मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागरिक अगुवाहरुको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको प्रचण्ड-माधव पक्षद्वारा भर्त्सना

मङ्गलबार, १३ माघ २०७७, १८ : ४९
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधवपक्षले सोमबार नागरिक अगुवाहरुको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति खेद प्रकट गरेको छ । मंगलबार प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विज्ञप्ति जारी गर्र्दै प्रदर्शनमाथि प्रहरीद्वारा क्रुरतापूर्वक हमला गरिनु निन्दनीय र खेदजनक रहेको बताएका हुन् ।

विज्ञप्तिमा प्रहरीले अमानवीय ढंगले बल प्रयोग गरेर कैयौं नागरिक आन्दोलनकारीलाई घाइते बनाएको समाचारले दुःखी बनाएको जनाउँदै घाइते आन्दोलनकारीहरुको शिघ्र स्वास्य लाभको कामना गरिएको छ । सरकारलाई शान्तिपूर्ण रुपले विरोध प्रदर्शन गर्ने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा  त्यस्ता कार्यक्रमहरुमा दमन र हस्तक्षेप नगर्न समेत विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘शान्तिपूर्ण रुपले विरोध प्रदर्शन गर्ने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा  त्यस्ता कार्यक्रमहरुमा दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिन्छौ । उक्त शान्तिपूर्ण नागरिक प्रदर्शनमा गरिएको हस्तक्षेप र दमनको घोर भर्त्सना गर्दै पुन नागरिक समाजको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्छौं ।’ 

विज्ञप्तिमा नागरिक अगुवाहरुको कार्यक्रम असंवैधानिक रुपले गरिएको प्रतिनिधिसभा विघटनको विरुद्धमा भएको दाबी गर्दैै जनता, लोकतन्त्र तथा संविधानको पक्षमा रहेको बताइएको छ । आन्दोलनको स्वागत गर्दै विज्ञप्तिमा भनिएको छः ‘संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाको  लागि नागरिक समाजले देखाएको अग्रसरता र संघर्षशीलताको हामी स्वागत गर्छौं र उहाँहरुको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्छौं ।’

सोमवार प्रतिनिधिसभा विघटनको विरुद्धमा आयोजित नागरिक अगुवाहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको थियो । प्रहरी हस्तक्षेपका क्रममा केही प्रदर्शनकारी घाइते भएका थिए भने केहीलाई गिरफ्तार गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप