बादलको ढिक्का जसरी जब लाङटाङमा हिमपहिरो खस्यो

झुक्किनु होला । क्या गज्जबको बादल भन्ठानेर ।
साँझतिर कल्याङमल्याङ थाहा पाएँ, लाङटाङमा फेरि हिमपहिरो आएछ । ठिक त्यही ठाउँबाट, जहाँबाट ०७२ बैशाखमा हिमपहिरो खसेको थियो र सखापै पारेको थियो गाउँ । र, अहिले हिमपहिरो खसेको ठाउँ पनि त्यही हो, जहाँ त्यति बेला एउटा गुल्जार हिमाली गाउँ थियो, लाङटाङ । तर, अहिले त बगरमात्र । र, पहिरो खस्यो, त्यही बगरमा ।
‘न त मानविय न भौतिक, लाङटाङमा हिमपहिरो तर क्षति शून्य’, यो सुखद समाचार सुनाइन्, स्थानीय कार्तोक लामाले । तर, यो हिमपहिरो ०७२ को महाविनाशपछिको पहिलो हिमपहिरो पनि होइन । हिमपहिरो हिमालको नियमित आकस्मिकता वा आकस्मिक नियमितता पो रहेछ ।
साँझको ८ः ३६ भएको छ । १३ माघ २०७७ ।
‘‘हेलो’, कार्तोकलाई मेसेज गरेँ, ‘आज लाङटाङमा एभलान्च (हिमपहिरो) आएको हो ?’
‘हो नि सर !’, कार्ताकले ८ः ३७ मा मेसेज फर्काइन्, ‘तर, मान्छेलाई केही भएको छैन ।’
‘के के भयो ? कति बजे ? कति लामो ? कहाँनिर ?’, मैले भनेँ, ‘सबै भन्दै जानु ।’
‘बिहान ८ बजे आ’को हो । आएको देखेर सबै घरतिर भाग्यो । माथिबाट तल आउँदा ३ मिनेट लाग्यो । यसमा हिउँ र हावामात्र आ’को हो । पहिलेको जस्तो आइस, रक र मड थिएन । घर र मान्छेलाई केही भा’को छैन । पहिलेको घरभन्दा अहिले पक्की घर भएकोले केही गर्न सकेन । हिउँपहिरो आएको पहिलेकै पहिरोेमा हो’, उनले भनिन् ।
यता काठमाडौंमा हो कि यता लाङटाङमा एक छिन वाइफाई ह्याङ भयो ।
९ः३० भएको छ ।
‘मान्छेहरुको प्रतिकृया के थियो ?’
‘बाहिर नजानु, केही हुँदैन’, मान्छेहरुले भने, ‘अहिले मात्र होइन, पहिलेदेखि आइरहेको हो ।’
‘आजको हिउँपहिरो आउनुभन्दा पहिले पनि सानुसानु एभलान्च ३ पटक आ’को । यो गरेर ४ पटक हुन्छ’, उनले थपिन्, ‘डरायो तर धेरै डराएन सर’, उनले थपिन् ।
‘पहिले पनि सानु सानु एभलान्च ३ पटक आ’को । यो गरेर ४ पटक हुन्छ रे । कहिले ?’
‘मिति याद भएन ।’
‘अस्ति ०७२ पछि कि पहिले ?’
‘पछि ।’
‘०७२ पछि ४ पटक ?’
‘होइन, २०७७ भित्र ४ पटक आ’को हो ।’
‘यही बर्ष ४ पटक आएको ! ओहो !’
‘हो नि ।’
‘अनि आजको सबभन्दा ठुलो हो रु’
‘१५ दिनअघि त रातीको २ बजे आको नि सर ।’
‘ओहो !’
‘किन यस्तो भयो भन्छन् गाउँले ?’
‘खोइ ?’
‘केही पनि क्षति भएन नि ? चौंरी, भेंडा । आदि ।’
‘छैन ।’
‘के तिमी अहिले पनि त्यहाँ सामाजिक परिचालककै रुपमा कार्यरत छौ ?’
‘यस् सर ।’
‘हिमपहिरो आउँदा तिमी कहाँ थियौ ?’
‘मुन्डुमा थिएँ ।’
‘कत्रो आवाज आएको थियो ?’
‘ठूलै आयो नि सर ।’
‘मुन्डुसम्म आइपुगेको थियो ?’
‘मुन्डुमा हिउँ अलिअलि आयो र आवाज पनि अलिकति आयो ।’
‘हिउँ पनि आयो ? हावाले उडाएर ल्याएको होला ।’
‘यस् । हावाले उडाएर ल्याएको हो ।’
‘तिमीलाई कस्तो लाग्यो, आज ? ०७२ सालको सम्झना भो ?’
‘मलाई धेरै रमाइलो लाग्यो ।’
‘रमाइलो पो ! रमाइलो किन ?’
‘होइन, रमाइलो लागेन । डर पनि लाग्यो । दाइदिदीहरु याद आयो ।’
‘दाइदिदीहरु बित्नु भएको हो ०७२ मा ?’
‘हो नि । हजुरआमा, फुपु पनि । काका । मेरा आफन्तमात्र २६ परे ।’
‘ओहो ! अनि आज बाबाआमाले के भन्नुभयो ?’
‘बुवा र आमा त फेरि आउँछ कि भनेर डराउनु भयो ।’
‘अनि उहाँहरुले मन्त्र, जप, पूजा पनि गर्नुभयो ?’
‘बुवा र आमाले पूजा र मानी गर्नु भयो । बुवाले ५ बजेबाट ८ बजेसम्म । आमाले ६ बजेबाट ८ बजेसम्म ।’
च्याट चलिरहेकै छ । ९: ५० भएको छ ।
थाहा नपाई म यहाँ मिनेट मिनेट किन उल्लेख गरिरहेको छु ? आफैलाई प्रश्न गरेँ । सोचेँ, ०७२ सालको त्यही एउटा मिनेटमै त सखाप भएको थियो, लाङटाङ । र, फेरि पनि बेलाबेला जिस्काउन किन आइरहन्छ हिमपहिरो ? तर, गाउँ सम्भावित सुरक्षित ठाउँमा सरेको छ । र, सुरक्षित छ सरेको गाउँ । यही छ, सुखद समाचार, ‘लाङटाङमा हिमपहिरो तर क्षति शून्य ।’
(लेखक लाङटाङ सद्भावना दूत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलम्पिक कमिटी विवादमा खेलकुदमन्त्रीले भने, ‘विदेश भ्रमणमा रोक लगाउने निर्णय कायम रहन्छ’
-
राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)
-
८ दलीय मधेसी मोर्चाले तयार गर्यो साझा एजेन्डा
-
ऊर्जामन्त्रीले टीओडी जाँच गर्न बनाएको समितिले काम गर्न नपाउने गरी अन्तरिम आदेश
-
ओलम्पिक कमिटीको कार्यालयमा सरकारले लगायो ताला
-
‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’