बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगको निर्णय : प्रचण्ड–माधव हारेको ईश्वर पोखरेलको निष्कर्ष

मङ्गलबार, १३ माघ २०७७, २२ : १९
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय र पार्टीको भविष्यबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । मंगलबार फेसबुकमा लामो टिप्पणी लेख्दै उनले माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम अराजक, चरम गुटबन्दी र हावी हुन पुगेको फुटवादी गतिविधिका कारण सिर्जना हुन पुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगले आफ्नो फैसलामार्फत तत्कालीन नेकपा (एमाले) र माओवादीबीच एकता गर्दाका समयमा गरिएको निर्णयका आधारमा मात्र अघि बढ्न सकिन्छ र त्यस विपरित गरिएका वा गरिने कुनै पनि निर्णय वा कामलाई चिनिँदैन भन्ने निष्कर्ष दिएको उनले प्रस्ट पारेका छन् । नेकपा (ओली पक्ष)का सचिवालय सदस्यसमेत रहेको पोखरेलले सहमतिको प्रस्थान बिन्दू दुई अध्यक्षका बीचको सहमति नै भएको पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘त्यही जग र त्यहीँबाट अघि बढ्ने प्रकृयाबाट एकता महाधिवेशनसम्म पुग्ने संकल्प पनि हो । तर आफू अनुकूल वातावरण बनाउने वा वातावरण अनुकूल बनेको ठानेर पूर्व समूहहरूमा लामै समयदेखि रहँदैआएको गुटबन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ समीकरण बनाउने, सन्दर्भ समूह बनाउने र त्यसकै बलमा ढाडमा टेकेर टाउकोमा हान्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमति अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन ।’

निर्वाचन आयोगले त्यही ‘ऐतिहासिक प्रारम्भिक’ बिन्दूमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई औंल्याइदिएको भन्दै उनले आयोगलाई धन्यवाद दिएका छन् । नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई आयोगले स्वीकार नगरेको र पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई अस्वीकार गर्न नचाहेको भन्दै उनले लेखेका छन्, ‘यही पृष्ठभूमिको आधिकारिकता समेतलाई स्वीकार ग¥यो निर्वाचन आयोगले । पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको वैधानिक र औपचारिक मञ्चबाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दै मिल्दैन भन्यो निर्वाचन आयोगले ।’

जंगली महत्वाकांक्षा बोकेर यसबीचमा आम जनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर जे जस्ता कूकर्महरू गरिए, जे जस्ता आत्मघाती कामहरू गरिए, तिनलाई लिएर सम्बन्धितहरुबाट पश्चाताप गर्ने र क्षमा माग्ने काम गरिनुपर्नेमा पनि उनले जोड दिएका छन् । ‘त्यस्ता काम गर्नेहरूले जुन उचाइबाट यो काम गर्नेछन्, त्यही उचाइबाट पार्टीको नवर्निर्माण प्रारम्भ हुनेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘अहिले, यतिबेला नेकपाको जीवनसित गाँसिएर देशव्यापी रूपमा देखिदै गएको सामाजिक जागरणलाई एउटा सार्थक अभियानका रूपमा अघि बढाउनु आवश्यक छ ।’

नेकपाभित्र ‘आउट डेटेडहरू’ बाहिरिने र ‘अपडेटेड’ भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेको पनि उनले जिकिर गरेका छन् । उनले लेखेका छन्, ‘नेकपा त अघि बढ्छ–बढ्छ साथै, नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका अभियन्ताहरू सबैका लागि एउटा महत्वपूर्ण शिक्षा बन्न सक्छ नेकपाको जीवनसित गाँसिएर प्रकट भएको अहिलेको घटना !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप