकरण गर्नका लागि गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई खोप व्यवस्थापन संयोजक तोकेको छ ।  खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड १९ को संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिनापछि पुनः दोस्रो मात्रा दिइने गण्डकी स्वास्थ्य निर्देशनालका निर्देशक डा.विनोदविन्दु शर्माले बताए । एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप