बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा १२ वटा केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइने

मङ्गलबार, १३ माघ २०७७, १७ : ५०
मङ्गलबार, १३ माघ २०७७

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा खोप पु¥याईसकिएको छ । खोप हवाई तथा स्थल मार्गबाट पु¥याईएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेशले जनाएको छ । हिमाली जिल्ला डोल्पा र हुम्लामा भने बुधबार बिहान सम्ममा मात्र खोप पुग्ने निर्देशनालयले जनाएको छ । 

कर्णालीका लागि काठमाडौंबाट सोमबार नै सुर्खेतमा खोप आइसकेको छ । मेडिकल स्टोर नेपालगञ्जमा राखिएको खोप जुम्ला र मुगुमा विमानमार्फत र कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा स्थलमार्गबाट पठाइसकिएको निर्देशनालयका निर्देशक डा.रविन खड्काले जानकारी दिए  । 

१२ वटा खोप केन्द्र 

कोरोना खोपका लागि कर्णालीमा १२ वटा खोप केन्द्र तोकिएको छ ।  प्रदेशभरका १२ वटा अस्पतालबाट बुधबार बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिने छ । डा.खड्काका अनुसार ८ जिल्लाका लागि १२ वटा कोरोना खोप केन्द्र तोकिएको हो । ८ वटा जिल्ला अस्पताल, दुईवटा सामुदायिक अस्पताल, एउटा शिक्षण अस्पताल र एउटा प्रदेश अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको  छ ।

जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला, प्रदेश अस्पताल सुर्खेत, मेहलकुना सामुदायिक अस्पताल सुर्खेत र चौरजहारी सामूदायिक अस्पताल रुकुम पश्चिमबाट कोरोनाविरुद्धको खोप लगाइने छ । त्यस्तै मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सल्यान र दैलेख जिल्ला अस्पतालहरुबाट कोरोनाविरुद्धको खोप लगाइने छ । 

‘पहिलो चरणको खोप करिब १० दिनभित्र लगाइसक्ने गरी हामीले तयारी थालेका छौँ,’ डा.खड्काले रातोपाटीलाई भने ।  पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएर काम गर्नेेहरुलाई खोप लगाइने जनाइएको छ । 

कति डोज ? 
सुरुमा पहिलो चरणका लागि साढे ११ हजार खोप भनिए पनि ११ हजार ७ सय ८० डोज खोप दिने बताइएको छ । जसमध्ये सुर्खेतमा सबभन्दा बढी २ हजार ७८१, दैलेखमा २ हजार, जुम्लामा १ हजार ७०२, कालीकोटमा १ हजार २१, जाजरकोटमा १ हजार १०५, सल्यानमा १ हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँट गरिएको निर्देशनालय बताएको छ । दोस्रो चरणका लागि २४ हजार डोज खोप माग गरिएको निर्देशनालयको भनाइ छ ।


    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप