शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पद्वारा फ्लोरिडामा पूर्व राष्ट्रपतिको कार्यालय स्थापना

मङ्गलबार, १३ माघ २०७७, १३ : ०६
मङ्गलबार, १३ माघ २०७७

पाल्म बिच । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् ।  फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गर्नुभएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

“पूर्व राष्ट्रपतिको कार्यालयबाट उनले पूर्व राष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ,” उनका सहयोगीहरुले भनेका छन् ।  सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने पनि उनका सहयोगीहरुले जनाएका छन् ।

त्यसैगरी ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि यस कार्यालयबाट गतिविधिहरु हुने जनाइएको छ । नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति पनि यस कार्यालयले अपनाउने अनुमान गरिएको छ । 

“राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,” उनको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । उनको कार्यालयको नामलाई आधार मान्दा उनी सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्नु हुने छैन भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर उनी र उनका सल्लाहकार तथा सहयोगीहरुले भने यस बारेमा स्पष्ट पारेका छैनन् ।

यही जनवरी २० तारिखमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्व राष्ट्रपति ट्रम्प सोमबारसम्म मौन रहनु भएको थियो ।  सामाजिक सञ्जाल ट्वीटरले समेत उनको ट्वीटर खाता खारेज गरिदिएकाले पनि उनलाई सार्वजनिक रुपमा टिकाटिप्पणी गर्ने माध्यमको अभाव भएको थियो । 

अमेरिकी संसदमा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि ट्वीटरले उनको खाता खारेज गरिदिएको हो ।  अनेक विवादका बीच आफ्ना प्रतिस्पर्धी बाइडेनको जितलाई समेत अस्वीकार गर्दै उनलाई बधाइ नदिइ ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिएका थिए । ह्वाइट हाउस छोडेपनि उनले पूर्व राष्ट्रपतिको रुपमा सक्रिय र हस्तक्षेपकारी भूमिका भने खेलिरहने देखिएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप