शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी पथमा प्रधानमन्त्री ओली

मङ्गलबार, १३ माघ २०७७, १९ : ०८
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । ईश्वरका नाममा सपथ लिन नमान्ने तर पशुपति मन्दिरमा गएर पूजा गर्ने उनको परस्पर विरोधाभासपूर्ण दुई चरित्रका बारे अहिले राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

प्रधानमन्त्री ओली त्यसो त धर्मकर्ममा त्यति विश्वास गर्दैनन् । यसअघि पनि प्रधानमन्त्री भइसकेका उनी यसरी पशुपति मन्दिरमा गएर कहिल्यै पूजापाठ गरेका थिएनन् । उनीमात्र होइन, कम्युनिस्ट पार्टीका कुनै पनि प्रधानमन्त्रीले पशुपतिमा गएर पूजापाठ गरेका थिएनन् । तर ओलीले सोमबार त्यो परम्परालाई क्रमभङ्ग गरे ।

ओलीले पशुपति मन्दिरमा जानका लागि अहिलेकै समयलाई किन रोजे ? यो प्रश्न धेरैको मनमा उब्जिएको छ । प्रतिनिधिसभा भङ्ग गरेर चुनावको घोषणा भइसकेको अवस्था एकातिर छ भने अर्कोतिर ओलीकै विरुद्धमा आन्दोलन भइरहेको छ । चारैतिरबाट घेराबन्दीमा परेपछि अरु कुनै उपाय नलागेर ओलीले ‘हिन्दुवादी’ छवि बनाउन खोजेको विश्लेषणसमेत भइरहेको छ । 

प्रधानमन्त्री ओलीले भारतका प्रधामन्त्री नरेन्द्र मोदीकै शैलीमा ‘हिन्दु कार्ड’ खेल्न थालेको जानकारहरु बताउँछन् । मोदीले हिन्दुको मत तान्नका लागि चुनावको समयमा विभिन्न मन्दिर धाउने गरेको, हिमाल पर्वतमा गएर ध्यान गरेर बसेको र त्यसले राजनीतिक रुपमा फाइदा पनि गराएको महसुस गरेरै ओलीले पनि त्यस्ता गतिविधितर्फ आफूलाई केन्द्रित गर्न थालेको जानकारहरु बताउँछन् ।

त्यसो त, मोदी प्रखर हिन्दुवादी नेता हुन् । उनको शिक्षादीक्षा, विचार, सिद्धान्त तथा स्कूलिङ हिन्दुवादी नै हो । उनी मन्दिर–मन्दिरमा गएर पूजापाठ गर्न सक्छन् । उनले राममन्दिरलाई चुनावी एजेण्डा बनाउनु अनौठो हुँदैन । तर प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट नेता भएकाले उनी मठ–मन्दिरमा गएको विषय आफैमा अनौठो भएको हो । 

कम्युनिस्टहरु धर्म अर्थात् पूजापाठ, मठ–मन्दिर धाउनेजस्ता कुरालाई मान्दैनन् । कम्युनिस्टको विचार द्वन्द्वात्मक भौतिकवाद रहेको छ । यसरी मन्दिर गएर पूजापाठ गर्न प्रधानमन्त्री ओलीलाई नसुहाए पनि राजनीतिक लाभका लागि उनी मन्दिर जानसमेत हिचकिचाउन छाडेको विश्लेषकहरुको भनाइ छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘उहाँ (ओली) सँग अहिले आफ्नो सैद्धान्तिक र वैचारिक कुनै एजेण्डा नभएको कारण हिन्दुवादी बन्न खोज्नु भएको हो । म हिन्दुवादी हुँ भनि देखाउनका लागि उहाँ पशुपति मन्दिर जानु भएको हो ।’ 

हिन्दुको मत तान्नका लागि प्रधानमन्त्री ओलीले पशुपतिमात्र होइन, अन्य मन्दिरहरु पनि जान सक्ने बताउँदै उनले उनीसँग अब एकमात्र उपाय यही रहेको प्रस्ट पारे । हिन्दु धर्मका माध्यमबाट हिन्दुवादीलाई आफूतिर आकर्षण गर्नका लागि उनले यस्तो गरेको श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री ओली संघीयता र गणतन्त्रको विरोधी त छदैँ थिए, अब धर्मनिरेपक्षको पनि विरोधी रहेकोसमेत स्पष्ट भएको विश्लेषक श्रेष्ठले बताए । कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीले यसरी मन्दिरमै गएर पूजा गर्न नसुहाउने जिकिर गर्दै उनले भने, ‘विचार र सिद्धान्तले पनि त्यो दिँदैन तर चुनावी फण्डाका लागि प्रधानमन्त्री ओलीले हिन्दुलाइन समातेको देखिन्छ ।’

यसअघिको चुनावमा उनले भारतविरोधी नारा लगाएर राष्ट्रवादको जामा परिरिएको भए पनि यसपटक त्यो अवस्था नरहेको विश्लेषकहरुको भनाइ छ । उनले अब सीमा विवाद चर्काउन पनि नसक्ने र ठोरीमा राम जन्मिएको भनेर चर्चा बटुल्ने काम गर्न पनि नमिल्ने परिस्थिति निर्माण भइसकेको छ । 

पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत गएर सीमा विवाद लगायत अन्य सबै कुरालाई ‘सटडाउन’ गरेर आएका कारण प्रधानमन्त्री ओलीले अब चाहेर पनि भारतको विरोधमा जनतालाई उचाल्न नसक्ने भएपछि ‘हिन्दुवादी’ बाटो रोजेको उनीहरुको तर्क छ ।

प्रधानमन्त्री ओलीमा भारतीय राजनीतिको प्रभाव परेको राजनीतिक विश्लेषक श्रीमननारायण मिश्रले पनि बताए । जसरी भारतमा हिन्दुवादीको नारा दिएर भारतीय जनता पार्टी हालसम्म टिकेको छ, प्रधानमन्त्री ओलीले त्यसैको नक्कल गर्न खोजेको उनको विश्लेषण छ । 

देशमा पछिल्लो समय राजतन्त्र र हिन्दु राष्ट्रको नारा जोडतोडले उठेको थियो । त्यसप्रति कतै न कतै जनताको आकर्षण पनि बढेको छ । देशलाई हिन्दुराष्ट्र बनाउने चर्चा पनि चलिरहेको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हिन्दुवादी अवतारमा देखाएको मिश्रको भनाइ छ । उनी भन्छन्, ‘प्रधानमन्त्री ओलीसँग अब कुनै मुद्दा बाँकी छैन, हिन्दुको आडमा जनताको बीचमा उहाँ जान चाहनु भएको छ ।’

धर्म नै यस्तो चिज हो जसका माध्यमबाट जनताको मनभित्र सजिलै पस्न सकिन्छ । धर्मका आडमा जनताको भावनासँग जोडिन सकिन्छ र त्यसैको प्रयासमा प्रधानमन्त्री ओली रहेको उनको बुझाइ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप