शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भन्सार सुधारको उद्घोष : व्यापार सहजीकरणदेखि डिजिटल भुक्तानी प्रणालीको विकाससम्म

मङ्गलबार, १३ माघ २०७७, १५ : ४२
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । ६९ औं विश्व भन्सार दिवस भव्यतका साथ मनाइएको छ । भन्सार विभाग, निजी क्षेत्र र व्यवसायीहरुको सक्रियतामा मंगलबार राजधानीका विभन्न स्थानहरुमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो । भन्सार विभागले मंगलबार ललितपुरको कुपन्डोलस्थिल होटल हिमालयमा आयोजना गरेको कार्यक्रममा हालसम्म भन्सार सुधार एवंम् व्यवस्थापनमा भए गरेका उपलब्धी प्रस्तुत गर्दै आगामी दिनका लागि सुधारात्मक रणनीतिहरु समेत सार्वजनिक गरेको छ । 

यहाँसम्म आइपुग्दा भन्सार सुधार तथा आधुनिकीकरण योजनाको ५ औं रणनीति पुरा गरिसकेको विभागले आर्थिक वर्ष (२०७८–२०८३) का लागि छैटौं रणनीतिक योजना तर्जुमा समेत गरेको छ । आर्थिक वर्ष २०७८÷७९ बाट शुरु ५ वर्षे योजनाका लागि विभागले आफ्नो १५ रणनीति सार्वजनिक गरेको छ । 

यस्तो रणनीतिक योजनाहरु :
हालसम्म जति भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणमा सफलता मिलेको छ त्यसलाई अझ थप परिस्कृत, व्यवस्थित र मर्यादित बनाउन वैध व्यापारलाई सहजीकरण गर्नेदेखि भन्सार सेवामा डिजिटल सेवाको विस्तार गर्ने सम्मका रणनीति विभागले सार्वजनिक गरेको छ । 

छैटौं रणनीतिक योजनाले भन्सारमा वैध व्यापारलाई सहजीकरण गर्ने, भन्सार र सरोकारवालाहरुबीच समन्वय, सञ्चार र सयोग प्रवर्द्धन गर्ने, समन्वयात्मक सीमा व्यवस्थापन (सीबीएम)को अवधारणा अबलम्बन गर्ने, भन्सार जोखिम व्यवस्थापन सुदृढ गर्ने, अनुपालनको व्यवस्थापन एवं स्वेच्छिक अनुपालन प्रवर्द्धन गर्ने, न्यायोचित र यथार्थपरक राजस्व सङ्कलन गर्ने, जाँचपासपछिको परीक्षणलाई प्रभावकारी बनाउने, भन्सार प्रक्रियाहरुमा स्वचालन प्रणालीको विस्तार गरिने, नेपाल राष्ट्रिय एकद्वार प्रणालीको विकास र विस्तार गरिने योजना रहेको छ । जुन राष्ट्रिय एकद्वार प्रणाली भन्सार सुधार तथा आधुनिकीकरण योजना ५औं रणनीतिक योजनामा नै विभागले कार्यान्वयनमा ल्याइसकेको छ । 

शुरुवाती चरणमा केही मन्त्रालयहरुबाट शुरु गरिएको यो सेवा विस्तारै सरकारी तथा निजी सबै क्षेत्रमा विस्तार एवं विकास गरिने विभागले जनाएको छ । 
त्यस्तै, स्वचालित रुपमा भन्सारको वैदेशीक व्यापार तथ्याङ्कको व्यवस्थापन गर्ने, भन्सारका पूर्वाधार एवम् भौतिक सुविधाहरुको विकास गर्ने, सदाचार र भन्सार सुशासन प्रवर्द्धन गर्ने, भन्सारको नतिजामूलक योजनासहित व्यवस्थापकीय क्षमता सुदृढ गर्ने, समाजको सुरक्षा र संरक्षणलाई टेवा पु¥याउन भन्सारका नीति तथा प्रक्रियाहरुको एकीकृत एवम समन्वयात्मक ढंगले कार्यान्वयन गर्ने र सामग्र राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य, अर्थतन्त्र, बौद्धिक सम्पतीको संरक्षण पर्यावरण र समाजको संरक्षणका क्षेत्रमा भन्सारले सहकार्य तथा सहजीकरण गर्ने योजनासमेत छैटौं भन्सार सुधार तथा आधुनिकीकरण योजनाले बनाएको छ । 

यस रणनीतिक योजनाको कार्यान्वयनपछि भन्सार महसुलको विद्युतीय भुक्तानी, कागजातरहित भन्सारको सुरुवात सहित भन्सार जाँचपासमा लाग्ने समय कम हुने, भन्सारमा पेश गर्नुपर्ने कागजातको संख्या कम हुने र सम्पूर्ण कागजात विद्युतीय स्वरुपमा पेश गर्न सक्ने सुविधा प्राप्त हुने भई सेवाग्राहीहरु भन्सार प्रशासनको सेवा प्रवाहबाट सन्तुष्ट हुने विभागले विश्वास लिएको छ । सोबाट लक्ष्य अनुरुप राजस्वमा संकलनमा समेत सहयोग मिल्ने विभागको भनाइ छ । 

‘भन्सार क्षेत्रको सुधार एवंम् व्यवस्थापनका लागि हामीले भर्खर मात्र राष्ट्रिय एकद्वार प्रणालीको शुवात गरेका छौं । भन्सारमा प्रविधिमा आधारित मूल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको छ । हाम्रा भन्सार कार्यालहरुमा एकीकृत जाँचपास चौकीहरु क्रमशः निर्माण गरिँदैछ । यसले हाम्रो सेवा चुस्त दुरुष्त र अझ थप प्रभावकारी हुनेमा हामी विश्वस्त छौं’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘अब हामी छिट्टै डिजिटल भुक्तानीमा समेत जाने छौं । यसले सेवाग्राही व्यवसायीहरुलाई समेत निकै सहज हुनेमा हामी विश्वस्त छौं । 

महानिर्देशक दाहालका अनुसार अहिले सो प्रक्रिया विभागमार्फत अघि बढाइएको छ । यसले छिट्टै पूर्णता पाउने र राजस्व संकलनमा समेत यसले ठूलो अर्थ राक्ने उनको भनाइ छ । 
महालेखा नियन्त्रणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ का लागि कुल १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको सरकारले आर्थिक वर्षको मध्यसम्ममा करिब ४३ प्रतिशत अर्थात् ४ खर्ब ३८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप