शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव हुनेमा कुनै आशंका छैन : अर्थमन्त्री पौडेल

मङ्गलबार, १३ माघ २०७७, २१ : ००
मङ्गलबार, १३ माघ २०७७

बुटवल । अर्थमन्त्री तथा नेकपा ओली पक्षधरका महासचिव विष्णुप्रसाद पौडेलले तोकिएकै मितिमा निर्वाचन हुने र निर्वाचनबाट आफ्नो दल नै जनताबाट अनुमोदित हुने नेता पौडेलले विश्वास व्यक्त गरेका छन् ।

प्रेस संगठन नेपाल रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले ताजा जनादेश नै अबको एक मात्र निकास रहेको बताए ।

उनले भने, ‘वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ, यसका लागि कसैले भ्रम पाल्नु जरुरी छैन ।’  कतिपयलाई अझै पनि संसद पुनस्र्थापना हुन्छ कि भन्ने भ्रम रहेको भन्दै अर्थमन्त्री पौडेलले संविधान बमोजिम नै संसद विघटन भएकाले पुनस्र्थापना नहुने दाबी गरे ।

‘मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेको छ, राष्ट्रिय मान्यताप्राप्त सबै दलहरु अब कुनै भ्रममा नपरी निर्वाचनमा जुट्नुपर्ने छ र यसको अरु कुनै विकल्प छैन,’ उनको भनाइ थियो

उनले विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना नरहेको बताएका छन् । मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधिसभा पुनस्र्थापनाको संभावना नरहेको उनको भनाइ छ ।

जनताका पक्षमा कामै नगर्ने र गर्न खोज्नेलाई पनि नदिने गलत प्रवृत्तिका कारणले प्रतिनिधिसभा बन्धक जस्तै बनाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यहीँ प्रवृत्ति चिर्न ताजा जनादेशमा जाने निर्णय गरिएको स्पष्ट पारे । 

उनले  यद्यपि संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसलालाई भने सम्मान गर्ने बताए । अर्थमन्त्री पौडेलले निर्वाचनको तयारी गर्न अदालतको फैसला कुर्न नपर्ने उल्लेख गर्दै लोकतन्त्रका विश्वास गर्नेले निर्वाचनको विरोध नगर्ने बताए ।

उनले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लिएर चुनावमा जाने भन्दै जनताले सरकारले गरेका कामको सही मूल्यांकन गर्ने बताए ।  महासचिव पौडेलले नेकपाबारे निर्वाचन आयोगले गरेको निर्णयको स्वागत गरे । 

सडकबाट टिका लगाएर अध्यक्ष हुन नसकिने कुरालाई निर्वाचन आयोगले स्पष्ट पारिदिएको उनको भनाइ छ । उनले निर्वाचन आयोगले चुनावको तयारी अगाडि बढाएको र सुरक्षा निकायले पनि तयारी थालेको भन्दै अब निर्वाचन रोक्ने तागत कसैसँग नरहेको बताए । 

रुपन्देहीबाट निर्वाचित पौड्यलले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध विमानस्थलको आइसिप–१ को काम अव सम्पन्न हुने चरणमा पुगिसकेको र सम्पन्न भइसकेपछि आइसिपी–२ को काम सुरु हुने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप