मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसका चुनौतीको बेला पाएको अवसर र त्यसबाट चुकेका हामी

कोरोना भाइरससँगको यात्रा–२
मङ्गलबार, १३ माघ २०७७, १४ : ०५
मङ्गलबार, १३ माघ २०७७

दस महिने नेपाल बसाइपछिको कर्मभूमिको यात्रा अहिलेसम्मको पृथक् यात्रा थियो । पृथक् यस मानेमा कि कोरोनाको अन्त्य भइनसकेको अवस्थामा कतार प्रवेशका निम्ति त्यहाँको सरकारले विशेष नियम लागू गरेको थियो । जसमा पीसीआर परीक्षण, होटेल क्वारेन्टाइन पुनः पीसीआर परीक्षण लगायत अन्य प्रक्रिया थिए । सबै प्रक्रिया मेरो निम्ति पहिलो अनुभव थियो  । यो अनुभवको निम्ति उत्सहित थिएन । पीसीआर परीक्षण, होटेल क्वारेन्टाइन पक्कै पनि सहज होइन ।    

कतार एअरवेजले पीसीआर टेस्टका निम्ति तोकेको आधिकारिक हस्पिटलमध्येको सानेपामा रहेको स्टार हस्पिटल पनि एक थियो । मेरो सहजताको हिसाबले मैले स्टार हस्पिटलमा पीसीआर टेस्ट गर्ने निधो गरेँ । पीसीआरका सम्बन्धमा फोनबाट सबै कुराको जानकारी लिएँ । पीसीआर टेस्टका निम्ति छुट्टै भवनमा सेवाग्राहीको स्वास्थ सुरक्षाको सम्बन्धमा उच्च सतर्कता अपनाएर सेवा दिइने जानकारी प्राप्त भयो । त्यसो त हस्पिटलको बारेमा साथीभाइसँग पनि सल्लाह सुझाव लिएको थिए । 

भोलिपल्ट सेनिटाइजर, मास्क, फेससिल्ड तथा ग्लब्ससहित आफू सुरक्षित भई हस्पिटल छिरेँ । त्यहाँका कर्मचारीबाहेक अन्यसँग म भिन्न देखिएको थिएँ । जुन कुराले थप डर पैदा भयो । हस्पिटलभित्र सेवाग्राहीको निकै भीड थियो ।  जसको व्यवस्थापना गर्न हस्पिटल असमर्र्थ देखिन्थ्यो । सेवाग्राहीहरु हस्पिटलको प्यासेज भरी कोचिएर बसेका थिए । भित्र पीसीआर परीक्षण गर्ने कर्मचारी एकपछि अर्को मनिसको मुख तथा नाकबाट स्वाब त लिइरहेका थिए । तर एकजनाको स्वाब लिइसकेपछि कुनै किसिमको सुरक्षा विधि प्रयोग नगरी अर्को परीक्षण गर्दै थिए । आँखा अगाडिको यो दृश्य विझाउने किसिमको थियो ।

पीपीई अनि भेन्टिलेटरसहित आफ्नो कर्मचारीको सुरक्षाको निम्ति सम्पूर्ण विधि अपनाएको स्टार हस्पिटल आफू बाँच्न भरपुर कोसिस गरेको देखिन्थ्यो । तर सेवाग्राहीप्रति उत्तरदायी देखिएन । त्यसमा गल्ती हाम्रो पनि थियो । हामी आफूमा सामाजिक दूरी कायम गर्न चाहिरहेका थिएनौँ । सडक, गल्ली, रेस्टुरेन्ट तथा सपिङ मलहरुमा निस्फिक्री हिँडेका हामी यहाँ त्रसित नहुनु स्वाभाविक थियो । अर्थात हामीभित्र कोरोनाको भय समाप्त भएको थियो ।     

पीसीआरको रिपोर्ट राति मोबाइलमा आयो । रिपोर्ट नेगेटिभ थियो । जसले ठूलो राहत दियो । मैले परीक्षण गरेपश्चात हस्पिटलका बारेमा गलत हल्ला सुनेको थिएँ । हस्पिटलमा पीसीआर परीक्षण गर्नेहरुको पहिलो परीक्षण पोजेटिभ देखिएको र दोस्रो परीक्षण गर्नुपरेको दोस्रो परीक्षण नेगेटिभ देखिएको हल्ला थियो । हस्पिटलमा व्यापारीकरण हुनुले यो किसिमको हल्ला फैलिएको पनि हुन सक्छ । जे होस्, मेरो कतार जाने बाटो खुल्यो ।

भोलिपल्ट बुबा अनि काठमाडौँमा भएका परिवारसहित म एअरपोर्ट लागे । एअरपोर्ट लाग्नु अगावै डकुमेन्ट ठीक छ छैन भनी दोहोर्याएर ब्याग खोलिरहे । एअरपोर्ट पुगेको केही बेरमा सम्पूर्ण परिवारसँग म बिदा भए । एअरपोर्टका कर्मचारीले मेरो पासपोर्ट हेरेरभित्र जाने अनुमति दिए । त्यहाँ छिर्ने क्रममा तापक्रम नाप्ने काम भएन । मेरो पीसीआर रिपोर्ट पनि हेर्ने कष्ट भएन ।  पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट नआउँदासम्म कोही पनि होम क्वारेन्टाइन बसेको हुँदैन । होम क्वारेन्टाइनबाट सीधै एअरपोर्ट पनि कोही गएका हुँदैनन् । एअरपोर्टभित्रको यो लापरबाही गलत थियो । एअरपोर्टभित्र भीड उस्तै  थियो । सामाजिक दूरी कायम गर्न आग्रह गर्नेहरु हाँसोको पात्र हुँदै थिए । आफू स्वयं सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने चेत कसैमा थिएन । 

लगेज जाँच गर्ने क्रम्ममा भीड कम हुँदै गयो । म त्यसतर्फ लागे यहाँ मेरो सम्पूर्ण डकुमेन्ट दोहोर्याएर हेर्ने काम भयो । यो सब म फर्किने देशलाई जोगाउनको प्रयास हो भन्ने लाग्यो । अन्तिम सुरक्षा जाँचमा पनि पुन उता आवश्यक पर्ने डकुमेन्टको बारेमा सोधपुछ भयो । झुटा रिपोर्टको बिग्बिगीमा यति समान्य रुपमा एअरपोर्टलाई अस्तव्यस्त भिड गर्नु एअरपोर्ट प्रशासनको गैरजिम्मेवारी देखिन्थ्यो । एअरपोर्ट प्रशासन कमसेकम आफ्नो कर्मचारी बचाउने प्रयास सम्म गरेको पाईन । 

जहाज चड्ने समय भयो । हामी जहाजतर्फ लाग्दै थियौँ । यात्रुहरु हतारमा थिए  ।  पहिलेको पुग्ने अनि सिट ओगट्ने भन्ने सर्वजानिक बसको पारा यहाँ पनि थियो । म अन्तिममा जहाजभित्र छिरे । बीचको एउटा सिट खाली थियो । यात्रा केही सहज हुने महसुस भयो । कोरोनासँग अनि परिवारसँग विताएको १० महिना सम्झिँदै काठमाडौँ अनि नेपाललाई बिदाइ गरेँ । जहाजभित्रको अवस्था निकै समान्य थियो अर्थात यात्रा निकै सहज भयो । हाम्रो जहाज दोहा एअरपोर्ट ल्यान्ड हुने क्रममा थियो । झ्यालबाट झिलिमिली दोहा सहर देखिँदै थियो । कोभिडका कारण यी लाइटलाई कुनै असर नपरेको रहेछ भन्ने लाग्यो । कतारको सौन्दर्य अझ बढे जस्तो लाग्यो । हाम्रो जहाज ल्यान्ड भयो । यहाँको स्वास्थ सुरक्षा तथा सतर्कता लाजवाज थियो ।

कतार एअरपोर्टभित्र कर्मचारीहरु एह्तराज एप्स डाउनलोड भए नभएको जानकारी लिइरहेका थिए । अनि एप्स डाउनलोड गर्न सहयोग गर्दै थिए । एह्तराज एप्सले हाम्रो स्वास्थ अवस्थाको जानकारी दिने माध्यम रहेछ । एह्तराज एप डाउनलोड गरेसँगै मेरो अन्य सुरक्षा तथा डकुमेन्टहरुको जाँच भयो । अब म एअरपोर्टबाट बहिर्गमन हुन योग्य भएँ । सधैँ दाजुहरु एअरपोर्टमा आउनु हुन्थ्यो । जसको निकै उत्साह हुने गर्दथ्यो । यो पटक सीधै होटल जानुथियो । मलाई सेक्युरिटीले गेटमा रोकेर राखेको थियो ।  मेरो होटलको गाडी आउन केही ढिला भयो । गाडी आउना साथ मलाई बाहिर निस्कने अनुमती भयो । ड्राइभरले मलाई सीधै होटलतर्फ लाग्यो ।  

सराया कर्नेस होटल मेरो स्वागतको निम्ति तयार थियो । जसको बुकिङ गरेपछि मात्र मलाई कतार प्रवेशको अनुमति मिलेको थियो । यहाँ क्वारेन्टाइन बस्नेका निम्ति छुट्टै डेस्क थियो । जहाँँ मेरो सम्पूर्ण डकुमेन्ट जाँच भयो । प्राथमिकतामा मेरो पीसीआर रिपोर्ट थियो । त्यस पछि हेल्थ टिमसँग मेरो भेट भयो । जहाँँ मेरो प्रेसर तथा तापक्रम नाप्ने काम भयो । साथै मेरो सम्पूर्ण स्वास्थ अवस्थाको बारेमा सोधपुछ भयो । त्योसँगै रुम नम्बर ११०२ को साँचो मेरो हातमा थमाइयो । ११औँ तलामा रहेको मेरो रुम जहाँबाट देखिने दृश्य अनि रुमको बारेमा एकजना सहयोगीले जानकारी दिँदै मसँग बिदा भयो । अब यो रुमको ढोका केवल दिनको तीन पटक खुल्ने छ । ब्रेकफास्ट, लन्च अनि डिनरको निम्ति ।

चौबीस घण्टा स्वास्थ सेवा उपलब्ध हुने यस होटल क्वारेन्टाइन निकै सुविधा सम्पन्न युक्त थियो । मेरो निम्ति सातै दिनसम्म चाहिने सम्पूर्ण कुरा यहाँ उपलब्ध थियो । जीवनमा पहिलो पल्ट एक्लै हप्ता दिन बिताउने अवसर कोभिडले दियो । दिनरात आफ्नो हिसाबले चल्दै थियो । चौबीसै घण्टा रोडहरुमा त जाम थिए । पर अग्ला गगनचुम्बी भवनहरु चम्किरहेका थिए ।

सात दिने एकान्तवासको समय सामाजिक सञ्जाल अरू धेरै नजिक भयो । जहाँ केवल देशको पछिल्लो राजनीतिक घटनाको बहस, आन्दोलन तथा विभाजनले अस्तव्यस्त देखिन्थ्यो । पछिल्लो केही दशकको राजनीतिक घटनाको साक्षी हामी निकै परिवर्तनको ढोल पिटेको देख्यौँ । तर व्यवस्थाको फरक महसुस गर्न पाएनौँ । मेरो होटलको एघाराँै तल्लादेखि देखिने दोहा सहर जसको परिवर्तनको साक्षी म स्वयं पनि हो । व्यवस्था त केवल अवसर नपाउनेहरुले पिट्ने डङ्क मात्र हो । इच्छा शक्ति भए देश यसरी परिवर्तन हुन्छ भन्ने उदाहरण मेरो आँखा अगाडि थियो ।   

  पाँचौँ दिन रुममा स्वास्थकर्मी मेरो पीसीआर परीक्षाण गर्न आए । भोलि पल्ट फोनमार्फत मेरो रिपोर्ट नेगेटिभ भएको जानकारी भयो । योसँगै म घर फर्किन योग्य भए । एअरपोर्टमा जस्तै यो पटक दाजु होटलमा मलाई लिन आउनुभएको थियो । हामी घर फर्कियौं । एक दिन घरमा बसेपछि मेरो एह्तराज एप्समा  हरियो सङ्केत आयो । म अब पूर्ण रूपले यहाँ काम गर्न तथा हिँडडुल गर्न पाउने भएँ ।

यो सम्पूर्ण प्रक्रिया पूरा गरी सकेपछि यहाँको सरकारले आफ्नो देश तथा देशवासीको स्वास्थ सुरक्षाको निम्ति अपनाएको सतर्कता सह्रानीय लाग्यो । त्यस्तै लामो समयसम्म लकडाउनको समस्या खेपिरहेको यहाँको होटल व्यवसायको निम्ति यसले पक्कै पनि सहयोग पुग्यो ।   यसरी सम्पूर्ण प्रक्रिया पूरा गरी कामदार भित्र्याउन पाउदा देशभित्रका सबै किसिमका व्यवसाय धराशायी हुनबाट जोगिए  । साथै यहाँका बिकास निर्माणका काम सम्पन्न हुन सहज भयो ।

कतारले  आयोजना गर्न लागेको विश्वकप २०२२ को निम्ति चाहिने ८० हजार होटल रुम मध्य ६० हजार तयारी अवस्थामा छन् । बाँकी २० हजार ठूला क्रुजसिपमा हुनेछन् । यदि कोरोनाको कारण यी होटल बन्द भएमा कतार सरकारका निम्ति ठूलो चुनौती हुनेथियो । तथापि होटल क्वारेन्टाइनले होटल व्यवसायलाई थोरै भए पनि राहत मिलेको छ । होटल क्वारेन्टाइनको खर्च यहाँको श्रमिक, व्यापारी अथवा प्रत्यक्ष अप्रत्यक्ष यहाँको जनताको पैसा हो । तर यो एक किसिमको लगानी पनि हो । यहाँका श्रमिक, व्यापारी तथा जनताको सचेत छन् । विश्वकप २०२२ यस देशको गौरव तथा अवसर हो ।   

नेपाल सरकारले पनि लकडाउन खुलेको सुरुको दिनमा होटल क्वारेनटाइनको अवधारणा ल्याएको थियो । जुन सफल हुन सकेन । यसको चर्को विरोध भयो । होटल क्वारेनटाइनले आफू अनि आफ्नो परिवार समाजको स्वास्थ सुरक्षा हुनु मात्र नभई धराशायी हुन लागेका होटल व्यवसायलाई उकास्न मदत पुग्ने थियो । जसले गर्दा कोरोनाको अन्त्यसँगै पर्यटन व्यवसायको निम्ति सहयोग पुग्ने थियो । जसले हाम्रो अर्थतन्त्रलाई टेवा पुग्ने थियो । जसको प्रत्यक्ष अप्रतक्ष फाइदा हामी सबैले पाउने थियौ ।

पर्यटन व्यवसाय फस्टाउनु भनेको सम्पूर्ण वैदेशिक रोजगारीमा आउने हामीजस्ता युवाको निम्ति नेपालमा नै भविष्य सुनिश्चित हुने अवसर हो । त्यसका निम्ति हामीले पनि लगानी गर्ने अवसर थियो जुन हामीले गुमायौँ । केवल वैदेशिक रोजगारीमा जान बाध्य बनाउने सरकार यस्तो दुरगामी फाइदाको विषयमा कमजोर देखिन्छ । समान्य विरोध अवरोधको कारण सिङ्गो देशलाई फाइदा पुग्ने हरेक कार्यमा पछि हट्नु सरकारको निकम्मापन हो । चुनौतीको बेला पनि पाएको अवसर सरकारले अनि हामीले चुकायौँ । यसको मूल्य हामीले लामो समयसम्म तिर्नु पर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहम्मद वाहिद अलि
मोहम्मद वाहिद अलि
लेखकबाट थप